• २३ असार २०८१, आइतबार

कटहरियाका नगरप्रमुख, उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, असार २० गते । रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजयप्रकाश, उपप्रमुख रिता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कटहरिया नगरपालिका वडा नं. २ स्थित जमुनिया बजारमा रहेको सामुदायिक भवन निर्माण योजनाअन्तर्गतको टायल्स फ्लोरिडाको कार्यमा आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सरकारबाट प्राप्त विशेष अनुदानबाट कार्य सञ्चालनका लागि मिति २०७९ जेठ २५ गते नगर प्रमुख अजय प्रकाशले आफ्नो अध्यक्षतामा बैठक बसाइ सरोज कुमार साहको अध्यक्ष रहने गरी बौद्धिमाइ उपभोक्ता समिति कटहरिया–२ गठन गर्ने निर्णय गरेको, सो उपभोक्ता समितिलाई भए गरेको कामभन्दा बढी भुक्तानी दिने बदनियतले नगर कार्यपालिकाको कार्यालय, कटहरिया रौतहटलाई १२ लाख ५२ हजार ९४१ रुपियाँ भुक्तानी दिइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह, इन्जिनियर राजेश कुमार साह, योजना शाखा प्रमुख राम नरेश प्रसाद यादव, कार्यपालिका सदस्य समिश विक्रम साह, कार्यपालिका सदस्य मनोज प्रसाद जैसवाल, इन्जिनियर मकसुद आलम, बौद्धिमाई उपभोक्ता समितिका अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध बिगो १२ लाख ५२ हजार ४१ रुपियाँ रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।