• २३ असार २०८१, आइतबार

चितवनका एक लाख २८ हजार जना विपद्को जोखिममा

blog

फाइल तस्बिर

चितवन, असार २० गते । जिल्लामा विपदबाट २५ हजार पाँच सय ८८ परिवार प्रभावित हुने अनुमान गरिएको छ । यस वर्ष मनसुनजन्य विपदबाट एक लाख २८ हजार पाँच सय ६५ जना प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समितिले अनुमान गरेको छ ।

समितिले तयार पारेको मनसुन पूर्वतयारी प्रतिकार्य योजना, २०८१ अनुसार जिल्लाका सात पालिकामा विभिन्न नदी र खोलाबाट हुने डुबान र कटानको अनुमानित विवरण लिइएको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिनुभयो । भुसालको संयोजकत्वमा गठित प्रतिकार्य योजना तयारी समितिले विपद् व्यवस्थापन समितिमा प्रस्तुत गरेको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी राप्ती नगरपालिकामा कटान तथा डुबानबाट नौ हजार आठ सय ६० परिवारका ५० हजार नौ सय ५० जना प्रभावित हुने देखिएको छ । 

भरतपुर महानगरपालिकामा छ हजार छ सय २५ परिवारका ३३ हजार एक सय ७५, माडी नगरपालिकाका चार हजार एक सय ६१ परिवारका १९ हजार सात सय ३०, रत्ननगर नगरपालिकाका दुई हजार तीन सय ८१ परिवारका ११ हजार नौ सय पाँच जना प्रभावित हुने अनुमान गरिएको सहायक प्रजिअ भुसालले बताउनुभयो । इच्छाकामना गाउँपालिकामा मनसुनका कारण एक हजार दुई सय ५६ परिवारका छ हजार दुई सय ८०, कालिका नगरपालिकामा एक हजार पाँच परिवारका पाँच हजार २५ र खैरहनी नगरपालिकाका तीन सय परिवारका एक हजार पाँच सयजना प्रभावित हुने योजनामा जनाइएको छ । 

बाढीका कारण सबैभन्दा बढी भरतपुर महानगरपालिका प्रभावित हुने भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीबाट भरतपुर-१६, १७, १८, २७, २८ र २९ तथा माडी-१, २, ३, ६ र ७ प्रभावित हुने देखिएको छ । पहिरोका कारण भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिका, डुबानबाट माडी र राप्ती नगरपालिका, खडेरीबाट भरतपुर महानगरपालिका, राप्ती र माडी नगरपालिका, महामारीबाट भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका एवम् सुकुम्वासी बस्ती रहेको क्षेत्र, सहरी क्षेत्र र पहाडी क्षेत्र अतिप्रभावित हुने कार्य योजनामा उल्लेख गरिएको छ ।

जिल्लामा रहेका ठुला नदी नारायणी, राप्ती, रिउसहितका अन्य खोलाबाट ती क्षेत्र प्रभावित हुने अनुमान गरिएको भुसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहको सहकार्यमा मनसुन पूर्वतयारी प्रतिकार्य योजना निर्माण गरिएको छ ।” बाढी, डुबान, नदी कटानलगायत अन्य विपदपश्चात उपलब्ध सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट गरिने प्रतिकार्य प्रभावकारी बनाउन, जोखिम कम गर्ने यो योजना निर्माण गरिएको उहाँले बताउनुभयो । 

मनसुनबाट हुने क्षति कम गर्न आवश्यक तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो । उहाँका अनुसार आवश्यक जनशक्ति नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयलाई तयारी अवस्थामा राखिएको छ । क्षति पुग्ने ठाउँको आङ्कलन गरी त्यसलाई सुरक्षित ठाउँको खोजी गरिएको, खाद्यान्नलगायत अत्यावश्यक वस्तु तयारी अवस्थामा राखिएको जनाउँदै सहायक प्रजिअ भुसालले स्थानीय तहमा रहेको विपद् कोषलाई सक्रिय बनाइ राख्न पनि आग्रह गरिएको बताउनुभयो । रासस