• २१ असार २०८१, शुक्रबार

सोह्र वडा प्रसूति सेवायुक्त घोषणा

blog

बुटवलका १६ वडालाई प्रसूति सेवायुक्त घोषणा गरिँदै ।

बुटवल समाचारदाता 

बुटवल, असार १९ गते । बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा भएका छन् । पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चिततासम्बन्धी मापदण्ड २०८० अनुसार बुटवलका १९ मध्ये १६ वडा पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा भएका हुन् । 

सोमबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडालाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा उहाँले आगामी वर्ष सबै वडालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त बनाउँदै नगरलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गर्ने बताउनुभयो । नगरप्रमुख पाण्डेयले वडामा रहेका सहरी स्वास्थ्य केन्द्रबाट प्रदान गर्ने सेवालाई स्तरीय बनाउँदै लगेको बताउँदै छिटै नै बुटवल १३ र १७ मा स्थापना भएका अस्पताल भवनबाट जनरल अस्पताल र फिजियोथेरापी सेवा सुरु गर्ने बताउनुभयो । 

स्वास्थ्य क्षेत्रमा बाल मृत्युदर र मातृ मृत्युदर रोक्दै पोषण कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको उहाँको भनाइ छ । कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई स्वास्थ्य क्षेत्रमा सबल बनाउनका लागि वडातहबाटै सेवा सुधार गरिरहेको बताउनुभयो । बुटवल नगरका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले यस वर्ष बुटवलका वडा नं ६, १२ र १७ लाई प्राविधिक कारणले पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गर्न नसकिए पनि आगामी आर्थिक वर्षमा नगरलाई नै घोषणा गर्ने तयारीका साथ कार्यक्रम अगाडि बढाउने बताउनुभयो । 

बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षभित्रमा वडा नम्बर १३ र १७ मा स्वास्थ्य केन्द्र भवन निर्माण भई अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी गरेको छ । यस्तै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधि उपचारका लागि बाआमासँग नगरप्रमुख कार्यक्रम अन्तर्गत दुई हजार ५८१ जनालाई विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरेको छ । 

नगरप्रमुख स्वस्थ शिशु कार्यक्रम अन्तर्गत ४०९ जना सुत्केरी महिलालाई जनही दुई हजार रुपियाँ पोषण भत्ताबापतको रकम वितरण गरेको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो । उहाँका अनुसार नगरवासीलाई सरकारी र निजी अस्पतालमा उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने कार्यक्रमबाट चार सय जनाले लाभ लिएका छन् ।