• २१ असार २०८१, शुक्रबार

तस्बिरमा गिरिजाप्रसाद

blog

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित फोटो प्रदर्शनी अवलोकन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

ललितपुर, असार १९ गते । सत्ता समीकरण परिवर्तनको राजनीतिक वातावरणको तापक्रम बढेको बेला मनसुने झरीले मङ्गलबार दिनभर नै राजधानीको चिसो बनायो । समीकरण परिवर्तनको मुख्य घटक नेपाली कांग्रेसले आयोजना गरेको अर्को कार्यक्रमले भने राजनीतिक मिलनको वातावरण बनायो । 

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको उपलक्ष्यमा नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा विद्यमान र नयाँ राजनीतिक समीकरण दुवैका नेता हार्दिकतासाथ सहभागी हुनुभयो । ‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकको ऐतिहसिक फोटो प्रदर्शनीमा प्रधानमन्त्रीसहित सत्ता पक्ष र प्रतिपक्षका नेताहरूलाई सहभागी हुनुभयो । 

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सोमबार मध्यरातमा सत्ता सहकार्य गर्ने सहमति भएपछि बदलिएको परिस्थितिमा शान्ति प्रक्रियाका महानायक, शिखरपुरुष कोइरालाको शताब्दी जन्मोत्सवमा आयोजित उहाँको योगदानमाथि भएको विमर्श र फोटो प्रदर्शनीमा नेताहरू सहभागी हुनुभएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहित विभिन्न दलका नेताले फोटो प्रदर्शनी अवलोकन गर्नुभयो । सानेपामा कांग्रेस सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्नुभयो । उहाँहरूबिच केहीबेर समसामयिक विषयमा छलफल पनि भयो । 

त्यसै गरी सभापति देउवासहित कांग्रेस पदाधिकारीसँग एमाले अध्यक्ष ओलीले पनि फोटो प्रदर्शनी अवलोकनपछि छलफल गर्नुभयो । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली केही समय अघि–पछि सानेपा पुग्नुभएको थियो । कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले भन्नुभयो, “प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष आउनुभयो तर राजनीतिक उतारचढावबिच सौहार्दपूर्ण छलफल भयो ।” कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा आयोजित फोटो प्रदर्शनीमा नेता कोइरालासँग सम्बन्धित १५१ वटा तस्बिर प्रदर्शनीमा राखिएको थियो ।  

कोइरालाकै कारण गणतन्त्र आयो : देउवा

पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यक्रम उद्घाटन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र  शान्ति प्रक्रियाका नायक गिरिजाप्रसाद कोइराला कारण देशमा गणतन्त्र आएको बताउनुभयो । 

उहाँले नेता कोइराला प्रजातान्त्रिक आन्दोलनमा सङ्घर्ष गर्दै जीवनको उत्तरार्धमा गणतन्त्र ल्याउन सफल हुनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “गिरिजाबाबु नभएको यो देशमा गणतन्त्र पनि आउने थिएन । त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा अत्यन्तै क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व हुनुहुन्थ्यो । त्यो कारणले नेपालमा प्रजातन्त्र मात्रै फर्किएन, गणतन्त्र आएको छ ।”

उहाँले विद्यार्थी हुँदै पूर्वप्रधानमन्त्री कोइरालासँग परिचय भएको र त्यतिबेला उहाँकै सहयोगमा विश्वविद्यालयको निर्वाचनमा प्रतिस्पर्धा गरे पनि आफ्नै साथीहरूको असहयोगले पराजित भएको बताउनुभयो ।

साथै उहाँले नेपाल विद्यार्थी सङ्घको सभापति हुँदा पनि नेता कोइरालाले साथ दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँ (गिरिजाप्रसाद कोइराला) को समर्थन भएकै कारण पनि म नेविसङ्घको सभापति भएको हुँ । उहाँ कहिल्यै नथाक्ने मान्छे हो ।”

‘शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्छ’

कांग्रेसले ‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकमा आयोजना गरेको वैचारिक विमर्शमा सहभागी नेताहरूले सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम तत्कालै टुङ्ग्याउनुपर्ने बताउनुभयो । 

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गिरिजाप्रसाद कोइरालाको योगदान र लिनुभएको ऐतिहासिक निर्णयको सम्मान गर्दै सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्ने बताउनुभयो । उहाँले गिरिजाबाबुको योगदानको सम्मान गर्नकै लागि पनि सरकार र राजनीतिक दलका तर्फबाट शान्ति प्रक्रिया टुङ्ग्याउने प्रतिबद्धता आउनुपर्ने बताउनुभयो । 

पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि शान्ति प्रक्रियाका बाँकी काम तत्काल सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले गिरिजाबाबुप्रति उच्च सम्मान हुने र पीडितले न्याय पाउने गरी शान्ति प्रक्रिया पूरा गर्नुपर्ने बताउनुभयो । 

उहाँले बेपत्ता पारिएको व्यक्तिको खोजबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकमा सहमति जुटाएर कानुन निर्माण गरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले विस्तृत शान्ति सम्झौता अनुसार पीडितले न्याय पाउने गरी यो विषय टुङ्गो लगाउनुपर्ने बताउनुभयो । 

पूर्वमन्त्री एवं एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाका नायक कोइरालालाई नेपाली राजनीतिको विशिष्ट व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो । उहाँले सङ्क्रमणकालीन न्यायको विषयलाई सहमतिमा सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक स्थायित्व कायम गरी समृद्धि र आर्थिक विकासमा अघि बढ्नुपर्ने बताउनुभयो । 

आर्थिक अवधारणामाथि बहस

कार्यक्रममा ‘समुन्नतिको दोस्रो जग’ शीर्षकमा काठमाडौँ विश्वविद्यालयका प्राडा अच्युत वाग्ले राजनीतिक विश्लेषकद्वय मञ्चला झा र हरि शर्माले राजनीतिक रूपान्तरणपछि आर्थिक विकासको विस्तृत अवधारणा अघि बढाउनुपर्ने बताउनुभयो । 

उहाँहरूले संविधान निर्माणपछि सङ्घीयता कार्यान्वयनका सन्दर्भमा सरकार र राजनीतिक दलबाट भएका प्रयासबारे चर्चा गर्दै नयाँ अवधारणा निर्माण गरेर अघि बढ्नुपर्ने बताउनुभयो । 

त्यसै गरी ‘फोटो पत्रकारिता : जोखिम र अनुभव’ शीर्षकमा वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकार, उषा तितिक्षु, विकास रौनियार र प्रकाश माथेमाले विमर्श गर्नुभयो । उहाँहरूले नेपालको फोटो पत्रकारिताको इतिहासमा भोगेका चुनौती र वर्तमानको अवस्थाबारे आफ्नो अनुभव प्रस्तुत गर्नुभयो । उहाँहरूले गोरखापत्रमा फोटोग्राफी शाखा स्थापनादेखि अहिले नयाँ सञ्चारको विकाससम्मको बारेमा आफ्नो अनुभव प्रस्तुत गर्नुभयो । 

  

यो पनि पढ्नुहोस

गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण