• २१ असार २०८१, शुक्रबार

सावधानी अपनाए डिजिटल हिंसा कम हुने

blog

काठमाडौँ, असार १९ गते । महिला पत्रकारले सामाजिक सञ्जाल र नयाँ प्रविधिको प्रयोग गर्दा सावधानी अपनाएमा डिजिटल हिंसा कम हुन सक्ने सरोकारवाला निकायका वक्ताले औँल्याउनुभएको छ ।

सञ्चारिका समूहको आयोजना तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा मङ्गलबार ललितपुरमा आयोजना गरेको सामाजिक सञ्जालमा महिला पत्रकारमाथि हुने हिंसा र यसको न्यूनीकरण विषयक कार्यशालामा बोल्दै नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालबाट हुने हिंसा कम गर्न पत्रकार महिलाले अन्य विषयभन्दा समाचारमूलक विषयवस्तुलाई प्राथमिकताका साथ प्रस्तुत गर्नुपर्ने बताउनुभयो । 

सामाजिक सञ्जाल, आर्टिफिसियल इन्टेलिजेन्स र महिला पत्रकार विषयक छुट्टै सत्रमा पत्रकार उज्ज्वल आचार्यले सामाजिक सञ्जालको प्रयोग, यसका चुनौती र बच्ने उपायका बारेमा जानकारी दिनुभयो । सो सत्रको टिप्पणीकारका रूपमा गोरखापत्रका महाप्रबन्धक लालबहादुर ऐरीले सामाजिक सञ्जालको सकारात्मक पाटोमार्फत पत्रकार र सञ्चार माध्यमले धेरै फाइदा लिन सक्ने बताउनुभयो । 

सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पत्रकार महासङ्घका उपाध्यक्ष बाला अधिकारीले प्रविधिको तीव्र विकासले निम्त्याएका हिंसालगायतका समस्याका बारेमा पत्रकार महिलाई थप साक्षर बनाउन सरोकारवाला निकायले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

महिला जनसङ्ख्याको हिस्सा ठुलो भए पनि डिजिटल साक्षरताको दायरा भने ३१ प्रतिशत मात्र रहेको कार्यक्रममा जानकारी दिइएको थियो । संयुक्त राष्ट्रसङ्घीय महिला (युएन वुमन) का अनुसार विश्वमा ८५ प्रतिशत महिलामाथि डिजिटल हिंसा हुने गरेको छ । जसमध्ये ९५ प्रतिशत मानवीय गल्तीकै कारणले त्यस्ता हिंसा बढेको औँल्याइएको छ ।