• २१ असार २०८१, शुक्रबार

सुन तस्करी प्रकरण : ५८ जनाविरुद्ध मुद्दा

blog

काठमाडौँ, असार १९ गते । स्कुटरको ब्रेक सु र अन्य विद्युतीय सामग्रीभित्र लुकाएर नेपाल ल्याइएको झन्डै तीन हजार दुई सय केजी सुन तस्करीका आरोपितविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले ५८ जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएका मध्ये ३५ जना नेपाली, १५ चिनियाँ र आठ भारतीय नागरिक रहेका छन् । 

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रेक सुभित्र लुकाएर ल्याइएको अवस्थामा बरामद भएको तस्करीको ६० केजी सुनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले विद्युतीय सामग्रीका पार्टपुर्जाभित्र लुकाएर ल्याएको तीन हजार १९४.६६८ केजी सुन तस्करीमा ६० जना प्रतिवादीविरुद्ध सुन तस्करी, सङ्गठित अपराध, नेपाल राष्ट्रबैङ्क ऐन, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी) हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज (नागरिकता) किर्तेमा समेत सजायको मागरहित अभियोगपत्र दायर गरिएको बताउनुभयो । 

सुन तस्करीका लागि खोलिएका पाँच डमी कम्पनीहरू (भुजेल इलेक्ट्रोनिक्स सप्लायर्स, ह्वाडा इलेक्ट्रोनिक्स सप्लायर्स कम्पनी, छुङ्गाक इलेक्टोनिक्स सप्लायर्स, दोलखा इलेक्ट्रोनिक्स सप्लायर्स र रेडे ट्रेड प्रालि) देखावटी कम्पनीका सञ्चालकविरुद्ध ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४० रुपियाँ तथा गैरकानुनी रूपमा तस्करीको सुन खरिदबिक्रीमा संलग्न भई भुक्तानी गर्ने सजिलो पे र वे वेलविरुद्धसमेत सोही रकम अर्थात् ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४० रुपियाँ गरी छुट्टाछुट्टै बिगो माग गरिएको छ ।   प्रतिवादीहरू सङ्गठित भई अवैध सुन पैठारी तथा अभौतिक मुद्रासम्बन्धी कसुरसमेत गरी एकै वारदातमा एकभन्दा बढी कसुर गरेको हुँदा मुलुकी अपराध संहिता, २०७४ को दफा ४३(१) बमोजिम एकीकृत कसुरमा समेत सजाय तथा जरिबानाको माग गरिएको जनाइएको छ ।

सुन तस्करीको गिरोहले नेपालमा पाँच वटा डमी कम्पनी खडा गरी विद्युतीय सामग्री आयात गर्ने भनी तीनका पार्टपुर्जाभित्र लुकाएर सुनको तस्करी गरेको निष्कर्षसहित अभियोगपत्र दायर 

गरिएको छ । ६० केजी सुन तस्करी प्रकरणमा पटक पटक गरी झन्डै तीन हजार दुई सय केजी सुन तस्करीमा ६० जनाको प्रत्यक्ष संलग्नता देखिएको ठहरसहित उनीहरूविरुद्ध अवैध सुनको मूल्य ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४० समेत बिगो अभियोगपत्रमा दाबी गरिएको सहन्यायाधिवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।  

चिनियाँ नागरिक प्रतिवादी वाङ दोजेङको समूहमा रही सङ्गठित भई आपराधिक समूह बनाई समूहबिचमा गोप्य तथा तहगत रूपमा सूचना प्रवाह गरी पिरामिड शैलीमा सुन तस्करी गरेको अभियोगपत्रमा उल्लेख छ । 

नेपालमा विभिन्न कम्पनी खोली हङकङबाट मालवस्तुभित्र अवैध सुन छिपाई ल्याई गाली, पगाली सुन निकालेर सानो सानो परिमाणका बनाई नेपाल तथा भारतीय बजारमा बिक्रीसमेत गरी ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४० रुपियाँ लाभ लिएको सप्रमाण पुष्टि हुने निष्कर्ष छ । यसअघि प्रहरीले २०८० भदौमा पनि २४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

अदालतमा दोस्रो चरणमा दायर भएको अभियोगमा प्रतिवादीमा भारतीय नागरिक सिद्धनाथ अशोक गायकवाड, प्रशान्त गणेश बजबलकर, बैजनाथ ब्रह्मादत्त गोयल, धीरज दिनेश भोइटे, चितवनका सुन व्यवसायी सुरेन्द्रमान श्रेष्ठ, राजु खत्री, राजु थापा भन्ने प्रेमनाथ सेढाईं, कान्छा लामा, राजु भोटे, कुङ्गा टासी शेर्पा भन्ने चिनियाँ नागरिक जिन जाङ्ग, प्रज्वल आचार्य, सुरज शमशेर जबरा, भीमप्रसाद तिमल्सिना, फुनसुक डाग्पा अथुपछाङ खम्पा, काश्यप मानन्धर, लालबहादुर कुँवर, अरुणकुमार यादवलाई प्रतिवादी बनाइएको छ ।

त्यसै गरी मनोजराज श्रेष्ठ, रूपक भण्डारी, सोनाम गुरुङ भन्ने शिरव ग्याल्मो, सुनील जाकिबन्जा, सत्येन्द्र श्रेष्ठ, लुरोङ गोङबु, वाङ दोजिङ, पिन्ज योनजिङ, झोङ झियाङ, हेनरी जी जोङ जियाङ, पिङ लिङफिङज, टिरेन्स टिसा, राम गुरुङ, सोनम तामाङ, लेखनाथ कार्कीडोली, कुमार भुजेल, बिकुन्द्र भुजेल, जीवनकुमार गुरुङ, अभिजित तानाजी मुलिक, अमोल कलप्पा कुटे, कमलकान्त कुल्थिया, मुकुन्दकुमार ठाकुर, ऋषि ठाकुर, रोशनबाबु मल्ललाई प्रतिवादी बनाई मुद्दा दायर भएको छ । 

यसै गरी मीनकुमार दुलाल, खेलानन्दप्रसाद सिंह, नेपालभूषण चन्द, पाल्साङ लामा, भोला साह सोनार, जीवन चलाउने, एलेक्स जी यो पुजिङ, एली जी ली युनटिसुङ, रोगेर स्टेप ली निजिकेल, साउटेन डिङ सिनेङ फा, लिन जिक्युयाङ, टासी भन्ने थुप्तिन छिरिङ, हर्कराज राई, दावा छिरिङ, राजेन्द्रकुमार राई, रामकुमार भुजेल, दिलिप भुजेल, सुमन खरेल, भीमबहादुर मगर र टासी शेर्पाविरुद्ध मुद्दा दायर भएको छ ।