• २० असार २०८१, बिहिबार

बाँकेमा ३१ हजार १५९ सवारी साधनलाई कारबाही, दुई करोड ४४ लाख जरिवाना

blog

सिराज खान 

नेपालगन्ज, असार १८ गते। बाँकेमा चालु आर्थिक वर्ष २०८०/०८१ को असार पहिलो सातासम्म ३१ हजार १५९ सवारी र ढुवानीका साधनलाई कारबाही गरिएको छ। 

दैनिकजसो ट्राफिक नियम सम्बन्धी जानकारी दिँदै आएपनि जिल्लामा ३१ हजार १५९ सवारी साधनले नियम विपरीत गाडी चलाएको पाइएकोले उनीहरूलाई कारबाही गरेर जरिवाना समेत असुल गरिएको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले बताउनुभयो।

उहाँले ती सवारी साधनलाई कारबाही गरेर दुई करोड ४४ लाख २७ हजार रुपियाँ जरिवाना राजस्व सङ्कलन समेत गरिएको बताउनुभयो। 

ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख सुवेदीका अनुसार लामो दुरीको यात्रामा दुई जना चालक नराख्ने ११० सवारी साधनलाई कारबाही गरेर एक लाख १० हजार राजस्व सङ्कलन भएको छ।

सोही प्रकारले चालकको लापरबाही र सर्वसाधारणले सडक अनुशासन पालना नगर्दा मानिसको ज्यान जाने हुँदा ट्राफिक नियम कडाइ र जानकारीको लागि दुई हजार ३२६ पटक एक लाख २० हजार ३६५ जना व्यक्ति र जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गरिएको प्रमुख सुवेदीले बताउनुभयो।

यो वर्षमा ट्राफिक नियम उलङ्घन गर्ने धेरै सवारी साधनलाई गरिएको कारबाहीका कारण दुर्घटनामा केही कमी भएको बाँके ट्राफिक कार्यालयले जनाएको छ।

जिल्लामा विभिन्न सवारी साधन दुर्घटनाबाट ६३ जनाले ज्यान गुमाएको सो कार्यालयले जनाएको छ। 

सडक दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल ११२, ट्रक १८, टिप्पर ४, बस १३, माइक्रो ४, जिप कार १७, ट्याक्टर ८, टेम्पो १२, र अन्य २२ गरेर २१० रहेको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख सुवेदीले जानकारी दिनुभयो।

ती दुर्घटनामा सबैभन्दा बढी पुरुष ४५ जनाको मृत्यु भएको छ भने महिला १६, बालक दुई गरी ६३ जनाको मुत्यु भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

अवधिमा सवारी दुर्घटनामा १०२ गम्भीर घाइते भएका छन् भने ९९ साधारण घाइते भएका छन्। यो अवधिमा सवारी दुर्घटनामा १० पशुचौपाया समेत मरेका छन् भने ३ घाइते भएको तथ्याङ्कमा उल्लेख छ।

ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज–सुर्खेत सडकखण्ड, पूर्व पश्चिम राजमार्गको ढकेरी–शम्शेरगन्ज सडकखण्ड र नेपालगन्ज–गुलरिया सडकखण्डमा बढी दुर्घटनाहरू हुने गरेको पाइएको छ।