• २३ असार २०८१, आइतबार

सशस्त्र प्रहरी बल नेपालमा गोताखोरको सङ्ख्या एक सय १० पुग्यो

blog

काठमाडौँ, असार २० गते। सशस्त्र प्रहरी बल नेपालमा गोताखोरको सङ्ख्या एक सय १० पुगेको छ। 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित ५ गोताखोर तालिमको  बिहीबार  १९ जनाले सफलतापूर्वक सम्पन्न गरे पश्चात् सङ्ख्या थपिएको हो। 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले तालिम समापन गर्नुका साथै तालिममा प्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान वीरेन्द्र कार्कीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो।

उहाँले मनसुनजन्य विपद् सुरु भइसकेको अवस्थालाई ध्यानमा राखी सशस्त्र प्रहरी कर्मचारीले तालिममा सिकेको ज्ञान, कला र कौशललाई प्रयोग गरी कार्यक्षेत्रमा परिस्थिति अनुरूप परिचालित हुनुपर्ने बताउनुहुँदै आफ्नो जीवनको प्रवाह नगरी गरेको सेवाले आपतविपद्मा परेका नागरिकको जीउधनको सुरक्षा गर्नु उदाहरणीय कार्य रहेको उल्लेख गर्नुभयो। उहाँले यस किसिमका तालिम सञ्चालनका लागि बाग्मती प्रदेश सदैव सकारात्मक र सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले सङ्गठनलाई प्राप्त जिम्मेवारीमध्ये विपद् व्यवस्थापन पनि महत्त्वपूर्ण जिम्मेवारी रहेको चर्चा गर्नुहुँदै यस तालिम शिक्षालयले विपद् व्यवस्थापन सम्बन्धी दक्ष जनशक्ति उत्पादन गरी देशका विभिन्न भू–भागमा घटेका विपद्का घटनामा सक्रिय भई खोज तथा उद्धार कार्य गरिरहेको बताउनुभयो। 

उहाँले विपद् उद्धार अत्यन्तै संवेदनशील, जोखिमयुक्त र कठिनपूर्ण कार्य रहेको चर्चा गर्नुहुँदै यस्ता कार्यमा खटिइदा सशस्त्र प्रहरी बल नेपालका उद्धारकहरु सदैव शारीरिक र मानसिक रूपमा दक्ष हुन जरुरी रहेको बताउनुभयो। 

दाहालले नेपाल सरकार तथा प्रदेश सरकारको सहयोगमा २०७६ सालदेखि नै सशस्त्र प्रहरी बल नेपालले देशभित्रै गोताखोर तालिम प्राप्त दक्ष जनशक्ति उत्पादन गरी विपद्मा परेका नागरिकको सहयोग तथा उद्धारको लागि देशैभर परिचालन गर्दै आइरहेको बताउनुभयो। 

कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेलले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो। 

पाँच हप्ता अवधिको उक्त तालिममा १९ जना सशस्त्र प्रहरी कर्मचारी सहभागी थिए। तालिमको दौरानमा प्रशिक्षार्थीलाई चितवनको कुरिन्टारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको थियो। कार्यक्रममा प्रशिक्षार्थीले पानीजन्य घटना दुर्घटनामा उद्धार सम्बन्धी डेमो समेत प्रदर्शन गरेका थिए।

कार्यक्रममा बाग्मती प्रदेशका सांसद कृष्णप्रसाद सिलवाल, विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रदेश तथा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी, विभिन्न सङ्घसंस्थाका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानको समेत उपस्थिति रहेको थियो।