• १९ असार २०८१, बुधबार

“शान्ति ग्यालरी”को स्थापना

blog

शान्ति ग्यालरीको उदघाटन गरिदै । तस्बिर : कविता थापा

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १७ गते । दस वर्षे द्वन्द्वपछिको शान्ति प्रक्रियाको सम्पूर्ण अभिलेख रहने गरी कलात्मक डिजाइनसहित “शान्ति ग्यालरी”को स्थापना गरिएको छ । मानव अधिकारका लागि एकल महिला समूहले बुढानीलकण्ठ-७ स्थित छहारीको भवनमा बनेको शान्ति ग्यालरीको सोमवार राजधानीमा  उद्घाटन गरिएको हो । 

सो अवसरमा शान्ति स्थापनाको लागि समग्र नेपाली महिलाले पुर्‍याएको योगदान झल्काउने “आराध्याती” सालिकको पनि अनावरण गरिएको थियो । सो ग्यालरीमा द्वन्द्वको समय र त्यसपछिका शान्ति स्थापना गर्न योगदान पुर्‍याउने समग्र नेपाली महिलासहित अभियन्ता, योद्धाको चित्र, फोटोहरू घटनाक्रमको वर्णनसहित राखिएका छन् । शान्ति ग्यालरीमा नेपालले झेलेको दस वर्षे जनयुद्ध र त्यसबाट नेपाली समाजलाई परेको प्रभाव, धेरै महिलाले एकल भएर बालबच्चासहित समाजमा बाँच्नका लागि गर्नुपरेको सङ्घर्ष, शान्ति प्रक्रियाका लागि बनेका ऐन, कानुन, आयोगहरूका गतिविधिलाई तिथिमितिसहित चित्र र फोटोहरूमा हेर्न र पढ्न पाइन्छ । 


राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले भन्नुभयो,“नेपाली समाज व्यवस्थामा महिलालाई महत्व नदिने प्रवृत्तिका कारण हरेक पाइलामा हिंसा हुने सम्भावना छ, एकल भएपछि भोग्नुपर्ने विडम्वनाको त बयान गरी साध्य छैन, यस्तो परिस्थतीमा लिली थापालगायतले जुटेर देखाएको हिम्मतले शान्ती ग्यालरीको स्थापना गरेर योगदान पुर्याउनुभएको छ ।”

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवम् एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापाले द्वन्द्व वा अन्य समयमा श्रीमानको मृत्युपछि बालबच्चासहित समाज र परिवारमा शान्ति कायम राखेर अगाडि बढ्न सक्ने शसक्त महिलाको योगदानलाई शान्ती  ग्यालरी र आराध्याती सालिकका रुपमा अभिलेखीकरण गरिएको बताउनुभयो । उहाँले संस्कृत शब्दमा आराध्यातीको अर्थ बलिदानी र योगदानी हुने प्रसङ्ग उल्लेख गर्दै समाज व्यवस्थालाई जत्तिसुकै विपत्ती आइपरे पनि साहस र सुझबुझका साथ कायम राख्ने सबै महिला आराध्याती हुन्, भन्नुभयो । 


समूहका अध्यक्ष कविता पाँडेले राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवम् एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापा र आफु कम्बोडियाको भ्रमण जाँदा त्यहाँको शान्ति ग्यालरीको अवलोकन गरेपछि फुरेको विचारलाई नेपाल आएर मूर्त रुप दिने क्रममा शान्ति ग्यालरीको जन्म भएको जानकारी दिनुभयो । नेपालका लागि अष्ट्रेलियाका राजदुत फेलीसिटी भोल्कले नेपाली एकल महिलाको समूहले गरिरहेको महिला सशक्तिकरणको अभियान प्रेरणादायी र अनुकरणीय रहेको भन्दै प्रसंसा गर्नुभयो ।

सो अवसरमा युएन वुमन संस्थाका प्रमुख प्याट्रियाले एकजुट हुनु नै शक्ति हुन् भन्ने उदाहरण  नेपाली एकल महिला समूहले प्रस्तुत गरेको र शान्ति ग्यालरीले  सिङ्गै समाजलाई सशक्तिकरणतर्फ हिड्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । विकासका लागि साझेदार संस्था कुर्वे व्रुस्ट्रोका कन्ट्री संयोजक क्लेमेन्स रोसामानिथले नेफाली एकल महिलाको सशक्तिकरण र दुःखलाई बिर्सेर अगाडि बढ्ने सकारात्मक शक्तिको साझी बन्ने अवसरका लागि आफुलाई भाग्यवनी ठानेको बताउनुभयो । 

उहाँले समस्यालाई जुटेर समाधान गर्ने स्वाभाव, दुःखबाट पनि पाठ सिक्ने-सिकाउने निक्कै प्रेरणादायी अभियानसँग जोडिन पाउनु कुर्वे ब्रुस्टोका लागि समेत विशेष अवसर भएको बताउनुभयो । सो अवसरमा बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले एकल महिला समूहले लिएको सामुहिक हितको उद्देश्य र लक्ष्यले निक्कै गौरव लागेको बताउनुभयो । नेतृ पार्वती बिसङ्खेले छहारीमा स्थापना भएको शान्ति ग्यालरीमा आफ्नो विगतको कथा पनि अभिलेखिकरण गर्ने अवसर पाएको र सधैँ महिला मानव अधिकारका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।