• १९ असार २०८१, बुधबार

राष्ट्रहितलाई केन्द्रमा राखी बढ्दो भूराजनीतिको विश्लेषण जरुरी : परराष्ट्रमन्त्री श्रेष्ठ

blog

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।

काठमाडौँ, असार १७ गते । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रहितलाई केन्द्रमा राखी बढ्दो भूराजनीतिको विश्लेषण जरुरी रहेको बताउनुभएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले देश र जनताको आधारभूत हितलाई ध्यानमा राख्दै विकास साझेदार लगायत विश्व समुदायसँग सम्बन्ध राख्ने तथा विकसित भूराजनीतिक घटनाक्रमको मापन हुनुपर्ने धारणा राख्नुभएको हो ।


नेपालको आर्थिक, प्राविधिक एवम् सैन्य क्षमताको सन्दर्भ जोड्दै परराष्ट्रमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थायित्व र राष्ट्रिय स्वतन्त्रताका लागि कूटनीतिकै पहिलो र अन्तिम रक्षा पङ्क्ति हो ।’’

अन्तर्राष्ट्रिय सम्बन्धको उपयुक्त सञ्चालन, कूटनीति एवम् वार्ताका कारण नेपाल एसियामा पुरानो देशहरू मध्ये रहेको उल्लेख गर्नुहुँदै परराष्ट्रमन्त्री श्रेष्ठले देशका कूटनीतिज्ञ तथा कूटनीतिसँग सम्बन्धित संस्थाहरूको क्षमता अभिवृद्धि गर्न ठोस प्रयास हुनुपर्ने बताउनुभयो ।


जलवायु परिवर्तन, साइवर र ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय सङ्गठित अपराध, कृत्रिम बौद्धिकता जस्ता नवीन र विकास हुँदै गरेको चुनौतीका कारण अन्तर्राष्ट्रिय सहयोग र संवादको दायरा थप फैलिएको उहाँले उल्लेख गर्नुभयो ।

भूराजनीतिक प्रतिस्पर्धा तथा नयाँ संवेदनशील मुद्दाहरूका कारण कूटनीतिज्ञको महत्त्व झनै बढेको धारणा राख्नुहुँदै परराष्ट्रमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘नयाँ चुनौतीहरूको सामना गर्न हामीसँग अझै बढी कूटनीतिक दक्षता र निपुणता हुनुपर्छ ।’’