• १८ असार २०८१, मङ्गलबार

डेंगुविरुद्ध जनचेतना फैलाउने अभियानलाई तीव्र पार्न स्वास्थ्य मन्त्री यादवको निर्देशन

blog

कार्यक्रममा सहभागी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव।

काठमाडौँ, असार १६ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले डेंगु लगायत सङ्क्रामक रोगविरुद्ध जनचेतना फैलाउने अभियानलाई तीव्र पार्न निर्देशन दिनुभएको छ। 

आइतबार स्वास्थ्य सेवा विभाग अन्तर्गतको  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका विभिन्न शाखाको प्रगति, चुनौती र आगामी योजनाको बारेमा जानकारी लिदै उहाँले यस्तो निर्देशन दिनुभएको हो। 

उहाँले डेंगी नियन्त्रण र रोकथाम, हत्तिपाइले रोग निवारण, औलो निवारण, कालाजार निवारण लगायतका रोगविरुद्ध जारी कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने अभियानलाई तीव्र पार्ने निर्देशन दिनुभएको हो। 

महाशाखा निर्देशक डा. यदुचन्द्र घिमिरेले जनशक्तिको अभाव, भवन कोठाको कमी, सीमा नाकास्थित हेल्थ डेस्कका कर्मचारी व्यवस्थापन र पारिश्रमिक भुक्तानीका लागि रकम अभाव जस्ता समस्या मन्त्रीलाई जानकारी गराउनुभयो।

डा. घिमिरेले समस्या समाधानका लागि राष्ट्रिय प्राथमिकताका कार्यक्रममा थप लगानी गर्नुपर्ने, कार्यक्रमको एकरूपता र दोहोरोपना न्यूनीकरणका लागि समन्वय र सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो। 

यसबारेमा मन्त्री यादवले महाशाखाको काम सन्तोषजनक रहेको बताउँदै महाशाखा र मातहतका शाखालाई सशक्त बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गर्नुभयो।

मन्त्री यादवले महाशाखाको जनशक्ति र बजेट अभावको समस्या समाधान गर्न हर सम्भव प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो। 

छलफलका क्रममा नेपालमा रेबिजविरुद्धको खोप उत्पादनको सम्भाव्यता अध्ययनकालाई अगाडि बढाउने र रोग नियन्त्रण, रोकथाम तथा अन्य गतिविधिको प्रचार प्रसारमा विशेष ध्यान दिन आवश्यकता रहेको बताउनुभयो। मन्त्री यादवले महाशाखाका कर्मचारीको हौसला बढाउँदै समस्या समाधानका लागि मन्त्रालयले सबै तहबाट सहयोग गर्ने आश्वासन दिनुभयो।

“महाशाखाका चुनौतीको समाधान गर्दै, जनस्वास्थ्यको सुधारमा महत्त्वपूर्ण कदम चाल्न हामी सबै प्रतिबद्ध छौँ,” मन्त्री यादवले भन्नुभयो, “हामीले बजेट र जनशक्ति व्यवस्थापन गर्दै स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछौँ।”

छलफलमा मन्त्रालयका सचिव हरिप्रसाद मैनाली र स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. सङ्गीता मिश्रलगायत विभाग र विभिन्न महाशाखाका प्रतिनिधिको उपस्थिति रहेको थियो।