• १८ असार २०८१, मङ्गलबार

हरेक ठाउँमा भ्रष्टाचार व्याप्त छ : अध्यक्ष नेपाल

blog

आइतबार काठमाडौँमा भएको पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौँ, असार १६ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले हरेक ठाउँमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको छ। आइतबार पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले बिना पैसा कुनै पनि सरकारी सेवा प्राप्त गर्ने परिस्थिति नरहेको बताउनुभयो। 

उहाँले भ्रष्टाचार र बेथितिको अन्त्य कसरी गर्ने भन्नेबारेमा काम गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले आफ्नो स्वार्थको निम्ति सरकारी ढुकुटी खर्च गर्ने परम्परा हटाउन आवश्यक रहेको बताउनुभयो। 

उहाँले उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा सबैले गम्भीर भएर सोच्न जरुरी रहेको बताउनुभयो। उहाँले त्यसका लागि नेपालका कम्युनिस्ट पार्टीमा एकता र सहमति आवश्यक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘अहिले प्रत्येक ठाउँमा भ्रष्टाचार छ। बिना पैसाको कुनै काम हुँदैन। सेटिङ मिलाइएको छ। त्यसैले यो बेथितिको अन्त्य गर्ने कसरी ? यो नीतिमा पनि देखापर्छ। काम र व्यवहारमा देखापर्छ। हामी तत्काल अहिले आफ्नो स्वार्थको निम्ति कुन चिज हो परियोजना, त्यो बनाउँछौँ, अर्बौँ खर्च गरिदिन्छौँ। अर्बौँ कहाँ खर्च गर्ने ? उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवर्द्धन गर्नका लागि, देशको आय बढाउनका लागि, सिङ्गो अर्थतन्त्रलाई उँभो उठाउनका लागि राष्ट्रिय पुँजीको विकास गर्नका लागि, उद्यमशीलताको विकास गर्नका लागि, चाहे कृषि होस्, जलविद्युत, पर्यटन, उद्योग धन्दा यी सबैका लागि पूर्वाधारको विकास होस्। पूर्वाधारको लागि शिक्षा, स्वास्थ्यको विकास होस्। विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा के गर्नुपर्छ, त्यसमा गम्भीर चिन्तन र छलफल गर्नुपर्ने आवश्यकता छ। यसका लागि नेपालका कम्युनिस्ट पार्टीमा एकता र सहमति आवश्यक छ।’’

अध्यक्ष नेपालले नेकपा एमालेप्रति लक्षित गर्दै उहाँले एमाले आफ्नो पार्टीसँग मिलेर काम गर्न तयार नभएको पनि आरोप लगाउनुभयो।