• १७ असार २०८१, सोमबार

भेप र हुक्काको प्रयोगले क्यान्सरको जोखिम

blog

अन्तरक्रियामा सहभागी पत्रकार ।

जानु पाण्डे

कपिलवस्तु, असार १५ गते । युवा पुस्तामा भेप र हुक्काको बढ्दो लतले क्यान्सरको जोखिम बढ्दै गएकोप्रति स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् । कपिलवस्तुका पत्रकारलाई सुर्तीजन्य पदार्थको कारणले हुने क्यान्सर रोगको निवारणका लागि गरिएको अन्तरक्रियामा क्यान्सरविरुद्ध चेतना फैलाउने विषयमा जोड दिइएको छ ।  

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र हेल्थ आवाजको आयोजनामा बुद्धभूमिमा भएको अन्तरक्रियामा युवा र किशोर किशोरीमा सुर्ती चुरोट तथा गुट्खाको सेवन बढ्दै जाँदा क्यान्सरको जोखिम अझ उच्च रहेको बताइएको थियो । 

कार्यक्रमको सहजीकरण गर्दै डा. शम्भु खनालले अहिलेको युवा पुस्ता र किशोर किशोरीमा सुर्तीजन्य बस्तुको प्रयोग बढ्दै गएको बताउनुभयो । उनीहरूमा भेप र हुक्का प्रयोग अत्यधिक रहेको छ । यी बस्तुको प्रयोग गर्दा स्वास्थ्यमा असर नहुने भ्रम समेत रहेको छ । 

यो सुर्ती चुरोट तथा गुट्खाजस्तै हानिकारक हुन्छ । पत्रकारिताको माध्यमबाट सचेतना फैलाउन जरुरी रहेको डा. खनालको भनाइ छ । कार्यक्रममा हेल्थ आवाजका कार्यकारी सम्पादक भिसा काफलेले नेपालमा पछिल्लो समय क्यान्सर रोगीको सङ्ख्या बढ्दै गएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले मिडियाको माध्यमबाट युवालाई कुलतबाट जोगाउने गरी समाचार प्रकाशन गर्ने प्रतिबद्धता जनाउनुभयो ।