• ७ मंसिर २०८१, शुक्रबार

नियात्रा

मन छुने मुस्ताङ

blog

हिमालपारिको अनौठो मुस्ताङी संसार । कौतुकमय छहरा जस्ता छविहरू ...! आँखीझ्याल जस्ता आकृतिहरू । अनेक देवीदेवताका रूपविन्यास जस्ता दैवी संरचनाहरू । हृदयको श्वेत क्यानभासमा सजाएर फुर्सदमा हेर्नुको अनेकौँ खुसी, पत्र–परागहरू । प्रकृतिले प्रदान गर्ने खुसी असीमित हुँदो रहेछ । 

मन छुने मुस्ताङको प्रकृति । देख्नुको मज्जा बेग्लै । हेर्नुको आनन्द अर्कै । अनौठो भूतलमा भव्य सुन्दरता । प्रकृतिको अचम्मकै लीला । प्रकृतिको रचना वर्णन गर्नै नसकिने । हेर्नुको प्यासले व्याकुल मन । आनन्दले मस्त तन । जहाँ अर्कै धर्तीमा पुगेको भान हुने । मन छुने मुस्ताङको प्रकृति देखेर आँखाहरू स्वतः प्रेममय बन्ने । मन रमाएर उल्लासले उन्मुक्त उडानमा वेग मार्न थाल्ने । हृदयको क्यानभासमा दृश्यहरू स्वतः लेपन हुने । अन्ततः यात्राका मिठा–मिठा यादहरू थपिँदै जाने रहेछ । जिन्दगी यात्राको एक अर्को नवीनतम अध्यायमा प्रविष्ट म । मेरा सारा रहरहरू चित्रमय दृश्यमा रूपान्तरित । प्रकृतिको काखमा लुटुपुटु, छुनुमुनु हुँदै मैले हिँडेको बाटो । मैले देखेको धरती–धाम !

मैले मेरो यात्रालाई भावनाहरूका थुङ्गा बटुलेर सुगन्धमय माला उन्नु छ । अनुभूतिको यात्रामा अभिव्यक्तिको उचाइ आरोहण गर्नु छ । देउरालीमा सुस्ताउँदै शीतल बताससँग बात मार्दै मिठो सुगन्धमा लट्ठ पर्नु छ ।

मैले हिँडेको यही बाटो हेरेर अक्षरहरूमा क्रमशः आफूलाई अनुवाद गर्नु छ । गन्तव्य नपुगुन्ज्यालको यात्रामा जिन्दगीलाई हिँडाइरहनु छ । नयाँ गन्तव्य भेटेपछि फेरि अर्को अध्याय प्रारम्भ हुन्छ । गन्तव्य कहिल्यै टुङ्गिँदैन रहेछ । आजको गन्तव्य सकिएर विश्राम लिएको भोलिपल्टै पुनः अर्को नौलो गन्तव्यको प्राप्तिमा यात्रा लम्किँदो रहेछ ।

प्रकृतिको सुन्दरताले सुसज्जित मेरो प्यारो देश त्यहाँ भेटेर रमाउनु छ अघाउँजी । देख्नु छ बिछट्टको विराट् प्रकृति । हिमाल, पहाड र मरुभूमिको संयोजनमा यौटा अलग्ग सौन्दर्य–संसार पुग्नु छ । हिमालपारिको अनौठो मुस्ताङी संसार । कौतुकमय छहराजस्ता छविहरू ...! आँखीझ्याल जस्ता आकृतिहरू । अनेक देवीदेवताका रूपविन्यास जस्ता दैवीसंरचनाहरू । हृदयको श्वेत क्यानभासमा सजाएर फुर्सदमा हेर्नुको अनेकौँ खुसी, पत्र–परागहरू । प्रकृतिले प्रदान गर्ने खुसी असीमित हुँदो रहेछ । रहस्यमय भू–धरातलले पाहुना सबैलाई स्वागत गर्ने । कागबेनीबाट प्रस्थान भएपछिको दृश्य अत्यन्तै अर्कै र चाख लाग्दो । अनेकौँ रूप–सौन्दर्यका स्मारकहरू । तिनले आँखालाई लोभ्याउँदै र यात्रा स्मरणीय बनाउँदै लैजाने । दिनभरिको यात्रा पनि छिनभरको लाग्ने । समयले नेटो काटेको पत्तै नहुने । दिन ढल्किएर रात भित्रिएको पनि ख्याल नहुने रहेछ । ढुङ्गाले ढाकिएका बाटाघाटालाई उछिन्दै । बाटो हो कि खोला हो, सडक हो कि पहिरोका थुप्रो !? यिनै जङ्घारहरूलाई छिचोल्दै बल्ल सास फेरिएको थियो मार्फामा । त्यसपछि व्रmमशः अर्कै भूगोलको भूमिमा पाइलाले फड्को मार्न पुग्ने रहेछ ।

मेरा आँखा झ्यालबाहिरका कौतुकमय दृश्यमा मग्न । मेरो मन तिनै मनोरम प्रकृतिमा मक्ख । पूर्वमा नीलगिरि हिमालको उपस्थितिले स्वागत गरिरहेको । उत्तर र पश्चिममा सुक्खा पहाड । त्यही पहाडबाट अलिकति शिर उठाएर चियाइरहेका हिमाली लस्कर मार्ग । मास्तिर झन् उकालिँदै जाँदा सौन्दर्यका काया–कलेवर मनमोहक । हिमाली लस्कर, मरुभूमिका अनौठा अवस्थिति र नागबेली नदीको प्रवाह । साँच्चै लोभलाग्दो र अचम्मको प्राकृतिक संरचना ।

यही रहेछ प्राकृतिक वैभवको अनुपम परिवेशको सङ्गम । जहाँ रहस्यमय अर्थ–अभिव्यञ्जना अभिव्यक्त । जहाँ कलात्मक आकृतिहरू उहिल्यैदेखि विद्यमान ।

गन्तव्य जाने बाटो अगाडि एकनासको शून्यता व्याप्त । बोटबिरुवाविहीन उच्च पहाडी तरेलीका उकालीहरू । पठारको उकालो पाटो हुँदै जाँदा दृश्यहरूले जिज्ञासा जगाइरहने । क्रमशः अगाडि बायाँतिर कौतुकमय पहाडी अवस्थितिले मन झन्झन् चञ्चल बन्दै गइरहने । माटैमाटोका प्रत्येक पहाडमा आँखीझ्याल जस्ता, बुट्टैबुट्टाले चिरिच्याट्ट आकृतिहरू देखिने । आँखाहरू तिनैमा झुम्मिँदै लुकामारी खेल्दै रहस्यको पर्दा खोल्न खोज्ने ।

घुर्मैलो रङका आवरणमा दृश्यमान प्रकृति । सुमधुर प्रेमका स्पन्दिन आकृति । तिनै स्पन्दनमा स्नेहाशक्ति आफ्नै धरोहरप्रतिको हार्दिक भाव अभिव्यञ्जित भइरहँदो रहेछ । जहाँ क्रन्दन र तनावका हैरानी होइन । जहाँ पीडा र बेखुसीका सास्ती होइन । त्यहाँ आह्लादका प्रिय आरामदायी ओछ्यान हुन्छ । त्यहाँ स्वास्थ्य वर्धक खाना हुन्छ । मनमा शान्ति र सन्तुष्टिको पृथक् मिठास सम्मिलित भएको हुन्छ । यस्तो बेग्लै पाटो जहाँ सुन्दर नेपालको स्पष्ट छवि स्वतः अवतरित भएको हुन्छ ।

यति प्यारो मायालु धरती–धाम हिमालपारिको मुस्ताङ ! त्यसभन्दा अझ पर उपल्लो मुस्काङ्गी छटाहरू । ल्होमन्थाङका लोभलाग्दा परिवेशहरू । अलग्ग अर्कै संसारको विचरणमा हराउन पुगिँदा पनि निर्धक्क रमाउन सकिने गाउँ ठाउँहरू । यात्राका यात्रीलाई अनेकौँ प्राप्ति र परिणतिहरू । मौलिक प्रकृतिको स्वाद समग्र यात्राभर प्राप्त भइरहने रहेछ ।

अन्ततः हिमाली घेराभित्र सुक्खा धरातलमा पनि अनगन्ती उर्वर अनौठो दृश्यका उचाइहरू । भने जति, खोजे जति, देख्न सकिने जति । घुम्ती छिचोल्दै, उकालो चढ्दै जति गए पनि झन् नयाँ परिदृश्यमा आँखा लट्ठ ।

रङ्गीन स्वरूपका विचित्र बिम्बभन्दा पर सामान्य तर सर्वाधिक सौन्दर्यका खास खानी त्यहाँ । मायाले आँखा हेरिरहने । प्रकृतिप्रेमको दीप प्रज्वलनमा अथाह भावनाका भेल बगिरहने । प्रिय प्रकृतिका मादक रङमा उल्लासित मन । रहरका वैशालु तरङ्गहरू प्रज्वलित त्यहाँ ।

कालीगण्डकीको शान्त, सुन्दर नदी जस्तै निर्मल, निर्भय प्रवाहित र प्रभावित म । अनौठो प्राकृतिक विरासत देखेर लट्ठ । म प्रकृतिमा मक्ख । रङ्गीन पहाडी पाखाहरू । अझ तीभन्दा रहस्यमय मुस्ताङका गुफामय पहाडहरू ।

‘टासिडेले’ भन्दै स्थानीय आमाहरू खुसीको आत्मीय आभास बाँड्दै हिँड्ने । घुम्न आउनेहरू अचम्मको घरबार देखेर तीनछक पर्ने । भौतिकवादतिर अग्रसर आजको समाज तर यहाँ प्राचीन युगको झल्को दिने जीवनशैली र घरव्यवहार । सुनसान गाउँघर पुग्न कति लामो बाटो । त्यहाँसम्म पुग्न मरिहत्ते कति कति पदयात्री । बल्ल गाउँ पुगेपछि गल्ली पछ्याउँदै अर्को घरआँगन निस्किनु, हेर्नु, हेरेर रमाउनुको बेग्लै आनन्द ।

झट्ट हेर्दा उस्तै घरआँगन, पेटीपर्खाल र गल्लीहरू । ढुङ्गाका गल्लीको द्वार पनि उस्तै । ढुङ्गा बिछ्याइएको बाटो पनि त्यस्तै । घरैपिच्छे छानामा, छतमा दाउराका हार मिलाएर राखिएका । गोबरगुइँठाका पनि जगेडा त्यत्तिकै आगोका लागि न्यानोका निम्ति तर देखिने दृश्यहरू फरक फरक । तिनको बेग्लै स्वरूप र संरचना ।

 हिमालपारि झन् पारि पारि चुसाङ, चेले, घिमी, घामी, चाराङ, घार गुम्बा, माराङ आदि । रहस्यले भरिएका गुफा–गन्तव्य यद्यपि अनकन्टारमै छ । कल्पना मनोबिम्वका ती आकृतिहरू इतिहासका जीवित दस्ताबेज हुन् । चोसार, चुसाङका शताब्दिऔँ पुरानो मानव इतिहास बोकेर रहेका भिरका गुफाहरू । हिमालपारि उपल्लो थलो । हिमालपारि हिमालकै संसार । हिमालपारि उचाइको उन्नत पाटो । मौलिक सौन्दर्यको भण्डार । अनौठो प्रकृतिको अवस्थिति । मेरा आँखामा साक्षात्कार हिमाली पाटो । लमतन्न फैलिनुसम्म फैलिएको । प्रकृतिको चखिलो भौगोलिक बनौट । यस्ता दृश्य देखेर को पो नरमाइ रहन सक्ला । अचम्मले नहेर्ला र !

कहिल्यै नपुगेको ठाउँ । कहिल्यै नटेकेको पाइला । कहीँ कतै नदेखेका दृश्य । तिनै दृश्यले मन छुन तछाडमछाड । आँखाका परेलीका ढोका सदा खुलमखुला । हावाका वेगसरी आउने मुस्कानमय सुन्दरताका स्वरूपहरू । ती सौन्दर्यका सागरलाई मनभित्रसम्म प्रवेश गराई विराजमान गराउन हतार । 

कैयौँ जमर्को र जोडबलपछि बल्लतल्ल मुस्किलले मिलेको मिलन । जहाँ खोजेको खुसीले दिएका सन्तुष्टिहरू छन् । जहाँ सुकोमल भावनाका मुना मुहारका मुजुराहरू अङ्कुरित भइरहेछन् । बल्ल पाइला टेकेर आँखाले देखेको सपनाको अर्को सुन्दर संसार । हेरेरै अघाएका दिनहरू । मनमा राखेर फर्किएका यात्राका डोबहरू । यादका मिठा–मिठा सौगातहरूले भरिपूर्ण लेखनका ऊर्जाहरू । तिनै ऊर्जाले उत्साहित ज्यान–प्राण घर फर्किएपछिको खुसीसँग थप आह्लादित भएको मन ।

मन छुने मुस्ताङका प्रकृतिलाई सतत नमन ! मन छुने दृश्यहरूले सुसज्जित मुस्ताङ तिमीलाई बिर्सन सकिँदैन कहिल्यै ... ! म मुस्ताङका यात्राका मिठा यादहरूमा छु ।

   

Author

ज्ञानेन्द्र विवश