• १७ असार २०८१, सोमबार

‘बिरुवा रोप्ने मात्र होइन, संरक्षणमा पनि ध्यान दिऔं’

blog

घोराही उपमहानगरपालिका–४ स्थीत सुनपुर सामुदायिक वन समुहको खाली जमिनमा वृक्षारोपन गर्दै स्थानीय ।

लीलाधर वली

घोराही, असार १४ गते । बिरुवा रोप्ने मात्र होइन संरक्षणमा पनि ध्यान दिनुपर्ने घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले बताउनुभएको छ । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा डिभिजन वन कार्यालय घोराहीले घोराही उपमहानगरपालिका–४ मा रहेको सुनपुर सामुदायिक वन उपभोक्ता समूहको वनमा राखेको वृक्षरोपण कार्यक्रमलाई सम्बाेधन गर्दै उपप्रमुख डिसीले बिरुवा रोप्नेदेखि हुर्काउने र संरक्षण गर्न उपभोक्ता सचेत हुनुपर्ने बताउनुभएको हो। 

पर्यावरण सन्तुलनका लागि वातावरण जोगाउनुपर्ने भएकाले खुल्ला ठाउँहरुमा वृक्षरोपण आवश्यक रहेको भन्दै नगर उपप्रमुख डिसीले भन्नुभयो, "वृक्षरोपणले वातावरण सन्तुलन राख्नका साथै भूक्षय नियन्त्रणका लागि सहयोग गर्दछ ।" वन समूहका उपभोक्ता सचेत नहुँदा बिरुवा वृक्षरोपण गरिएका बिरुवा संरक्षण हुन नसक्ने भएकाले वन संरक्षणमा उपभोक्ता सजग बन्नुपर्ने बताउनुभएको हो 

राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा घोराही उपमहानगरपालिका–४ मा रहेको सुनपुर सामुदायिक वन समूहको खाली जग्गामा एक सय बिरुवा रोपेर वृक्षरोपण शुभारम्भ गरिएको हो । यस वर्ष वन समूहको एक हेक्टर क्षेत्रफलमा एक हजार छ सय अर्जुन जातका बिरुवा रोपिएको डिभिजन वन कार्यालय घोराहीका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार रोपिएका बिरुवाहरुको संरक्षण गरेर हुर्काउने जिम्मा वन समुहका पदाधिकारीहरुको भएको बताउनुभएको थियो । 

वृक्षरोपण कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीलगायत वन समूहका पदाधिकारी, उपभोक्तालगायतको उपस्थिति थियो ।  

दुई लाख ७० हजार बिरुवा तयार

जिल्लामा हरियाली प्रवर्धनसँगै भूक्षय नियन्त्रणका लागि दुई लाख बढी बिरुवा रोपिने भइएको छ । जिल्लाका विभिन्न सामुदायिक वन समूह, निजी वन र नदी उकास क्षेत्रमा रोप्नका लागि दुई लाख ७० हजार बिरुवा तयार भएको डिभिजन वन कार्यालय घोराही दाङका प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभएको छ । 

तयार भएका बिरुवाहरु रोप्नका लागि वन समुह तथा सर्वसाधारणलाई बिरुवा बाँड्न सुरु गरिएको छ । डिभिजन वन कार्यालयको घोराही र अम्बापुरमा रहेका नर्सरीसँगै पुरन्धारा सब डिभिजन कार्यालयहरुका नर्सरीहरुमा जडीबुटी, काठ र सौन्दर्य प्रजातिका दुई लाख ७० हजार बढी बिरुवा उत्पादन गरिएको डिभिजन प्रमुख श्रेष्ठले जानकारी दिनुभएको  छ । नर्सरीमा हुर्काइएका बिरुवा निःशुल्क वितरण गरिने छ । नर्सरीमा अर्जुन, टिमुर, मालागेडी, अमला, जामुन, तेजपात, कपुर, शीतलचिनी, मसलालगायतका उत्पादन भएको जानकारी दिनुभएको छ ।