• १३ असोज २०८१, आइतबार

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताको आग्रह

blog

नेकपा (एमाले) नेता कृष्णगोपाल श्रेष्ठ

काठमाडौँ, असार १२ गते । नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले काठमाडौँ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेको छ ।

बुधबार एमालेका नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौँ जिल्ला कमिटीका नेताहरूले गृहमन्त्री लामिछानेलाई भेट गरी काठमाडौँमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई पछि धकेल्न आग्रह गरेको हो ।

सरकारले सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै काठमाडौँ लगायतका २८ जिल्लामा आगामी साउन १ गतेदेखि अनिवार्य प्रयोगमा ल्याउनुपर्ने समय सीमा तोकेको छ । वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता लिनका लागि पनि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र चाहिने भएपछि समयमै राष्ट्रिय परिचयपत्र नहुँदाको अवस्थामा भत्ता नरोक्न नेताहरूले माग गरेका छन् ।

काठमाडौँका पालिकाहरूमा सीमित स्रोत, साधन रहेको र समयमै सबैलाई परिचयपत्र उपलब्ध गराउन नसक्ने भन्दै समयावधिमा पुनः विचार गर्न गृहमन्त्रीलाई आग्रह गरिएको नेता कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । उहाँले आवश्यक पर्दा समय थप गर्न आग्रह गरिएको र गृहमन्त्रीले सकारात्मक रूपमा लिनुभएको जानकारी दिनुभयो ।

नेता श्रेष्ठले भन्नुभयो, ‘‘त्यो अवधिभित्र राष्ट्रिय परिचयपत्र प्राप्त गरेर नम्बर लिन नसक्दा आजसम्म लिई आएको वृद्ध भत्ता लिन पाइएन । यो ज्येष्ठ नागरिकहरूको पीडाको विषय भयो । यसलाई व्यवहारिक गर्नका लागि आवश्यक पर्दा यसको समय थप गर्नुपर्ने स्थिति पनि हुन्छ । गृह प्रशासनले पनि यसलाई सहजीकरणका लागि गृहमन्त्रीलाई ध्यानाकर्षण गराइयो । गृहमन्त्रीले हाम्रो कुरालाई अत्यन्त सकारात्मक ढङ्गले लिनुभएको छ । कुनैपनि हालतमा व्यवहारिक रूपमा समस्या उत्पन्न हुन नदिने गरी सुझावलाई कार्यान्वयन गर्छु भन्नुभयो ।’’

उहाँले राष्ट्रिय परिचयपत्र प्रभावकारी र सहज रूपमा जनताले पाउनुपर्ने भन्दै गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने बताउनुभयो ।