• १२ साउन २०८१, शनिबार

खडेरीले बिउ सुकेपछि किसानलाई खेत बाँझै रहने चिन्ता

blog

लामो समय परेको खडेरीका कारण सुकेर नष्ट भएका जगनाथ गाउँपालिका २ का स्थानीयले राखेका धान र कोदोका बेर्ना । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, असार १० गते ।
बाजुराका अधिकांश ठाउँमा लामो समयसम्म परेको खडेरीका कारण धमाधम धानको बिउ (बेर्ना) सुक्न थालेका छन् ।

गाउँमा सिँचाइको अभाव तथा खडेरीका कारण धमाधम धानको बेर्ना सुक्न थालेपछि यहाँका स्थानीयलाई खेत बाँझो रहने चिन्ता पर्न थालेको छ ।

असार महिनामा रोप्ने गरी वैशाखमा राखेको धानको बlउ खडेरीले सुक्न थालेपछि यति बेला खेत बाँझो रहने परेको जगनाथ गाउँपालिका –२  किसान भीर्कु सार्कीले बताउनभुयो ।

उहाँले भन्नुभयो, “ समयमा वर्षा नहुँनु तथा गाउँमा भएका पानीका मुहान पनि विस्तारै सुक्न थालेपछि धमाधम धानको बीउ सुक्दै गएका छन् ।”

धारा र कुवाको पानीको जोहो गरेर वैशाखमा राखेको धानको बिउ असार नलाग्दै सुकेर नष्ट भएपछि अब खेतमा के लगाउने निकै चिन्ता परेको सार्कीले बताउनुभयो ।

लामो समय सम्म पानी नपर्दा जगनाथ गाउँपालिका–२ हुनी र लुमाका स्थानीयले राखेको कोदो र धानको बिउ सुकेर नष्ट भएका छन् ।

यहाँका स्थानीयले असार खेतमा धान रोप्न तथा साउनमा कोदो रोप्ने गरी वैशाखमा कोदो र धानको बिउ राख्ने गर्दछन् ।

हुनी र लुमाका झण्डै ३८० जना घरपरिवारले राखेको धान र कोदोको बिउ खडेरीका कारण सुकेर नष्ट भएपछि गाउँमा भोकमरी हुने सम्भावना छ ।

यहाँका स्थानीयलाई धान र कोदोको खेतीले ६ महिना खान पुग्थ्यो । यती बेला कोदो धानको बिउसमेत सुकेर खेत बाँझै रहने भएपछि गाउँमा भोकमरी हुने सम्भावना देखिएको जगनाथ गाउँपालिका –२ स्थानीय बीसु सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिउँदमा हिउँ नपर्दा गहुँ जौ सुक्या अहिले पानी नपर्दा खडेरीले धान र कोदोको बिउ सुक्यो । अनि कसरी जिउ जोगाउँनु ।”

गाउँमा सिँचाइ नहुनु र आकाशबाट पानी पनि नपर्दा धान र कोदोको बिउ सुक्दै गएपछि हुनी र लुमामा रहेको झण्डै हजारौं रोपनी जमिन बाँझो रहने चिन्ता परेको सार्कीले बताउनुभयो ।

बाजुरामा कुल खेती गरिएको क्षेत्रफलको २० प्रतिशत मात्रै जमिनमा सिँचाइ सुविधा छ  । यहाँको ८० प्रतिशत जमिनमा अहिले पनि आकाशेभरमा खेती हुने गरेको छ ।

यहाँको दुई लाख तीस हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य जमिन छ । यसमा पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्ष भरीमा सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।