• ८ पुस २०८१, सोमबार

पूर्वाधार विकासमा जमिन

blog

धर्मराज जोशी

पूर्वाधार विकासको प्रक्रियामा जग्गा प्राप्ति, पुनर्वास, तथा पुनस्र्थापनासम्बन्धी एकीकृत नीति नहुँदा विकास निर्माणका आयोजनाका लागि जग्गा प्राप्त गर्न अनेक व्यवधान खडा भइरहेका छन् । आयोजना प्रभावित समुदाय तथा परिवारको जीविकोपार्जन र पुनस्र्थापनासम्बन्धी कार्य ढिलो हुने, आयोजनाको लागत बढ्ने र अनुमानित समयमा आयोजना पूरा हुन नसक्ने समस्या निरन्तर आइरहेका छन् । कैयौँ विकासका पूर्वाधार अनन्तकालसम्म लम्बिँदा राज्य तथा समाजलाई परेको अकल्पनीय घाटा र सीमित जमिनको बहुआयामिक उपयोगको महìवलाई राज्यले खासै ध्यान दिन सकेको देखिँदैन । 

विद्यमान कानुन आफैँमा पर्याप्त छैनन् । जग्गाको मूल्याङ्कनको वैज्ञानिक विधि नहुँदा विकास निर्माणका आयोजना सञ्चालन गर्न निजी जग्गा प्राप्तिको कार्य चुनौतीपूर्ण बनेको छ । जग्गा प्राप्ति, क्षतिपूर्ति, मुआब्जा, पुनर्वास, तथा पुनस्र्थापनासम्बन्धी स्पष्ट नीति, पर्याप्त संस्थागत संरचना र सरकारी अन्तरनिकाय समन्वय अभावले आगामी दिनमा पूर्वाधार निर्माणका सन्दर्भमा भूमि व्यवस्थापन जटिल विषय बन्ने देखिन्छ । 

विद्यमान अवस्था

कुनै पनि अल्पविकसित देशले गरिबी घटाई अर्थतन्त्रका विद्यमान समस्या न्यूनीकरण गर्दै आर्थिक विकास हासिल गर्न पूर्वाधार विकासमा लगानी बढाउनुको विकल्प छैन । अन्य देशमा जस्तै नेपालमा पनि सडक, जलविद्युत् र विमानस्थल निर्माणजस्ता भौतिक विकासका गतिविधि बढ्दै जाँदा विषम भौगोलिक बनोटका कारण पनि निजी जमिनमा चाप बढ्दै गएको छ । फलस्वरूप पूर्वाधार विकासको सामाजिक तथा वातावरणीय पक्षमध्ये जमिन अधिग्रहण र जङ्गल कटानको विषय पेचिलो र जटिल बन्दै गएको छ ।

पूर्वाधार विकासका स्वप्निल आयोजना आवश्यक जमिन अधिग्रहण र जङ्गल कटानीजस्ता सबालको कारण सम्पन्न हुन सकेका छैनन् । एउटा पूर्वाधारको परियोजना– रोड, विद्युत् वा सिँचाइ –सम्पन्न गर्न औसतमा ११ वर्षभन्दा बढी लाग्ने गरेको तथ्य हाम्रासामु छ । यसमा कहीँ न कहीँ हाम्रो भूमिलाई हेर्ने दृष्टिकोण वा भूमि प्रशासन त कारक बनिरहेको छैन ? यसरी अर्थतन्त्र प्रतिस्पर्धात्मक रूपमा चलायमान हुन नसक्दा पछिल्लो आधा शताब्दीमा वार्षिक आर्थिक वृद्धिदर तथा प्रति व्यक्ति आय खासै बढेन । वैदेशिक रोजगारीमा गएका आफन्तले नेपालमा रेमिटेन्स पठाएपछि परिवारको खर्च गर्ने क्षमता ह्वात्तै बढ्यो र जीवनस्तरमा समेत नपत्याउने सुधार आयो । ह्वात्तै बढेको रेमिटेन्सका कारण उत्पादनमूलक क्षेत्रमा रोजगारी बढाउनेभन्दा पनि कम उत्पादनमूलक र तत्कालका लागि आर्थिक लाभका क्षेत्र प्राथमिकतामा परे । शिक्षा, स्वस्थ्य, राष्ट्रिय उत्पादन र पूर्वाधार विकासजस्ता सार्वजनिक सेवाको गुणस्तरमा सुधार गर्न सकेको छैन । जसका कारण देश गरिबी, बेरोजगारी र अविकासको कुचक्रमै बन्दी बनेको छ ।

कानुनी व्यवस्था

सडक, रेलवे, विमानस्थल, जलविद्युत् तथा सिँचाइजस्ता विकासका ठूला भौतिक पूर्वाधार निर्माणका लागि ठूलो मात्रामा निजी तथा सरकारी स्वामित्वमा रहेको जमिनलागयतका अन्य सम्पत्ति अधिग्रहण गर्न र उचित क्षतिपूर्ति उपलब्ध गराउन विभिन्न देशले निश्चित कानुनी तथा नीतिगत मापदण्ड तयार गरेको पाइन्छ । नेपालमा भौतिक विकासको पूर्वाधार निर्माणका लागि जमिन प्राप्त गर्ने कार्यमा सहजीकरण गर्न कानुनी व्यवस्था नभएका होइनन् । संविधानको धारा २५(२) मा सार्वजनिक हितका लागि बाहेक राज्यले कुनै व्यक्तिको सम्पत्ति अधिग्रहण, प्राप्त वा त्यस्तो सम्पत्तिउपर अरू कुनै अधिकारको सिर्जना नगर्ने र उपधारा (३) मा उपधारा (२) बमोजिम सार्वजनिक हितका लागि राज्यले कुनै पनि व्यक्तिको सम्पत्ति अधिग्रहण गर्दा क्षतिपूर्तिको आधार र कार्यप्रणाली ऐनबमोजिम हुने उल्लेख गरिएको छ । 

भूमिको वास्तविक तथा वैज्ञानिक मूल्याङ्कनका लागि छुट्टै ऐन, नीति वा नियमावली छैन । विभिन्न ऐन तथा कानुनको आधारमा जग्गाको मूल्याङ्कन गर्दा विभिन्नखाले जटिलता सिर्जना हुने गरेको पाइन्छ । ‘अचल सम्पत्ति अधिग्रहण ऐन, २०१३’ अनुसार सरकारले सार्वजनिक हितका लागि अचल सम्पत्ति अधिग्रहण गर्न सक्ने र अचल सम्पत्ति धनीलाई अधिग्रहण गरिएको सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने भएमा सहमति पत्रमा उल्लेख भएबमोजिम र सहमति नभएको अवस्थामा त्यसको मूल्याङ्कन गर्न सरकारले तोकेको अधिकारीको निर्णयअनुसार क्षतिपूर्ति उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ ।  त्यस्तै, जग्गा प्राप्ति ऐन, २०३४ अनुसार विभिन्न विकास निर्माणका दौरान अधिग्रहण गर्नुपर्ने निजी जग्गाको मूल्य निर्धारण गरी मुआब्जा दिने व्यवस्था गरिएको छ । जग्गाको मूल्य निर्धारण गर्दा जमिनको वर्तमान मूल्य, मालपोत कार्यालयले तोकेको मूल्य र स्थानीयसँगको मोलमोलाइबाट निर्धारण गरेको मूल्यलाई आधार मानिन्छ । नेपालमा भूमि मूल्याङ्कनको सर्वसम्मत सरकारी प्रक्रिया छैन । अधिग्रहण गरिएको जमिनको मुआब्जा निर्धारण गर्ने कुनै औपचारिक मापदण्ड नहुँदा प्रमुख जिल्ला अधिकारी वा सरकारले तोकेको कुनै अधिकारीको तजबिजमा जमिनको क्षतिपूर्ति उपलब्ध गराउँदा यो कार्य विवादित बन्दै गएको छ । 

समाधानको उपाय

पूर्वाधार विकासका गतिविधिमा आन्तरिक तथा बाह्य लगानी बढिरहेको यस सन्दर्भमा सुशासनसम्बन्धी संरचनागत समस्यालाई न्यूनीकरण नगरी पूर्वाधार विकासमा नेपालले फट्को मार्न सक्ने सम्भावना न्यून छ । त्यसैले जमिन अधिग्रहण र लगत्तै गर्नुपर्ने पुनर्वास तथा पुनस्र्थापना कार्यलाई सहज र न्यायपूर्ण बनाउन एकीकृत कानुन निर्माण गर्नुपर्ने आजको पहिलो आवश्यकता हो । दोस्रो, नेपालमा भूमि मूल्याङ्कनको वैज्ञानिक प्रणाली नहुँदा अधिग्रहण गर्नुपर्ने जमिन व्यक्तिको चलन भोगमा रहेको होस् या व्यक्ति वा संस्थाको सम्पत्तिका रूपमा रहेको होस्, मूल्याङ्कन एउटै गर्ने गरेको छ । त्यस्तो मूल्याङ्कनबाट परियोजना प्रभावित समुदायले अन्यायमा परेको महसुस गर्ने गरेका छन् । त्यसैले जमिन तथा अन्य अचल सम्पत्ति मूल्याङ्कनको वैज्ञानिक प्रणाली स्थापना गरी प्रयोगमा ल्याउनु पर्ने देखिन्छ । 

तेस्रो, जग्गा नापजाँच तथा त्यससम्बन्धी लगत समेत समस्याग्रस्त छन् । उपलब्ध जग्गाजमिनको आधुनिक प्रविधिमार्फत नापजाँच गरी यकिन तथ्याङ्क तयार गर्नु पनि उत्तिकै आवश्यक छ । चौथो, संविधानमा लेखिए पनि पूर्वाधार विकासको कार्यमा संस्कृतिक सम्पदासम्बन्धी प्रभावकारी नीति नियम नहुँदा अनावश्यक झमेला आइपर्ने गरेको देखिन्छ । यस्ता विषयमा स्थानीय समुदायसँग पर्याप्त संवाद गरी आवश्यक मापदण्ड तयार गर्नुपर्छ ।

पाँचौँ, आदिवासी तथा जनजाति समुदायलाई संरक्षण गर्न कुनै छुट्टै कानुनको व्यवस्था नभएकोले विकास निर्माणका बेला परियोजनासम्बन्धी उनीहरूको राय सुझाव पनि लिनुपर्ने कुरा व्यवहारमै लागू गर्नुपर्ने देखिन्छ । छैटौँ, परियोजनाका लागि वन फडानी र फडानी गरिएका विरुवाको क्षतिपूर्तिका लागि गरिने वृक्षरोपणसम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्नुपर्ने र त्यस प्रक्रियालाई सरलीकृत बनाउनुपर्ने देखिन्छ ।

जग्गा प्राप्ति ऐन, २०३४ मा व्यवस्था भएअनुरूप ‘जग्गा प्राप्ति, क्षतिपूर्ति तथा पुनस्र्थापना योजना’ त बनाइन्छ तर व्यवहारमा लागू भएको त्यति देखिँदैन । परियोजनाबाट अतिप्रभावित र कम प्रभावितलाई स्पष्ट रूपमा छुट्याउन नसक्नु, अधिग्रहण गरिने जमिनको परियोजना सञ्चालकबाट थोरै र प्रभावित समुदायबाट अधिक क्षतिपूर्तिको दाबी गरिनु र परियोजना सम्बन्धमा समुदायमाझ पर्याप्त अन्तक्र्रिया गर्न नसक्नुले नेपालको पूर्वाधार विकासका परियोजना समयमै सम्पन्न हुन नसक्ने र परियोजनाको लागत बढ्न गई अर्थतन्त्रमै आर्थिक भार पर्ने र विकासका अन्य प्राथमिकतासमेत प्रभावित हुने गरेका छन् । त्यसैले जमिनको मूल्याङ्कन तथा विकास निर्माणका लागि दिइने जमिनको मुआब्जासम्बन्धी विषयमा स्पष्ट नीतिगत तथा कानुनी व्यवस्था नभएसम्म नेपालमा विकासका पूर्वाधारको दिगो विकास हुन असम्भव प्रायः छ । 

निष्कर्ष

भूमि अधिग्रहणसम्बन्धी अस्पष्ट नीति तथा कानुनी व्यवस्था, अवैज्ञानिक भूमि प्राप्ति, त्यसको मूल्याङ्कन र क्षतिपूर्ति अर्थात् मुआब्जा दिने प्रक्रियाजस्ता महìवपूर्ण पक्षले नेपालमा विकासका पूर्वाधार निर्माणको कार्यलाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित गरिरहेका छन् । भूमि अधिग्रहण तथा मुआब्जा वितरण गर्ने कार्यमा व्यापक जनसहभागिता, सूचनामा सहज पहुँच, जग्गा प्राप्ति तथा क्षतिपूर्तिमा पारदर्शी प्रक्रिया र समुदाय तथा सरोकारवालासँग अन्तक्र्रियाजस्ता विषयमा खेलाँची गर्नु हँुदैन । नेपालको सन्दर्भमा विशेष गरेर जलविद्युत् परियोजनामा सूचना प्रवाह, निर्णय निर्माण, जनसहभागिता र समयसीमा जस्ता पक्ष विरलै मात्र पारदर्शी भएको पाइन्छ । 

Author

धर्मराज जोशी