• १४ असार २०८१, शुक्रबार

टी-२० विश्वकप : अमेरिकालाई हराउँदै साविक विजेता इङ्ल्यान्ड सेमिफाइनलमा

blog

सेन्ट भिन्सेन्ट, असार १० गते । साविक विजेता इङ्ल्यान्ड आइसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर आठअन्तर्गत ब्रिजटाउनमा आइतबार राति भएको खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हरायो । 

सुपर आठको समूह ‘बी’ मा रहेको इङ्ल्यान्डको तीन खेलबाट चार अङ्क बनाएको छ । इङ्ल्यान्डले दुई खेलबाट समान चार अङ्क बनाएको दक्षिण अफ्रिका र दुई अङ्क बनाएको वेस्ट इन्डिजलाई रनरेटमा पछि पारेर शीर्षस्थानमा रहेको छ । 

अघिल्लो चरणमा पुग्न अमेरिकालाई फराकिलो अन्तरले हराउनु पर्ने दबाबमा इङ्ल्यान्ड सफल भयो । इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टोली पनि बनेको छ । यस समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टोलीको टुङ्गो दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिचको खेलले निर्धारण गर्नेछ । 

जितका लागि अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य इङ्ल्यान्डले ९.४ ओभरमा बिनाविकटेको क्षतिमा पूरा गरेको थियो । इङ्ल्यान्डका लागि कप्तान जोस बटलरले अविजित ८३ रन बनाउनुभयो । उहाँले ३८ बलमा ६ चौका र सात छक्काको उक्त रन बनाउनुभएको हो । फिल साल्टले अविजित २५ रन बनाउनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले १८.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक ३० रन बनाउनुभयो । यस्तै कोरी एन्डरसनले २९, मर्मित सिंहले २१, स्टिभन टेलरले १२ र कप्तान आरोन जोन्सले १० रन बनाउनुभयो । 

बलिङमा इङ्ल्यान्डका चेरिस जोडर्नले चार विकेट लिनुभयो । साम कुरन र अदिल रशिदले दुई दुई तथा रिसी टोप्ले र लिभ लिभिङस्टोनले एक एक विकेट लिनुभयो ।