• १४ असार २०८१, शुक्रबार

खडेरीले पिउने पानीदेखि ब्याड हुर्काउन समस्या

blog

दिवाकर पोख्रेल

देउखुरी, असार ९ गते । लामो समयको खडेरीले जनजीवन प्रभावित भएको छ । दिउँसोको चर्को घाम र तातो हावाका कारण पानीको स्रोत सुकेपछि पिउने पानीदेखि धान लगाउन तयार पारिएको बिउ हुर्काउन समेत समस्या भएको छ । दाङको राप्ती नदीको पानी लाग्ने राप्ती गाउँपालिकाबाहेकका स्थानमा रोपाइँ सुरु नै भएको छैन । अन्यत्र धानको बिउ राखे पनि सिँचाइ गर्न नसक्दा समस्या भएको छ । लामो खडेरीले पानीका मुहान सुकेसँगै धान लगाउने किसानले खेती गर्न पाएका छैनन् । धानको ब्याड हुर्काउन समेत पानीकै अभावमा समस्या भएको किसानको गुनासो छ । लमही नगरपालिका–६ का किसान दोलबहादुर चौधरीले कुलोमा पानी नहुँदा खानेपानीको धाराबाट सामान्य छम्केर ब्याड हुर्काउने अवस्था रहेको बताउनुभयो । 

खेतीका लागि मात्रै होइन खानेपानीको पनि उत्तिकै समस्या भएको छ । दाङको लमही नगरपालिका–८, बिजुलीपुर निवासी कमल चौधरी १० वर्षअघि घरको आँगनमा इनार बनाउनुभयो । उतिबेला राम्रो पानी आयो । वैशाख, जेठ, असारमा समेत इनारमा पानी हुन्थ्यो । दुई वर्षदेखि चैत महिनामा नै इनारमा पानी सुक्न थालेको छ । 

बिजुलीपुर गाउँ ७५ घरधुरीमा फैलिएको छ । यहाँ हरेक घरमा इनार छ । आधा जति इनारमा पानी सुकेको स्थानीय राजकुमार चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पानी तान्दातान्दै इनारमा पानी सुक्ने, नुहाउँदानुहाउँदै नल्काबाट पानी नआउने समस्या सामान्य जस्तै हुन थालेको छ ।”

गाउँ छेउका खोला खाली पनि सुकेका छन् । नदीमा अघिल्ला वर्षमा पानी बग्ने खोलाखोल्सीमा अचेल पानी छैन जसको असर स्थानीयले भोग्न थालेका छन् । जमिनमुनिको पानीको सतह पनि गहिरिँदै गएको छ जसले गर्दा इनार खनेदेखि पानी नसुकेका इनारमा यसपालि पानी सुक्न पुगेको छ । गाउँघरमा पालिएका गाई, भैँसी, बाख्राले समेत पेटभरि पानी खान पाएका छैनन् ।  लमही नगरपालिका–८ भित्र पर्ने भत्तरकुण्डा, बिजुलीपुर, बाघखोली, खोलीगाउँ, दमारा, जहरे, असानी, लैलैडाँडालगायतका बस्तीका नागरिकले पिउनेपानीको समस्या भोग्नु परेको छ । परम्परागत पानीका स्रोत सुकेका छन् ।