• १४ असार २०८१, शुक्रबार

प्रविधिको सदुपयोग गरे समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री महरा

blog

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोगबहादुर महरा। तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, असार ८ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोगबहादुर महराले विज्ञान र प्रविधिको क्षेत्रमा विकास भएको सिप र क्षमतालाई सही रुपमा प्रयोग गर्न सके देशको समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ। 

दाङको घोराहीमा भएको एआईद्वारा संचालित सिप विकास र उदीयमान सञ्चार प्रविधि विषयक राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री  महराले सूचना प्रविधिका क्षेत्रमा भएको विकास र विस्तारलाई जति सक्यो उपयोग गर्दै विकासमा लाग्नुपर्ने बताउनुभएको हो। 

सिप क्षमताको विकाससँगै व्यवस्थित योजना बनाएर अघि बढ्न सके आफ्नै ठाउँमा रोजगारीसँगै अवसर सिर्जना गर्न सकिने भन्दै मुख्यमन्त्री महराले भन्नुभयो, ‘पछिल्लो समय विकास भएको सूचना र प्रविधिलाई कसरी सही ढंगले प्रयोग गर्न सकिन्छ, त्यसमा नयाँ पुस्ताले ध्यान दिनुपर्छ।’ 

बदलिएको शिक्षा प्रणालीलाई आत्मसाथ गर्दै नयाँ पुस्तालाई गुणस्तरीय शिक्षा दिन सके शिक्षाको जग बलियो हुने उहाँको भनाइ छ। पहिले सबैका लागि शिक्षा भने जस्तै अहिले सबैका लागि गुणस्तरीय शिक्षा भन्ने नारा भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि महराले भन्नुभयो,‘अहिलेको विकासित प्रविधिसँग शिक्षालाई जोडिएर अघि बढ्न सकिएन भने गुणस्तरीय शिक्षा हासिल गर्न सकिदैन।’ 

घोराहीमा रहेको राप्ती इञ्जिनियरिङ कलेज, सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टर काठमाडौँ र स्वर्गद्वारी सामुदायिक अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा एआई प्रविधिमा आधारित राष्ट्रिय सम्मेलन आयोजना भएको हो। 

सम्मेलनमा लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार रेग भण्डारीले मुख्य कार्यपत्र प्रस्तुत गर्दै एआईको पछिल्लो विकास र नयाँ सम्भावनाले विकासका सम्भावना देखाएको बताउनुभयो।

सञ्चारको क्षेत्रमा भएको क्रान्ति र कृत्रिम बौद्धिकताको शक्तिलाई उपयोग गर्दै शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा प्रवाह र आर्थिक विकासमा सहयोग पुग्ने भएकाले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ।

सम्मेलनमा नेपाल टेलिभिजनका कार्यवाहक नायव महाप्रबन्धक इन्जिनियर चिन्तामणि बराल, राप्ती इन्जियरिङ कलेजका कार्यकारी निर्देशक एवं सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टरका सीईओ डा. शैलेन्द्र गिरी, पोष्टडक्टरल रिसर्च एशोसियट नर्थन गल्फ इन्टिच्युट मिसिसिप्पी स्टेट युनिभर्सिटी अफ अमेरिकाका डा. चिरञ्जीवी शाह, नेपाल टेलिकमका इन्जिनियर कविराज यादवलगायत विषयविज्ञले कार्यपत्र प्रस्तुत गर्नुभएको छ।