• १४ असार २०८१, शुक्रबार

योगलाई धर्म र जातमा सीमित गर्नु हुँदैन : अध्यक्ष ओली

blog

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौँ, असार ७ गते। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्नु नहुने बताउनुभएको छ। 

शुक्रबार १० औं विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले योग नेपाल भूमिबाट नै सुरु भएको उल्लेख गर्दै योग कुनै धर्म, जाति, भूगोल र राजनीतिक विचार धारामा सीमित नहुने बताउनुभयो। उहाँले योगलाई मानव जातिको कल्याणका रुपमा विकास गर्नुपर्ने बताउनुभयो। उहाँले योग मानव समाजव्यापी हुन जरुरी रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘योग यसै भूमिबाट सुरु भएको थियो। हजारौँ वर्षअघि। मैले आफ्ना अघिल्ला मन्तव्यमा पनि योगको सुरुवात र विकासको सन्दर्भमा केही आफ्ना विचार राखेको थिएँ। आदि योगी शिवबाट योग सुरु भएको थियो। योग कुनै धर्म विशेषसँग, कुनै जाति वा भूगोल विशेषसँग, कुनै राजनीतिक विचार धारासँग सीमित छैन। यो सम्पूर्ण मानव जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको छ। एउटा यस्तो विधा हो, जो अत्यन्त वैज्ञानिक ढंगले सुरु भएको थियो। अहिले योग भ्रान्तिबाट मुक्त, मानवीय हित र कल्याणका लागि सम्पूर्ण रुपमा समर्पित, व्यापक र विस्तृत हुनु जरुरी छ। मानव समाजव्यापी हुन् जरुरी छ। कुनै धर्म विशेषसँग सीमित गरेर समग्र मानव जातीको कल्याणका निम्ति मानवव्यापी यसको दायरालाई सीमित गर्नु हुँदैन। यस धर्मसँग सम्बन्धित छ भनेर अरु धर्मलाई अलग गर्नु हुँदैन। मानव जातीको शरीर स्वस्थ रहोस्, मष्तिस्क स्वस्थ रहोस् भन्नेकुरासँग सम्बन्धित छ।’

अध्यक्ष ओलीले चित्त निरोधक नै योग रहेको बताउनुभयो। योग भनेको अनुशासित र पवित्र जीवन रहेको बताउनुभयो। उहाँले योगको बाटोमा लाग्न र फैल्याउन आग्रह गर्नुभयो।