• १४ असार २०८१, शुक्रबार

क्षमताभन्दा बढी कैदी हुँदा भैरहवा कारागारमा समस्या

blog

भैरहवामा रहेको जिल्ला कारागार रुपन्देही । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल 

भैरहवा, असार ७ गते । जिल्ला कारागार रुपन्देहीमा कैदीबन्दीको अत्यधिक चापले व्यवस्थापनमा समस्या देखिएको छ । क्षमताभन्दा चार गुणा बढी कैदी हुँदा महामारीजन्य रोगको जोखिम बढेको छ भने आन्तरिक व्यवस्थापनमा पनि समस्या हुने गरेको छ ।

कैदीको चापले बेलाबेलामा कदी बन्दीबिचमै झै झगडा समेत हुने गरेको छ । अहिलेको चर्को गर्मीले झन् बढी समस्या निम्त्याएको कारागार व्यवस्थापनले जनाएको छ । साँघुरो भवनमा भेडाबाख्रा जस्तै अत्यधिक कैदीबन्दी राख्ने गरिएको छ । कारागारको क्षमता एक सय जनाको हो । तर, दैनिक चार सय ५० देखि पाँच सय जनासम्मको सङ्ख्यामा राख्ने गरिएको छ ।

कारागार प्रमुख जगतबहादुर बस्नेतले सानो ठाउँमा धेरै थुनुवा हुनुले सुरक्षा चुनौती भएको र बन्दीबिच आपसमा कहिलेकाँही कुटपिट हुने गरेको बताउनुभयो । "केही समय पहिले कैदी बन्दीबिच आपसमा कुटपिट हुँदा केही घाइते समेत भएका थिए," बस्नेतले भन्नुभयो, "गर्मीयामको बेलामा विभिन्न संक्रामक रोगको महामारी पनि फैलिने गरेको छ।"

मिलाएर राख्दाराख्दै पनि सबैको चित्त बुझाउन नसकिने भएपछि कैदी÷बन्दीबिच आपसमा झैझगडा र मारपिट हुने खतरा तथा सम्भावना जहिले पनि रहेको उहाँले बताउनुभयो।

कारागार प्रशासनका अनुसार कोचाकोच गरेर एकै ठाउँमा राख्नुपर्दा उनीहरुमा छालाको सङ्क्रमण र भाइरल ज्वरोको प्रकोप देखिने गरेको छ । "सामान्य उपचार कारागार भित्रै हुने गरेपनि अलि जटिल अवस्था भएकालाई नजिकका अस्पताल लैजाने गरेका छौं," बस्नेतले भन्नुभयो, "भैरहवामा गर्मी धेरै हुने भएकाले बढी भाइरलको समस्या देखिने गरेको छ ।"

उक्त कारागार परिसरमा चारैतर्फ सुरक्षा पर्खाल नहुँदा सुरक्षा अवस्था पनि निकै संवेदनशील बनेको छ । सामान्य जालीले कारागारलाई घेरिएको छ । काँडेतार समेत नहुँदा कैदीबन्दी भाग्ने र अन्य भित्र–बाहिर दुवैतर्फबाट आपराधिक क्रियाकलाप हुनसक्ने जोखिम छ ।

कारागार मर्मत गरी सुरक्षा व्यवस्था बलियो बनाउनेतर्फ सम्बन्धित निकायको खासै ध्यान जाने गरेको छैन । कारागार भित्र कहिलेकाहीँ त राख्ने ठाउँ नभएर प्रहरी कार्यालयहरुमा लगिने गरेको बस्नेतले बताउनुभयो । कारागारलाई सुरक्षा पर्खाल लगाएर वा अन्यत्र स्थानान्तरण गर्न भनेर कारागार व्यवस्थापन विभागसँग पत्राचार गरिएको छ । अहिलेसम्म दुइवटै काम अगाडि बढ्न सकेको छैन । कारागार परिसरमा ढल निकास भएकाले दुर्गन्धित छ । वर्षा याममा डुबानमा पर्छ । ९० वर्ष पूरानो भवन जीर्ण बनेकाले ठाउँ–ठाउँमा भत्किने, चुहिने र बिरुवा उम्रिने गरेका छन् ।

वि.सं १९९० सालमा स्थापना भएको भैरहवास्थित कारागार एक बिघा सात कठ्ठा क्षेत्रफलमा फैलिएको छ । भैरहवा बजारको बिच भागमा रहेको उक्त कारागारको थप क्षेत्रफल विस्तार गर्न पनि सकिँदैन ।