• १३ असार २०८१, बिहिबार

डेल्टामार्टमा आगलागी हुँदा करिब ४५ करोडको क्षति

blog

डेल्टामार्टमा भएको आगलागी । तस्वीरः गोरखापत्र

छविलाल पाण्डे 

बुटवल, असार ७ गते । बुटवलको मिलनचोकमा रहेको डेल्टा एजुकेसन मार्टमा बिहीबार साँझ भएको आगलागीबाट करिब ४५ करोड रुपियाँ बराबरको क्षति भएको छ । 

बिहीबार साँझ ७ बजेतिर सुरु भएको आगलागी ५ घण्टापछि नियन्त्रणमा आएको थियो । डेल्टामार्ट फलामै फलामबाट बनेको भवनको तेस्रो तलाबाट सुरु भएको आगलागी निभाउन बुटवल उपमहानगरपालिका, गौतमबुद्ध विमानस्थल, रुपन्देहीका विभिन्न पालिका, कपिलवस्तु र पश्चिम नवलपरासीका गरी १२ वटा दमकल प्रयोग गरिएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आगलागीबाट करिव ४५ देखि ५० करोड बराबरको भौतिक क्षति भएको छ । मार्टको तेस्रो तलामा किताब, कापीसहित स्टेशनरी सामान र खेलकुदका सामान, दोस्रो तलामा कपडा तथा स्कुल कलेजका विद्यार्थीका तयारी ड्रेस र भुइँतलामा नेपाली कम्पनीका जुत्ता र ग्रोसरी सामान थिए । 

विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । डेल्टामार्टको वरिपरि बाक्लै घर र पेट्रोल पम्पसमेत भएकाले आगो बस्तीमा फैलिने डर थियो । समयमै दमकल पुगेपछि आगो नियन्त्रणमा आएको प्रहरीको भनाइ छ ।   

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आगलागी नियन्त्रणमा आउन करिब ५ घण्टा लागेको बताउँदै आगलागीबाट करोडौंको भौतिक क्षति भएको जानकारी दिनुभयो ।