• १२ असार २०८१, बुधबार

‘राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ’

blog

नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल

काठमाडौँ, असार ३ गते । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको आगामी महाधिवेशनमा वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा पार्टीको नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार अखिल नेपाल महिला सङ्घ (समाजवादी)को वैचारिक मुखपत्र महिला सङ्कल्प–२ को विमोचन समारोहलाई सम्बोधन गर्नुहुँदै सम्मानित नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले पार्टीको आगामी महाधिवेशनबाट सहमतिमा नेतृत्व चयन गर्नुपर्ने भन्दै निश्चित आधारमा मात्रै सहमतिमा नेतृत्व चयन हुनसक्ने बताउनुभयो ।

उहाँले नेताहरुको टाउको जोडेर मात्रै सहमति नहुने भन्दै वैचारिक, राजनीतिक कार्यदिशा तथा नीति र सिद्धान्तमा आधारित भएर पार्टीको नेतृत्वका लागि सहमति गर्नुपर्ने बताउनुभयो । उहाँले सहमतिमा नेतृत्व चयन गर्नका लागि सबैले प्रयत्न गर्नुपर्ने बताउनुभयो ।

‘‘नेतृत्व निर्माण गर्ने भनेको कमरेडहरुले भनेजस्तै एकदमै सहमतिका साथ नेतृत्व निर्माण गर्नुपर्छ । तर सहमति भनेको के त ? सहमति भनेको केमाथि आधारित हुन्छ ? यसो हामीले टाउका जोडेर हुन्छ कि ? अङ्कमाल गरौँ कमरेडहरु भनेर हुन्छ कि ? केले हाम्रो एकता गर्छ ? तपाईं हामी सबै के आधारले यहाँ जुटेका छौँ ? हामी जुटेको भनेकै एउटा वैचारिक, राजनीतिक कार्यदिशाको आधारमा, नीतिको आधारमा, सिद्धान्तको आधारमा, एउटा लक्ष्यको आधारमा तपाईं हामी जुटेका छौँ । पार्टी भनेको त्यस्तै हो ।,’’  सम्मानित नेता खनालले भन्नुभयो, ‘‘त्यो निश्चित आदर्श, सिद्धान्त, नीतिको आधारमा हुने कुरा हो । त्यसरी नै नेतृत्व निर्माण पनि सही वैचारिक, राजनीतिक, आधारमा हुन्छ । सहमतिका साथ गर्नुपर्छ, एकदम ठिक हो । तर त्यो सहमति केमाथि आधारित हुनुपर्‍य ाे ? वैचारिक, राजनीतिक कार्यदिशा, नीति, सिद्धान्तमाथि आधारित हुनुपर्‍यो । त्यस्तो आधारित सहमतिको नेतृत्व निर्माण गर्‍यौँ भने त्यो सुनमा सुगन्ध हुन्छ । त्यसकारण सुनमात्रै नबनाऔँ । सुगन्ध आउने सुन बनाऔँ । त्यसका लागि हामी सबैले प्रयत्न गर्नुपर्ने हुन्छ । सबैले प्रयत्न गर्‍यौँ भने सुनमा सुगन्ध आउँछ ।’’

सम्मानित नेता खनालले हाल पार्टीभित्र ८ प्रतिशत मात्रै महिला सदस्यहरु रहेको भन्दै धेरैभन्दा धेरै महिला तथा श्रमिक महिलाहरुलाई पार्टीमा सङ्गठित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।