• १२ असार २०८१, बुधबार

ग्रामीण कच्ची सडक कालोपत्रे

blog

कालोपत्रे गरिएको सडक । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, असार ३ गते । घर अगाडीको सडक कच्ची भएको कारण वर्षौँदेखि बर्खायाममा हिलो र हिउँदमा धुलाम्मे भएर सास्ती भोगेकी बेनी नगरपालिका ६ डाँडावारीकी शोभा महत केसी सडक कालोपत्रे भएपछि खुसी हुनुहुन्छ । कच्ची सडकका कारण वर्षौँदेखि सास्ती भोग्दै आएका थियौँ, उहाँले भन्नुभयो, "अहिले घर अगाडीको सडक कालोपत्रे भएर चिल्लो भएको छ । धुलो र हिलोबाट मुक्ति पाएका छौँ ।"

यस्तै, बेनी नगरपालिकाकै वडा नम्बर ६ बास्कोटका पशुपालक कृषक दुर्गाप्रसाद पौडेललाई दैनिक रूपमा बेनी बजारमा दूध पुर्‍याउन कच्ची सडकका कारण सास्ती थियो । अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक योजना अन्तर्गत बास्कोटमा सडक कालोपत्रे भएसँगै पौडेललाई बजारमा दूध पुर्‍याउन सहज भएको छ । कच्ची सडकका कारण धेरै वर्ष सास्ती भोग्यौँ कृषक पौडेलले भन्नुभयो, "अहिले सडक कालोपत्रे भएपछि यात्रा सहज भएको छ । सडक कालोपत्रे भएसँगै यस भेगका पशुपालक कृषकहरू खुसी भएका छन् ।"

बेनी नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको लागत साझेदारीमा ग्रामीण सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्रे गरेपछि ग्रामीण भेगका स्थानीयहरूलाई आवतजावतमा सहज भएको हो ।  

बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारसँगको साझेदारीमा नगर क्षेत्रका विभिन्न स्थानहरूका ६ वटा सडक योजनाहरूमा गरेर दुई किलोमिटर ८४ मिटर सडक प्रिमिक्स प्रविधिको कालोपत्रे र एक किलोमिटर एकसय मिटर सडक ढलान गर्ने योजना सञ्चालन गरेको बेनी नगरपालिकाका इन्जिनियर दीपेश केसीले जानकारी दिनुभयो।  

अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक स्तरोन्नति योजना अन्तर्गत बास्कोटदेखि माथि तीन सय २६ मिटर सडक कालोपत्रे र ७५ मिटर ढलान गरेको छ । गण्डकी प्रदेश सरकारको लागत साझेदारीमा ५९ लाख ५२ हजार रुपियाँ बजेटबाट यो सडक स्तरोन्नति  सम्पन्न भएको इन्जिनियर केसीले बताउनुभयो । 

बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर वडाका बस्तीहरूलाई जोड्ने महारानीथान–छापा–डाँडाखेत सडक योजनामा ५९ लाख ८५ हजार रुपियाँको बजेटबाट वडा नम्बर ६ को ढलेढुङ्गा–डाँडावारी खण्डमा चारसय ५२ मिटर कालोपत्रे र एकसय ३० मिटर सडक ढलान गरिएको छ । 

इन्जिनियर केसीका अनुसार सिंगास्थित वडा नम्बर ४ को वडा कार्यालय जाने एकसय ६४ मिटर सडक १३ लाख रुपियाँ लागतमा कालोपत्रे गरिएको छ । नगरपालिकाले २५ लाख ६८ हजार रुपियाँको बजेटबाट तातोपानी बजारमा तीनसय ६ मिटर सडक कालोपत्रे गरिएको इन्जिनियर केसीले जानकारी दिनुभयो । 

यसैगरी एक करोड ३४ लाख रुपियाँ लागतमा बेनी–पाखापानी सडक योजना अन्तर्गत वडा नम्बर ६ अर्थुङ्गेको एक्लेपिपलदेखि वडा नम्बर ९ को सिमाना किरोखोर सम्मको सडक चौढा, ग्रेड मिलाउने, नाली निर्माण, ग्यावियन झ्याली लगाउने लगायतका कामहरू गरेर सात सय मिटर कालोपत्रे र पाँचसय मिटर ढलानको तयारी गरिएको छ । यो योजना असार मसान्तभित्रमा सम्पन्न गर्ने तयारी छ । 

सडक बोर्डको बजेटबाट सङ्गमचोक–हुलाचोक–हुँदै पुलाचौर सडक योजना अन्तर्गत एक सय ३२ मिटर कालोपत्रे र चारसय मिटर ढलान गर्ने योजना रहेको बेनी नगरपालिकाका इन्जिनियर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यस योजना अन्तर्गत जीर्ण र जोखिमयुक्त सडक रहेको पुरुन्डे, एकपाटे र अवैचौरमा सडक ढलान हुनेछ । योजनामा करिब ६० प्रतिशत भौतिक प्रगति हासिल भएको र असार मसान्त भित्र योजना सम्पन्न हुने उहाँले बताउनुभयो । 

ग्रामीण कच्ची सडकहरू स्तरोन्नति भएसँगै सर्वसाधरणहरुको यात्रा सहज हुनथालेपछि स्थानीय तहप्रति जनताको आशा बढेको बेनी नगरपालिका ६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले बताउनुभयो । उहाँका अनुसार ती सडकहरू डेढ दशक पहिला ट्रयाक खुलेका थिए । 

बेनी नगरपालिकाले ग्रामीण कच्ची सडकहरूको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर सङ्घीय र प्रदेश सरकारसँगको साझेदारीमा योजनाहरू सञ्चालन गरेको नगरप्रमुख सुरत केसीले बताउनुभयो । उहाँले भन्नुभयो, "विकासको पहिलो आधार नै सडक पूर्वाधार भएकाले नगर क्षेत्र भित्रका ग्रामीण कच्ची सडकहरूको स्तरोन्नति योजनालाई मुख्य प्राथमिकतामा राखेर नीति,कार्यक्रम र योजना बनाएका छौँ । सडक स्तरोन्नति भएसँगै सर्वसाधारण आवतजावत गर्न र  स्थानीय उत्पादनको बजारीकरणमा सहज हुने अपेक्षा छ ।"