• ९ असार २०८१, आइतबार

नयाँ रक्तदाता खोज्नुपर्ने बाध्यता

blog

घोराही समाचारदाता

घोराही, असार २ गते । दाङमा रगत खपत बढ्दा नयाँ रक्तदाता खोजी गर्नुपर्ने चुनौती देखिएको छ । जिल्लामा नियमित रूपमा रक्तदान गर्ने रक्तदाता कम हुँदा रगतको आवश्यकता पूरा गर्न जिल्लामा नयाँ रक्तदाताका लागि कार्यक्रमहरूको भर पर्नुपर्ने अवस्था छ ।

अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा नियमित रक्तदानबाट रगत आपूर्ति धान्न नसक्ने भएपछि नयाँ रक्तदाताको खोज्नुपर्ने अवस्था रहेको रक्तसञ्चार केन्द्र दाङका वरिष्ठ प्राविधिक ठाकुर पौडेल बताउनुहुन्छ । 

उहाँका अनुसार जिल्लामा वार्षिक करिब छ हजारदेखि ६५ सय पिन्ट रगत माग छ । जिल्लामा बर्सेनि रगत माग बढ्दै गए पनि रक्तदाताको सङ्ख्या भने त्यस अनुपातमा बढ्न सकेको छैन । यसले गर्दा विभिन्न कार्यक्रममार्फत रक्तदाता खोजी गर्नुपर्ने चुनौती देखा परेको वरिष्ठ प्राविधिक पौडल बताउनुहुन्छ । 

उहाँका अनुसार जिल्लामा नियमित र विभिन्न कार्यक्रममार्फत रक्तदान गर्ने रक्तदाताको सङ्ख्या करिब पाँच हजार रहेको छ । त्यसमा नियमित रूपमा प्रत्येक तीन/तीन महिनामा रक्तदान गर्नेको सङ्ख्या ३५/४० मात्रै रहेको रक्तसञ्चार केन्द्र दाङका वरिष्ठ प्राविधिक पौडेलले बताउनुभयो । पौडेलका अनुसार जिल्लामा रक्तदान गर्नेमा महिलाको तुलनामा पुरुष धेरै छन् । रगतको माग भने पुरुषको तुलनामा महिलालाई बढी हुने गरेको छ । 

जिल्लामा विशेष गरेर रगत आपूर्तिका लागि सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रममै रगत सङ्कलन हुने गरेको वरिष्ठ प्राविधिक पौडेलले बताउनुभयो । नियमित रक्तदान गर्नेभन्दा पछिल्लो समय जिल्लामा नयाँ रक्तदाता थपिने क्रम बढेको भन्दै उहाँले भन्नुभयो, “चेतनाको अभावसँगै स्वास्थ्यको समस्याले गर्दा जिल्लामा नियमित रक्तदान गर्ने सङ्ख्या धेरै छैन, रगतका लागि नयाँ रक्तदाता नै मुख्य आधार हुने गरेका छन् ।” 

सङ्घसंस्था, विद्यालयको स्थापना दिवससँगै विशेष समारोहलगायतका अवसरमा धेरै जसो रक्तदान हुने गरेका छन् । त्यसका साथै जन्मदिनका अवसरमा रक्तदान गर्ने पनि पछिल्लो समय बढेको पौडेल बताउनुहुन्छ ।

रक्तसञ्चार केन्द्रका अनुसार जिल्लामा गत वर्ष जिल्लामा पाँच हजार तीन सय ३८ पिन्ट रगत सङ्कलन भएको थियो । यसमा लमही सेवा केन्द्रबाट ६९३ पिन्ट, तुलसीपुर सेवा केन्द्रबाट एक हजार ७४५ पिन्ट र घोराही सेवा केन्द्रबाट दुई हजार नौ सय पिन्ट रगत सङ्कलन भएको छ । त्यसबाट पाँच हजार पाँच सय पिन्ट रगत वितरण गरिएको वरिष्ठ प्राविधिक पौडेल बताउनुहुन्छ । उहाँका अनुसार यो वर्ष हालसम्म चार हजार ८१ पिन्ट रगत सङ्कलन भएकोमा करिब चार हजार पाँच सय पिन्ट रगत बिरामीलाई वितरण गरिएको छ । 

जिल्लामा बिरामीसँग एक हजार रुपियाँ सहयोगस्वरूप लिने गरिएको रक्तसञ्चार केन्द्रले जनाएको छ । जिल्लामा सङ्कलित रगतबाट ब्लड कम्पोनेन्ट मेसिनमार्फत बिरामीको माग अनुसार रगत विभाजन गरेर दिने व्यवस्था भएकाले पछिल्लो समय रगतको अभाव नहुने गरेको वरिष्ठ प्राविधिक पौडेल बताउनुहुन्छ । 

प्रदेश सरकारले तीन वर्षअघि रक्तसञ्चार केन्द्रलाई ब्लड कम्पोनेन्ट मेसिन उपलब्ध गराएपछि हाल बिरामीलाई आवश्यक पर्ने रगत विभाजन गरेर आवश्यकता अनुसार दिन सकिने भएको उहाँले बताउनुभयो । रगतको माग बढ्दो अवस्थामा रहेकाले जिल्लाभरका बिरामीका लागि एउटा मात्रै मेसिन भएको हुँदा कुनै दिन मेसिन बिग्रिन पुगे समस्या हुने अवस्था छ । थप अर्काे मेसिन ल्याउन स्थानीय तथा प्रदेश सरकारबाट सहयोगका लागि पहल भइरहेको उहाँले बताउनुभयो ।