• १२ साउन २०८१, शनिबार

थारु कला संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता

blog

थारु समुदायको बर्का नाच देखाउँदै नयाँ पुस्ता । तस्वीरः लीलाधर वली

लीलाधर वली

घोराही, जेठ ३२ गते । दाङमा थारु समुदायको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय जिल्लामा हुने विभिन्न कार्यक्रममा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि नयाँ पुस्ता कला र संस्कृति संरक्षणसँगै विकासमा जोडिएका छन् ।

कला संस्कृतिको संरक्षण र विकास लाग्दा आम्दानी हुन थालेपछि घोराही उपमहानगरपालिका –१७ निवासी सिर्जना चौधरी जिल्लामा हुने विभिन्न सभा सम्मेलनमा नृत्यका लागि जान थालेको बताउनुभयो । 

विद्यालयहरुको वार्षिकोत्सवसँगै जिल्लामा हुने विभिन्न कार्यक्रममा थारु जातिसँग सम्बन्धित नृत्यको माग बढ्न थालेपछि गाउँमा समूह बनाएर सहभागी हुने गरेको उहाँको भनाइ छ । 

घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत चौधरी गाउँमा महिला तथा पुरुष मिलेर समुह बनाएर फुर्सदको समय विभिन्न थारु नृत्य सिक्नेसँगै कार्यक्रममा सहभागी हुने गरेको बताउनुभयो । 

कार्यक्रममा मागअनुसारको नृत्य देखाउने गरेको भन्दै चौधरीले भन्नुभयो, ‘धेरैजसो कार्यक्रममा कुन नाच हो, त्यो पहिले नै भन्नुभएको हुन्छ । त्यहीअनुसार तयारी गरेर जाने गरेका छौं ।’ आफूले जानेका नृत्य नाच्ने र नजानेका नृत्यहरु सिकेर सहभागी हुने गरेको उहाँले बताउनुभयो । यसरी नाच्ने काम गर्दा आफ्नो कला र संस्कृतिबारेमा थप ज्ञानसँगै केही आम्दानी हुने गरेको बताउनुभयो । 

सिर्जनाजस्तै घोराही उपमहानगरपालिका –१७ का दिपक चौधरी पनि नृत्यका माध्यमबाट आफ्नो समुदायको कला संस्कृति संरक्षणमा जुट्नुभएको छ । आफ्नो मौलिक पहिचानका रुपमा रहेका थारु भेषभुषा लगाएर कार्यक्रममा सहभागी हुनेदेखि समूहमा नृत्य गर्ने गरेको बताउनुभयो । 

अग्रजबाट सिकेर अहिले साथीसँगै जिल्लामा हुने विभिन्न कार्यक्रममा बड्का नाच, छोक्रा नाच, सख्या नाच सिक्दै नाच्ने गरेको भन्दै यसले आफुलाई उत्साहित बनाएको बताउनुभयो । आधुनिकताका नाममा आफ्नो मौलिक कला संस्कृति, भेषभुषा हराउँदै गएको समयमा आफ्नो मौलिक भेषभूषासँगै नृत्यमा सहभागी भएर अरुलाई देखाउन पाउँदा खुसी लागेको उहाँको भनाइ छ । 

नृत्यप्रतिको सानैदेखिको रहरले पनि अहिले साथ दिएको भन्दै उहाँले भन्नुभयो, ‘अग्रजले बचाएको मौलिक कला संस्कृति हाम्रो पहिचान हो । यो पहिचानलाई बचाउन हाम्रो पुस्ता लाग्नुपर्छ भनेर जुटेका छौं ।’ पहिले सुरु–सुरुमा नाच्न मन लागे पनि लजाउने भए पनि अहिले बानी परेर कुनै सङ्कोच नहुने उहाँले बताउनुभयो ।  

थारु समुदायका विभिन्न नृत्यहरु सिक्दै नाच्ने भएकाले अग्रजदेखि नयाँ पुस्तासम्म समुहमा आबद्ध भएर नृत्य सिक्नेदेखि अवसर प्राप्त भएको ठाउँमा पुगेर नृत्य देखाउने गरेको उहाँले बताउनुभयो । कला र संस्कृतिप्रतिको रहरले आफु गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको घोराही उपमहानगरपालिका –१७ ढिकपुर निवासी अनिता चौधरीले बताउनुभयो । 

आफ्नो कला संस्कृतिको ज्ञानसँगै अपनत्व महसुस हुने गरेको उहाँले बताउनुभयो । थारु बस्ती बाक्लो भएको गाउँबाट प्राय युवायुवतीदेखि पाको उमेरका मानिसहरु समेत कार्यक्रम तथा मेला महोत्सवमा सहभागी हुनेक्रम पहिलेको तुलनामा पछिल्लो समय बढेको थारु समुदायका अगुवा चन्द्रप्रसाद चौधरीको भनाइ छ । 

उहाँका अनुसार जिल्लामा हुने विभिन्न कार्यक्रममा नृत्य देखाउनेसँगै पाहुनाको स्वागतमा थारु समुदायको कला संस्कृतिलाई देखाउने गरिएको छ । थारु समुदायको मौलिक संस्कृतिका रुपमा रहेको मघौटा, बड्का, झुम्रालगायत विभिन्न नाचलाई कार्यक्रममा प्रस्तुत गर्ने अवसरसँगै नयाँ पुस्ताको अग्रसरताले ओझेलमा परेको थारु संस्कृति संरक्षणमा सघाउ पुगिरहेको उहाँको भनाइ छ ।