• ९ साउन २०८१, बुधबार

स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल

blog

स्वास्थ्य चौकीको ‘फ्रिज’ मा भेटिएका बियरका बोतलहरू । तस्बिर: गोरखापत्र

शिवराज ढुङ्गाना 

अछाम, जेठ ३२ गते । अछाम, खोप लगायत स्वास्थ्य सामग्रीलाई राख्न प्रयोग गरिएको अछामको मष्टाबण्डाली स्वास्थ्य चौकीको ‘फ्रिज’ मा मादक पदार्थ बियरका बोतल भेटिएका छन् । कमलबजार नगरपालिका–९ मष्टाबण्डाली स्वास्थ्य चौकीमा स्थानीयको एक समूहले गएर हेर्दा ‘फ्रिज’ मा तीन वटा बियरका बोतल राखेका पाइएको हो । 

उक्त स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीले बियरका बोतल राखेको नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीय अगुवाले बताउनुभयो । स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल भेटिएको भिडियो सामाजिक सञ्जालमा आएपछि चौतर्फी विरोध भएको छ । बियरका बोतल राख्नमा संलग्नलाई कानुनी कारबाहीको माग गरिएको छ । वडा अध्यक्ष कमल भण्डारी आज नै स्वास्थ्य व्यवस्थापन समितिको बैठक बसेर आवश्यक निर्णय लिइने बताउनुभयो ।

स्वास्थ्य चौकीको ‘फ्रिज’ बियरका बोतल राखेको बारेमा आफूले मिडियाबाट जानकारी पाएर अचम्ममा परेको कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर विष्टले जानकारी दिनुभयो । केही समयअघिबाट नै स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल राख्ने गरेको कुराहरू बाहिरिँदै आएको बताइएको छ ।