• २९ वैशाख २०८२, सोमबार

पर्यटकीय गन्तव्य धुलिखेल र नगरकोट

blog

काभ्रेपलाञ्चोक सङ्घीय राजधानी काठमाडौँबाट नजिकैको पर्यटकीय गन्तव्यका रूपमा परिचित जिल्ला हो । विशेष गरी धुलिखेल र नगरकोट स्वदेशी तथा विदेशी पर्यटकको रोजाइको गन्तव्यका रूपमा पर्दै आएका छन् । जिल्लाको बनेपा, पनौती नगरपालिकामा पर्ने बल्थली, बेथानचोक नारायणस्थान, नमोबुद्ध, दोलालघाटलगायतका स्थान पर्यटकीय गतिविधि हुने स्थान हुन् । 

विशेष गरी जिल्लाको धुलिखेल र नगरकोटले अन्य क्षेत्रका तुलनामा सबैभन्दा बढी पर्यटक आउने स्थानका रूपमा परिचय बनाएका छन् । धुलिखेल, नगरकोट, बनेपामा पछिल्लो समय अबौँ रुपियाँ लगानी गरेर बुटिक तथा स्टार लेबलका, चेन होटेल सञ्चालनमा छन् । काभ्रेपलाञ्चोकका नगरकोट, धुलिखेललगायतका स्थानमा सञ्चालित होटेलमा सयौँ नागरिकले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् भने होटेलले करोडौँ रुपियाँ बराबरको राजस्व (कर) राज्य, स्थानीय सरकारलाई तिर्दै आएका छन् । 

होटेल सङ्घ नेपाल काभ्रेपलाञ्चोकका सदस्य तथा होटेल सारथि धुलिखेलका सञ्चालक प्रह्लाद प्याकुरेल धुलिखेलमा ठुलासाना गरी ५४ वटा होटेल सञ्चालनमा रहेको बताउनुहुन्छ । करिब एक वर्षअघिको तथ्याङ्क अनुसार धुलिखेलबाहेक पनौती नगरपालिकामा सात, नमोबुद्धमा पाँच, पाँचखालमा तीन, दोलालघाटमा आठ र बनेपा नगरपालिकाभित्र छ वटा होटेल सञ्चालनमा छन् । धुलिखेलमा दूषित थानी हिमालयन रिसोर्ट (चेन होटेल), होटेल द्वारिकाज, होटेल सारथि, धुलिखेल लज एन्ड रिसोर्ट, मिराबेल, स्काई गार्डेन रिसोर्ट, बनेपामा आगन्तुक रिसोर्ट हिमालय दृश्य, पाँचखालमा धुलिखेल माउन्टेन रिसोर्ट, पनौतीमा बल्थली, बल्थली माउन्टेन, थुम्की, हायमन्ड हिल रिसोर्ट जस्ता ठुला होटेल सञ्चालनमा छन् । 

प्याकुरेलले धुलिखेलमा (दूषित थानी) बाहेक अन्य होटेल तथा रिसोर्टमा साढे १२ अर्बभन्दा बढी रुपियाँ होटेलको पूर्वाधारलगायतमा लगानी भएको बताउनुभयो । धुलिखेलमा सञ्चालनमा रहेका होटेल तथा रिसोर्टबाट एक हजार २७५ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । धुलिखेलमा सञ्चालनमा रहेका होटेल तथा रिसोर्टले राज्यलाई वार्षिक २८ करोडभन्दा बढी राजस्व तिर्ने गरेका छन् । 

पछिल्लो समय धुलिखेलमा बुटिक तथा स्टार तहका होटेल थपिने क्रम बढेसँगै पाँच वटा होटेल निर्माणाधीन अवस्थामा छन् । स्वच्छ वातावरण, सङ्घीय राजधानीनजिक, सहज पहुँच भएका कारण धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण रहेको प्याकुरेलले बताउनुभयो । धुलिखेलमा वार्षिक तीन लाखभन्दा बढी पर्यटकले बास बस्ने र त्यसमा ७० प्रतिशत आन्तरिक पर्यटक रहेको होटेल सङ्घ नेपाल काभ्रेपलाञ्चोकले जनाएको छ । 

यसै गरी काभ्रेपलाञ्चोक र भक्तपुरको सङ्गमस्थल नगरकोटमा पनि पर्यटकको राम्रो चहलपहल हुने गरेको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले नगरकोटमा हाल ८३ वटा ठुला तथा साना होटेल सञ्चालनमा रहेको बताउनुभयो । नगरकोटमा सञ्चालनमा रहेका होटेलमध्ये २२ वटा होटेल भक्तपुर जिल्ला र ६१ वटा होटेल काभ्रेतर्फ सञ्चालनमा छन् । नगरकोटमा काव्या, मिस्टिक माउन्टेन, भङ्गेरी दरबार, कन्ट्रीभिल्ला, क्लब हिमालयलगायतका लक्जरी होटेल सञ्चालनमा छन् । नगरकोटमा निगालो बुटिक होटेल जस्ता केही होटेल तथा रिसोर्ट तयारी अवस्थामा रहेको अध्यक्ष गुरुङको भनाइ छ । अध्यक्ष गुरुङले नगरकोटमा सञ्चालनमा रहेका होटेलमा करिब एक हजार तीन सय कोठा रहेको र नगरकोटमा एक रातमा करिब तीन हजार पाहुनालाई बसाउन सक्ने क्षमता रहेको बताउनुभयो । नगरकोटमा दिनमा १० हजार पर्यटकलाई सेवा दिन सकिने छ । नगरकोट क्षेत्रमा १०५ वटा होटेलका नाममा जग्गा रहेको छ । मण्डनदेउपुर र चाँगुनारायण नगरपालिका क्षेत्रमा पर्ने नगरकोटमा होटेलको पूर्वाधार र जग्गामा गरी ६० खर्ब लगानी रहेको उहाँले जानकारी दिनुभयो । 

नगरकोट क्षेत्रमा सञ्चालनमा रहेका होटेलबाट करिब ११ सय व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् भने करिब २० करोड रुपियाँभन्दा बढी राजस्व राज्य र स्थानीय सरकारलाई तिर्ने गरेका छन् । नगरकोटमा सेप्टेम्बरदेखि नोभेम्बर महिनामा आन्तरिक पर्यटक बढी र अन्य महिनामा बाह्य पर्यटक बढी आउने गर्छन् । नगरकोटमा शुक्रबार, शनिबार तथा अन्य बिदाको दिनमा घुम्न र बस्न आउने पर्यटकको सङ्ख्या बढी हुने गर्दछ । नगरकोटमा सभा, सेमिनार, गोष्ठीलगायतका कार्यक्रमसमेत बढी हुने गर्छन् । 

सङ्घीय राजधानीबाट नजिक तथा उत्तरतर्फको हिमालय शृङ्खला, सूर्योदय हेर्नका लागि पर्यटक नगरकोट जाने गर्छन् । नगरकोटमा कति पर्यटक आउँछन् भन्ने यकिन तथ्याङ्क छैन । एक महिनाको अवधिमा करिब ६० हजार पर्यटक नगरकोटमा बास बस्ने गरेको व्यवसायीको अनुमान छ । एक महिनामा डे भिजिटका लागि करिब १२ लाख पर्यटक नगरकोट पुग्ने गरेको र नगरकोटमा पर्यटकको बजेट अनुसारको होटेल सुविधा रहेको उहाँले बताउनुभयो । त्यसै गरी पछिल्लो समय जिल्लाको पनौती, पाँचखाल, दोलालघाट, बेथानचोकमा करोडौँ रुपियाँको लगानीमा ठुला तथा साना होटेल सञ्चालनमा छन् भने सयौँ व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । 

बागमती प्रदेशको काठमाडौँ, भक्तपुर र ललितपुरसहित १३ जिल्लामा पर्यटकीय क्षेत्रमा भएको लगानी हेर्दा सरकारी तहको भन्दा निजी क्षेत्रको लगानी धेरै भएको देखिन्छ । यस क्षेत्रमा होटेल, रेस्टुरेन्ट, ठुला सभा हल, पर्यटकीय पूर्वाधार, मनोरञ्जनका साधन, सवारीसाधनलगायतको क्षेत्रमा भएको लगानी सरकारीभन्दा निजी धेरै रहेको छ । 

सडक, तथा सभा हल सरकारले लगानी गरे पनि ठुला आकर्षक सभा सम्मेलन स्थल निजी क्षेत्रले नै लगानी गरेका छन् । समग्रमा पर्यटकीय क्षेत्रमा भएको लगानी अनुसार रोजगारीको अवसरसमेत सिर्जना भएको छ । दक्ष र अर्धदक्ष जनशक्ति पर्यटन क्षेत्रमा खपत भएका छन् ।