• ७ मंसिर २०८१, शुक्रबार

कृषि र पर्यटनको विकासमा केन्द्रित छौँ

blog

रिङजन नामगेल गुरुङ अध्यक्ष, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका

मुस्ताङ जिल्लाका साबिकका मुक्तिनाथ, झोङ, छुसाङ र कागबेनी गाउँ विकास समितिलाई समेटेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका बनाइएको छ । सङ्घीयतापछि  मुक्तिनाथ, झोङ, छुसाङ, कागबेनी र फल्याङ गरी गाउँपालिकालाई पाँच वटा वडामा विभाजन गरिएको छ । यो धार्मिक एवं प्राकृतिक पर्यटनको राम्रो सम्भावना भएको पालिका हो । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर र कागबेनी यसै गाउँपालिकाभित्र रहेका छन् । कागबेनी गाउँपालिकाको केन्द्र हो । गत वर्ष साउन २९ गते राति कागखोलामा आएको बाढीले एक अर्ब बराबरको क्षति पुर्‍याएको थियो । नेपाल सरकार र स्थानीयवासीको सहयोगमा कागबेनी पुनर्निर्माण अभियान सञ्चालित छ । गाउँपालिकाले गरेका विकास निर्माणको प्रयासका बारेमा गोरखापत्र दैनिकका पत्रकार ठाकुरप्रसाद आचार्यले पालिका अध्यक्ष रिङजन नामगेल गुरुङसँग गरेको कुराकानी : 

कामको प्राथमिकता निर्धारण गर्नुभएको छ ? 

स्थानीय सरकारको अनुभूति दिने गरी सेवा प्रवाह र विकास निर्माणको काममा जुटेका छौँ । कृषि, पशुपालन र पर्यटनमा राम्रो सम्भावना भएको पालिका भएकाले कृषि उत्पादन र पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राखेका छौँ । सबै वडामा सडक पहुँच पुर्‍याएका छौँ । सडक स्तरोन्नति पनि प्राथमिकतामा राखेका छौँ । पछिल्लो दुई वर्षको अवधिमा दुई वटा ठुला सिँचाइ योजना निर्माण, विद्यालय भवन निर्माण र रानीपौवा ढल निर्माणको योजना अघि बढेको छ । पर्यटकीय स्थलमा पदमार्ग र गोरेटो बाटो निर्माण भएका छन् ।   

कृषि र पर्यटन विकासमा केन्द्रित छौँ । यहाँको उत्पादनलाई ब्रान्डिङ गर्ने, उत्पादन बढाउन किसानलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेका छौँ । कृषि अनुदान, तालिम, मल बिउमा अनुदान, स्याउ खेतीका लागि तालिम दिने गरेका छौँ । सिँचाइ सुविधा विस्तारको योजना बनाएका छौँ । साथै च्याङ्ग्रा पालन व्यवसायको विस्तारका लागि गाउँपालिकाले अनुदानका कार्यक्रम सञ्चालन गरिएको छ । मौलिक कला संस्कृतिको संरक्षण, प्राकृतिक सम्पदाको संरक्षण, होटल व्यवसायको प्रवर्धन र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरेका छौँ । 

गाउँपालिकाको विकास र समृद्धिका आधार तय गर्नुभएको छ ? 

यहाँ विश्व प्रसिद्ध मुक्तिनाथ मन्दिर, कागबेनी, प्राचीन गुम्बा र प्राकृतिक सम्पदा, अनौठो भूभाग, मौलिक कला संस्कृति गाउँपालिकाका विकासका आधार हुन् । यो पालिका उपल्लो मुस्ताङको प्रवेशद्वार पनि हो । साथै कृषि र पशुपालन गाउँपालिकाको समृद्धिका आधारका रूपमा लिएका छौँ । आलु, स्याउ, उवा, सिमी यहाँका मुख्य उत्पादन हुन् । कृषि उत्पादनको वृद्धि र पर्यटन क्षेत्रको प्रवर्धन गरेर यहाँका नागरिकको आयआर्जनमा वृद्धि र रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य छ । 

शिक्षा र स्वास्थ्य क्षेत्रमा कसरी काम गर्नुभएको छ ?  

बालविकास कक्षालाई मन्टेस्वरी शैलीमा सञ्चालन गर्ने योजना अगाडि बढाएका छौँ । त्यसका लागि शिक्षकलाई तालिम प्रदान गरेका छौँ । विद्यालयको भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेका छौँ । प्रत्येक नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा दिन गाउँघर क्लिनिक सञ्चालन गरेका छौँ । मुक्तिनाथमा आउने पर्यटकलाई लक्षित गरेर जिल्ला अस्पतालको सहकार्यमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ । कागबेनीमा ल्याब सेवा सञ्चालन गरेका छौँ । 

कागबेनी पुनर्निर्माणको काम भएको छ ?  

अहिले कागबेनी बस्ती नै जोखिममा छ । बस्ती तत्काललाई संरक्षण गर्ने काम मात्र हामीले गरेका छौँ । गत वर्ष प्राकृतिक विपत्का कारण कागबेनीमा ठुलो क्षति भयो । गाउँपालिकाले कागबेनीको पुनर्निर्माण कसरी गर्न सकिन्छ भनेर अध्ययन गरिरहेको छ । विस्तृत अध्ययन गरेर पुनर्निर्माणको काम अगाडि बढाउने योजना बनाएका छौँ । कस्तो संरचना बनाउने, कुन कुन स्थानमा संरचना बनाउने भन्ने विषयमा अध्ययन गर्न आवश्यक छ । अध्ययनका लागि आवश्यक पर्ने जनशक्ति हामीसँग छैन । प्रदेश र सङ्घीय सरकारसँग दक्ष जनशक्तिको माग गरेका छौँ । गाउँपालिकाले सबैतिर आह्वान गरी सहयोग जुटाएर राहत उपलब्ध गराउने काम गरेका छौँ । 

गाउँपालिकाले गरेका नमुना काम केही छन् कि ? 

उच्च शिक्षा पढ्नका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरेका छौँ । उच्च शिक्षा हासिल गर्ने गरिब, पिछडिएका, जेहेनदार विद्यार्थीलाई वार्षिक रूपमा प्रोत्साहन स्वरूप ३० हजार रुपियाँ छात्रवृित्त उपलब्ध गराएका छौँ । वडा नम्बर १ को लुप्रालाई च्याङ्ग्रा पकेट क्षेत्र घोषणा गरेर काम गरेका छौँ । च्याङ्ग्रा बिरामी हुँदा पशु प्राविधिक गोठमै पुगेर उपचार गर्ने, प्रत्येक वडामा पशु प्राविधिकको व्यवस्था मिलाएका छौँ । किसानलाई ५० प्रतिशत अनुदानमा प्राङ्गारिक मल वितरण, स्याउ खेतीको बगैँचा व्यवस्थापनको तालिम दिएका छौँ ।   

गाउँपालिकाको विकासमा चुनौती छन् ? 

जलवायु परिवर्तनले उत्पन्न गरेका समस्या हाम्रो विकासका मुख्य चुनौती हुन् । यहाँको प्रकृति र संस्कृतिसँग मिल्ने गरी विकास निर्माणका काम गर्न कठिन छ । मङ्सिरदेखि फागुनसम्म विकास निर्माण गर्न कठिन छ । वैशाखबाट बल्ल काम सुरु गर्नु पर्दछ । मौसमको प्रतिकूलताका कारण  आर्थिक वर्षको तीन महिना मात्र हामीलाई काम गर्ने समय छ । छोटो समयमा पुँजीगत खर्च गर्न समस्या छ । 

अर्कोतर्फ हामीलाई दक्ष जनशक्तिको अभाव छ । कर्मचारी केही समय बस्ने र सरुवा भएर जाने प्रवृत्ति छ । जनतालाई सरकारी प्रक्रियाबारेमा सुसूचित गराउन चुनौती छ । विकास निर्माणमा स्थानीयको सहभागिता र अपनत्वको अभाव छ । वडा कार्यालय भवन बनाउन आफ्नै जग्गा नभएकाले भवन बनाउन समस्या भएको छ । सरकारी जग्गालाई वडाको नाममा ल्याउन प्रयास गरेका छौँ । हामीकहाँ आन्तरिक आम्दानीको स्रोत न्यून छ । सेवा शुल्क, व्यवसाय दर्ता, नवीकरण, निकासी करलगायत मात्र हुन् । वार्षिक रूपमा ३० देखि ३५ लाखसम्म मात्र हाम्रो आन्तरिक आम्दानी छ । 

पर्यटन विकासका लागि विशेष प्रयास गर्नुभएको छ ? 

हाम्रो विकासको पहिलो आधार नै पर्यटन हो । पर्यटनको विकास गरेर हामीले रोजगारी सिर्जना गर्ने लक्ष्य छ । विश्वप्रसिद्ध धार्मिकस्थल कागबेनी, मुक्तिनाथ र प्राकृतिक सम्पदा हाम्रा पर्यटनका सम्भावना हुन् । कागबेनी र मुक्तिनाथलाई थप प्रचारप्रसार गरेर लाखौँ पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ । साथै पर्यटकीय क्षेत्रमा अन्नपूर्ण क्षेत्र संरक्षण परियोजना–एक्यापसँग मिलेर पदमार्ग निर्माणका साथै आवश्यक स्थानमा जानकारीमूलक बोर्ड राख्ने काम गरेका छौँ ।