• १२ साउन २०८१, शनिबार

थिमिमा रातो मत्स्येन्द्रनाथको महास्नान

blog

मध्यपुर थिमि, वैशाख २६ गते । मध्यपुर थिमिमा रातो मत्स्येन्द्रनाथको जात्रा सुरु भएको छ । जात्राका क्रममा शुक्रबार मत्स्येन्द्रनाथको महास्नान अर्थात् ‘न्हवं’ गरिएको छ । मध्यपुर थिमिको मरु टोलस्थित हेमवर्ण महाविहारमा रहेको पद्मपाणि लोकेश्वरलाई दुध, दही, घिउ, मह र पानीले स्नान गराइएको छ । 

पुजारी धर्मसुन्दर वज्राचार्यका अनुसार हेमवर्ण विहारमै यसरी महास्नान गराइसकेपछि जिस्वां बहाल भन्ने अर्को बहालमा लगी घाममा सुकाइन्छ । त्यसपछि रङरोगन हुन्छ । रङरोगनपछि मानिसलाई जस्तै न्वारान, इही, बाह्राः, चुडाकर्म जस्ता केटा र केटी दुवैलाई गरिने संस्कार गरिन्छ । यसलाई १० कर्म संस्कार गरिने भनिन्छ । त्यसपश्चात् मूर्तिमा जीवन्यास गरिन्छ ।

यी कार्य सम्पन्न भएपछि सिथि नखः अर्थात् कुमार षष्ठीका दिन मूर्तिलाई वस्त्र र गरगहनाद्वारा सजाई सानो खटमा राखेर स्थानीय गणेशपाटीमा विराजमान गराइन्छ । त्यहाँ यो देवतालाई थिमि, बोदे, नगदेश क्षेत्रका स्थानीयवासीले यसै वर्ष आआफ्नो खेतबारीमा उब्जनी भएका तरकारी, खाद्यान्न आदि चढाउने गर्छन् । सिथि नखःकै दिन यो देवताको जात्रा हुन्छ ।

वज्राचार्यका अनुसार सिथि नखःका दिन जात्रा हुने भएकाले यो देवतालाई स्थानीय थिमिवासीले ‘सिथिद्यः’ भन्ने गरेका छन् । लोकेश्वरका रूपमा चाहिँ ‘लोकनाद्यः’ भनिन्छ । लोकेश्वरलाई नै सिथिद्यःका रूपमा पूजा गर्ने चलन थिमिमा मात्रै रहेको पाइन्छ । काठमाडौँमा सिथिद्यः भन्नाले छुट्टै देवता रहेको हुन्छ । खास गरी कार्तिकेय कुमारलाई नै नेवार समुदायले सिथिद्यः भनी मान्दै आएको छ । उहाँका अनुसार काठमाडौँमा सिथिद्यःको महास्नान र थिमिमा लोकनाद्यःको महास्नान एकै दिन गरिन्छ । सिथिद्यःको वर्ण पनि रातो नै हुन्छ । थिमिको लोकेश्वरलाई सिथि नखःका दिन जात्रा गरी पुनः बहालमा फर्काएर आसनमा विराजमान गराइन्छ । त्यसपछि यो वर्षको जात्रा समापन हुन्छ ।