• १३ साउन २०८१, आइतबार

माओवादी केन्द्र समाजवादी क्रान्तिको दिशामा : प्रधानमन्त्री

blog

माओवादी केन्द्र गण्डकी प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर: फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, जेठ २३ गते ।
 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) समाजवादी क्रान्तिको दिशामा अघि बढिरहेको बताउनुभएको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि केही समूह मूल नेतृत्व विचलित भयो भन्दै विभाजित भए पनि माओवादी केन्द्र सही ठाउँमै रहेको उल्लेख गर्नुभएको हो ।

नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले अहिले विभाजनमा गएका धेरै मूल पार्टीमा फर्किएको र केहीसँग एकताका लागि पहल भइरहेको उल्लेख गर्नुभयो । “मूल नेतृत्वले गद्दारी गरेको दाबी गर्नेहरू गलत भएको पुष्टि हुँदै गएको छ,” उहाँले भन्नुभयो, “जनयुद्धदेखि संविधानसभा हुँदै अहिलेसम्मको बाटोले माओवादी केन्द्र ठिक ठाउँमै छ भन्ने पुष्टि हुन्छ । म चुनवाङकै बाटोमा छु । म क्रान्तिकै बाटोमा छु ।”

पार्टीमा अराजकता, व्यक्तिवाद, गुटहरू आत्मकेन्द्रित प्रवृत्ति मौलाएको टिप्पणी गर्नुहुँदै उहाँले त्यस्ता प्रवृत्तिलाई पराजित गर्दै अघि बढ्न आग्रह गर्नुभयो । उहाँले पार्टी रूपान्तरण र समाजवादको यात्राका लागि सरकारको नेतृत्व जरुरी भएको उल्लेख गर्नुभयो । “बारम्बार प्रशिक्षण, अभियान चलाए पनि खासै उपलब्धि देखिएन । नयाँ शिराबाट समाजवादी क्रान्ति अघि बढाउन पार्टीलाई रूपान्तरण गर्नैपर्छ,” उहाँले भन्नुभयो ।

आफ्नो पहलमा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति अनिवार्य बनेको तर्क गर्नुहुँदै उहाँले जलवायु परिवर्तनको क्षेत्रमा विश्वकै नेता बनेको जनाउनुभयो । सरकारले केही उल्लेखनीय काम गर्न खोजेको उहाँको भनाइ छ । “यसपालिको बजेटमा पाँच लाख प्रत्यक्ष र दश लाख अप्रत्यक्ष रोजगारीको व्यवस्था गर्ने भनेका छौँ,’’ उहाँले भन्नुभयो ।

माओवादीभित्रको आन्तरिक एकता मजबुत भए यही सरकार पूरै कार्यकाल चल्ने उहाँको भनाइ छ । “तपाईँहरू एक भइदिनुभयो भने पाँचै वर्ष यही सरकार जाने सम्भावना छ । हामीभित्र भाँडभैलो भयो भनेचाहिँ गाह्रो छ,” उहाँले भन्नुभयो । कार्यकर्ताहरूलाई विचारको पक्षमा, समाजवादी क्रान्तिको पक्षमा उभिन आग्रह गर्दै गुटबन्दी छाडेर पार्टीको सिद्धान्त अनुसार अघि बढे अर्को चुनावमा माओवादी पहिलो पार्टी बन्ने उहाँको भनाइ छ ।

कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्रका महासचिव देव गुरुङ, प्रदेश अध्यक्ष गायत्री गुरुङले पनि सम्बोधन गर्नुभएको थियो ।