• १३ साउन २०८१, आइतबार

‘नेपाल भारत सम्बन्ध प्रगाढ’

blog

वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी । फाइल तस्बिर

पाटन (ललितपुर), जेठ २३ गते । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले नेपाल र भारतबिचको सम्बन्ध प्रगाढ रहेको बताउनुभएको छ । वातावरण संरक्षणमा पनि दुवै मुलुक एकजुट भएर लागि परेका उहाँले उल्लेख गर्नुभयो । 

विश्व वातावरण दिवसको अवसरमा ललितपुर महानगरपालिका र भारतीय राजदूतावासको संयुक्त आयोजनामा ललितपुरको गुसिङगालस्थित बाग्मती किनारमा वृक्षारोपण गर्दै मन्त्री सुडीले नेपाल र भारतको मित्रसम्बन्ध रोटी र बेटीबाट वातावरण संरक्षणमा जोडिएको उल्लेख गर्नुभयो । नेपालको समग्र विकासका लागि भारतबाट सहयोग प्राप्त भइरहेको उहाँले बताउनुभयो ।

“वातावरण संरक्षण वर्तमानका लागि मात्रै नभएर भावी सन्ततिका लागि पनि अत्यन्तै महत्त्वपूर्ण छ, हामीले जति अक्सिजन खपत गरिरहेका छौँ, त्यति नै अक्सिजन उत्पादन गर्न सहयोग गर्नुपर्छ, हरेक क्षेत्रमा काम गर्न भारतबाट महत्त्वपूर्ण सहयोग मिलेको छ, नेपालको सर्वाङिगण विकासमा सहयोग प्राप्त भएको छ ।” उहाँले ललितपुर महानगर र प्रमुख चिरीबाबु महर्जनले वातावरण संरक्षणका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । 

महानगर प्रमुख चिरीबाबु महर्जनले वातावरण दिवसको अवसरमा गरिएको वृक्षारोपण प्रतिकात्मक काम मात्रै भएको उल्लेख गर्नुभयो । ललितपुरले हरेक दिन वातावरण संरक्षणका लागि सार्वजनिकस्थानमा हरियाली प्रवर्द्धन गर्ने तथा सहरको सुन्दरता कायम गर्न पोखरी संरक्षणमा काम गरिरहेको उहाँको भनाइ छ । ललितपुर महानगरले विगतमा वृक्षारोपण गरेका बिरुवा ९० प्रतिशत हुर्केको जानकारी दिनुभयो । 

वातावरण दिवसको अवसरमा भारतीय राजदूतावाससँगको समन्वयमा गरिएको वृक्षारोपणले वातावरणसम्बन्धी काममा एउटा इँटा थपिएको उहाँको भनाइ थियो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विश्व वातावरण दिवसमा ललितपुर महानगरपालिकासँग सहकार्य गर्न पाएकामा आभार व्यक्त गर्नुभयो । भारत र नेपालले वातावरणका क्षेत्रमा मिलेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । रासस