श्रवण चौधरी/सरस्वती चौधरी
मानिसको जिवनयापनका आधारभूत आवश्यकतामा गाँस, बास, कपास मात्र नभएर स्वास्थ्य र सुरक्षा पनि पर्छ । उहिले थारु समुदायका लागि गाँसको प्रशस्त जग्गा थियो । बासका लागि काठ बाँसको घर आफनै सिपले बन्थे ।
महामारी प्रकोपका कारण बासस्थान सरिरहने भएकाले ठुला घरहरु बनाउने चलन थिएन । सुख, दुखका मनको भाव पराति, चांचर, बिरहैन गाएर प्रस्फुटन गर्थे । रोगव्याधि संकटबाट मोचनका लागि भक्ति गीत गाएर ईश्वरको स्तुति गर्थे ।
त्यस्तै, गाउँघरमा बिभिन्न रोगब्याधि र भुतही बघहीबाट मुक्त गर्न, जडीबुटीले उपचार गर्न धामी गुुरुवाले बिभिन्न देवीदेवताको स्तुति, बोधनी, फेरानी, अरबन्ही, भाकल, पूजापाठ गर्थे । सक्षम र बिज्ञ गुरुवालाई राजाहरुले लालमोहर, स्याह मोहर दिएर त्यस ठाउँको भुतही, बघहीलाई सामना गर्न जागिर दिन्थे । थारु समुदायले धामीलाई (खन) पारिश्रमिकको व्यवस्था गर्दथे । यसरी पुर्खाहरुले लालमोहर पाएका वंश आज पनि लालमोहरिया, राजधामी, राजगरुवा रजघरिया आदि नामले परिचित छ । गाउँको सर्वोपरी हितका लागि यिनै गुरुवा धामीले स्थापना गरेको पहिचान हो, ग्रामथान ।
ग्रामथान थारु जातिको प्रमुख पूजा गर्ने पवित्र स्थल हो । यस ग्रामथानमा सबै जातजातिको अस्तित्व स्विकारेको छ । आदिमकालमा आफना शक्ति देवत्व प्राप्त गरी मानव जिवनमा आइपर्ने कठिनाइलाई मानव रक्षा गर्ने सो विधि र धामी झाँक्री गरी बुटी, तन्त्र, मन्त्र बिधा आदिबाट गाउँमा शान्ति, सुरक्षा कायम गरिन्छ । ग्रामथानमा जन्मदेखि मृत्युसम्मको संस्कार गरिन्छ । प्रथाजनित नियमले यसमा एक थानपति, गहदार र जेवारहरुको संगठन हुन्छ । गहदारको निर्देशनअनुसार जेवारले प्रत्येक घरधुरीसँग हुन्छ र प्रत्येक घरधुरीबाट बेहरी उठाइ पूजा गर्ने परम्परा छ ।
ग्रामथान प्रत्येक थारु टोलवस्तीमा एक डिहवार ग्रामथान रहन्छ । थारु समुदायले कुनै पनि शुभ कार्यमा ग्रामथानमा गई शिरढोग, गच्छअनुसार पान प्रसाद चढाइ आशीर्वाद लिने गरिन्छ । थान थारु टोलको पूर्व शिरामा हुन्छ ।
ग्रामथानका देवता
विभिन्न स्थानमा बसोबास गरेका थारु समुदायले गाउँको सुरक्षा र सुख समृद्धिका लागि र बिभिन्न महामारी रोग, बाढीपहिरो, दैवीप्रकोपबाट बचाउन, अन्नबाली राम्रो होस्, सन्तानको सुख र निको कुशल रहोस्, घरमा पालेका गाईबस्तुलाई रोग नलागोस्, भुतही, बाघ, हात्तीको प्रकोपबाट बचाउन विभिन्न देवीदेवता धामीको नामले ग्रामथानको स्थापना धामीहरुले गरेका हुन् ।
स्थानअनुसार ग्रामथान, गहवर, डिहवार, सिराथानले परिचित छ । कोशीपूर्व सुनसरीमा बिच्छुधामी, सौनधामी, कनकसिंह धामी, जितनधामी, गेदुधामी, नरसिंह सुब्बा, बौकाइधामी, बाबा बनखण्डी, नरसिंह ठाकुर लगायतका धामीलाई अलौकिक देवपुरुष भएकाले उहाँहरुलाई जीवित धामीको रुपमा पूजा गरिन्छ । यस बाहेक बिभिन्न धामीहरुले आफ्नो शक्ति र सामथ्र्यका आधारमा पूजा गर्ने गरेका छन् ।
ग्रामथानमा मूल राजाजी लगायत हात्तीबन्धा (हात्ती आतंक शान्त पार्न), बघेसरी (बायको आतंक शान्त पार्न) रुपनी अहारनी (धनकीदेवी लक्ष्मी), तुमरो मुखिया (किरातेश्वर), गहिल, बामत, गैया, बाधबधवार (जंगल, जमिन, जल), बिश्वकर्मा, संकटमोचन हनुमान ठाकुर, गोरखनाथ (मन्त्रतन्त्र गुरु), अधौरीनाथ, डिहवारनी (वास्तुदेवता), बिषहरा (नाग), बाढीपानीको प्रलयबाट जोगिन जलकुमारी, रोगव्याधी महामारीबाट बचाउन संसारीमाई (गहिल, बामत, काली, तीन लोकका देवी त्रिपुरादेवी) लगायत देवी देवता, राजाहरु सवार रहने प्रतीकको रुपमा माटोले बनाएका हात्ती, थोडका बाहनको रुपमा चढाउने गरेका छन् । शुद्ध चित्त भएर मनले पान, सुपारी, धुपदीप, एक अम्खोरा पानी लिएर ग्रामथानका देवी देवता धामीलाई बिन्ति गोचर गरेमा संकट हरण हुने, बिजय प्राप्त गर्ने, भाकल पूरा हुने आदि विश्वास अहिले पनि छ ।
मूल पूजारी तथा धामी
परम्परादेखि अविछिन्न रुपमा हालसम्म थारु समुदायको धामी परिवारका सदस्यले ग्रामथानमा पूजाआजा गर्ने परम्परा छ । अहिलेसम्म चलिरहेको छ । मूल पूजारी धामीले विभिन्न कारणले आफ्ना चेलालाई यदि कुनै थान दान दिएको छ वा पूजा गर्ने अधिकार सुम्पेको छ भने तिनै चेला वा थानपतिहरुले पूजा सञ्चालन गर्दैआएका छन् । ती अलौकिक शक्ति भएका धामीहरुको ज्ञानगुन, परम्परागत औषधीमुलो आदि पुस्तानन्तरण हुन सकेन । धामी तन्त्रमन्त्र कठोर साधना, संयमता, त्यागले मात्र बुझ्न र सिक्न सक्ने र सिक्ने अवधिमै गुरुजनको आकाल मृत्यु हुँदा चेलाहरुले पूर्ण ज्ञान सिक्न सकेनन् । सिकारुले गुन मन्त्रको दुरुपयोग गरेकाले गुरुहरुले पनि पूर्ण विश्वास नभएसम्म सबै ज्ञान दिन चाहेनन् । सम्हार, मारन, मोरन, उच्चाटन, मोहन, बोधनी, धरोकिया, साहन, बाहन, लगानी बझानी, डिठमुठ, हवाबयार आदि बिभिन्न बिद्याका ज्ञानका भण्डार भएका धामीहरु आकाशमा उड्न सक्ने, पानीमा हिडन सक्ने, पानीभित्र बस्न घन्टौं बस्न सक्ने, आगोमा हिड्न सक्ने, सिंह, बाघ, हात्ती, घोडामा सवारी गर्ने, बाघ र बरद जोडेर हलो जोत्ने, बाघले धानको दाइँ गर्ने, अघोर शक्तिका कारणले अप्ठ्यारो कामहरु पनि सहजै सम्पन्न गर्ने गरेका थिए भनेर पुर्खाहरुले सत्य कथा सुनाउदै आएका छन् ।
भजनिया
ग्रामथान पूजाको अघिल्लो राति जाग्राम बसी देवी देवतालाई धामीलाई आव्हान गरी भजन र धामी गीत गाउँछन् । देवी देवतालाई ग्रामथानमा आएर स्थान ग्रहण गर्न आव्हान गर्छन् । भजन गाउँदै आव्हान गर्दा देवी देवताहरु पनि बाटो समाएर आउँछन् । देवी देवताको बाटोमा अबरोध गरेको छ भने ती घरको मानिसलाई हानी नोक्सानी हुने विश्वास छ । थारु समुदाय बसोबास गरेको ठाउँलाई ‘डिह’ भनिन्छ । डिह फाप र अफाप हुन सक्छ । त्यसैले घर बनाउनुभन्दा पहिला जानिबकार गरुवा धामी वा जेठबाठाबाट डिह गुनान गर्रे विधि अपनाउँछन् ।
थानपूजामा भक्तिया (भगत) को महत्वपूर्ण भूमिका हुन्छ । विवाह, कुलदेवता स्थापना र पूजा, हनुमान ठाकुरको स्थापना, नेमान र मृत्यु पश्चात् आत्मालाई देवलोकमा पठाउने बिधि भक्तियाले गर्छन् । आजभोलि नयाँ पुस्ताले यी सांस्कृतिक विधामा चासो नलिएको र सिक्न बुझ्न पनि हिचकिचाहट हुने गरेकाले भक्तियाको अभाव हुन थालेको छ । ग्रामथान पूजामा थानपतिहरुले धामी खेल्दा भक्तियाले बिभिन्न देवी देवताका स्तुति धामी गीत गाएर शरीरमा देवी देवताको असवार (सवार) गराउँछन् ।
भक्तजनले इच्छाएको भाकल पूरा हुने नहुने कुराको जवाफ धामीले दिने गरेका छन् । खेतिपाती, अन्नबाली, रोगव्याधी, बाइढपाइन (बाढी पहिरो), निक कुसल (सुस्वास्थ्य) का कुराको जवाफ दिन्छन् । आइपर्ने संकटबाट बाँच्ने उपाय सिकाउँछन् ।
ग्रामथान, सिराथान, गहवर पूजा
ग्रामथानको पूजा बर्षमा तीन पटक गर्ने चलन छ । बहरजात्रा, अखारी, नेमानी पूजा गर्ने थारु परम्परा रहेको छ । यसैगरी सिराथानमा चैत मसान्तदेखि सिरुवा पावन सुरु भएर बिभिन्न चाड पर्वको पूजा गर्दै फगुवा पूजागरी सम्पन्न गर्ने गरिन्छ । यस पूजाको कथन पनि रहेको छ । “सिरुवा पसारे, फगुवा उसारे” भनाइअनुसार सिरुवाबाट पूजा पर्व सुरु भएर फागुन मासको फगुवा पूजागरी सबै पर्व समापन हुने मान्यता छ ।
खासमा अहिले ग्रामथान बनाएको ठाउँमा पूजा गर्ने गरेकाले सोही पूजालाई ग्रामथान, सिराथान वा डिहवारथान मानेका छन् । ग्रामथानमा बर्षमा दुई पटक कम्तिमा पूजा हुने गरेको छ । एउटा अखारी पूजा आषाढ महिनामा धान रोप्नुभन्दा पहिला र अर्को अगहन पूजा मङ्सिर महिनामा नेमान पूजा गरिन्छ । अन्नबाली राम्रो होस्, बालीनालीमा किरा नलागोस् लगायत गाउँवासीलाई कुनै रोग दुःख संकट नहोस् भनेर सुरक्षाका लागि पूजा गर्ने चलन छ । दोस्रो मङ्सिर (अगहन) मा गरिने नेमान पूजामा धानबाली काट्नुभन्दा पहिला पूजा गरिन्छ ।
यस पूजामा अन्नबाली उब्जनी राम्रो भएको र अब काट्ने तथा सो अन्न ग्रहण गर्दा शरीरमा कुनै कष्ट नहोस् तथा देवी देवताप्रति कृतज्ञता जनाउँछ । बालीनाली लगाउँदा धेरै जिवजन्तुको विनास भएकाले दोष निवारणका लागि क्षमा प्रार्थना गरिन्छ । नेमान गरेर कुलदेवता र पितृलाई नयाँ अन्नको परिकार चढाएर मात्र परिवारजनले ग्रहण गर्ने परम्परा छ ।
थानपति, पूजहैर र गहदार
हरेक थानको आफ्नो थानपति, पूजहैर, धामी, गहदार, जेवार (सचिव) हुन्छ । थानपति, पूजहैर प्रमुखलाई गहदार भन्ने गरेका छन् । गहदार विभिन्न दायित्व धारी व्यक्ति पनि हुन्छन्, जसमा धामी मूल पूजारी हुन्छ । धामीसँगै रहेको थानपति हुन्छ । भक्तिया भजन गर्ने भजनिया पनि हुन्छ । भक्तियामा मिरदङ बजाउने मिरदङ्गिया, अगुवा गायक नायक, पछुवा गायक र पछि–पछि गाउने धोरैया झाइल बजाउने हुन्छन् । गहदारमा वसोवास गर्नेले पूजाका लागि भने बेहरी (दस्तुर) उठाएर मूल मानिस गहदारलाई जिम्मा लगाएर पूजाका आवश्यक सामग्री तयार गरी बिभिन्न देवी देवतालाई भोग बलि दिएको बोका, पाठी, हाँस, परेवा, अण्डा, भाले कुखुराको मासुलाई प्रसादको रुपमा सबै सहभागी भक्तजनलाई बाँड्ने गरिन्छ । त्यहाँ चढाएको खिर, सोहारी, दहिच्यूरा, पानप्रसाद पूजामा आएका भक्तजनलाई प्रसादको रुपमा बाँड्छन् । हनुमान ठाकुरलाई चढाएको पान प्रसादमा अक्षता, केरा, चिनीको लड्डु मुछेर सेतो टीका लगाउने र प्रसाद ग्रहण गर्ने गर्दछन् । गहदार, पूजहैर, थानपति गाउँवासी मिलेर सामुहिक रुपमा ग्रामथान पूजा गर्ने चलन छ ।
माथी उल्लेखित थारु समुदायको धरोहर ग्रामथान ऐतिहासिक र पुरातात्विक महत्व रहेको छ । रामधुनी नगरमा थारु समुदायको बाहुल्य रहेकाले प्रत्येक वडामा १५ देखि २६ वटा ग्रामथान छन् । साँस्कृतिक भूमिमा रहेको ग्रामथान संरक्षण गर्न नगरपालिकाले ग्रामथान सूचिकृत गरी संरक्षण गर्ने नीति लिएर बजेट विनियोजन गरेको छ । यसै सन्दर्भमा नगर प्रमुख शंकरलाल चौधरी तथा उपप्रमुख तारा थापा र ग्रामथान संरक्षण समिति रामधुनी अध्यक्ष सिता थरुनीसँग सूचिकृत अभियान बिषयमा धारणा लिएका छौँ ।
शंकरलाल चौधरी
ग्रामथान थारु समुदायको मुख्य पहिचान रहेको नगर प्रमुख शंकरलाल चौधरीले बताउनुभयो । रामधुनी नगरक्षेत्र अन्तर्गत ग्रामथान सुचिकृत र ग्रामथानले चर्चेको भूमि, परम्परागत पूजा विधि, प्रथाजनित कानुन बिषयमा नीतिगत संरक्षणका लागि सम्पन्न लगत कार्य, चर्चेको भूमि नापी, ग्रामथानको प्रारम्भिक दस्तावेज र ग्रामथान ऐनको मस्यौदा छलफलमा नगरप्रमुख शंकरलाल चौधरी ग्रामथान नीतिगत रुपले संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो ।
“परापूर्वकालदेखि थारु समुदाय जन्मदेखि मृत्युसम्म संस्कार गरिदै आएकाले महत्वपूर्ण धरोहरको रुपमा पहिचान हो । ग्रामथानलाई संरक्षण गर्न आवश्यक रहेकाले नगरपालिकाबाट योजना नीति लियौँ, ग्रामथानको भूमि अतिक्रमण, पूजा विधिमा लोप, महत्व प्रवद्र्धन गर्ने नीतिले भूमिका खेल्ने छ” नगर प्रमुख चौधरीले भन्नुभयो ।
तारा थापा
“रामधुनी नगरमा थारु समुदायको बाहुल्य रहेको छ” उपप्रमुख तारा थापाले भन्नुभयो, “बाहुल्य रहेको र अन्य समुदायको समेत संस्कार संकृति संरक्षण गर्न रामधुनी नगरपालिकाको योजना छ” । धेरै पौराणिक धरोहर रहेकाले धार्मिक साँस्कृतिक महत्व बोकेको ग्रामथान सबै पक्षबाट संरक्षणको खाँचो रहेको धारणा राख्नुभयो । गहदार, जेवारहरुको नगर भेला तथा साँस्कृतिक भूमि बिषयमा तालिम तथा प्रशिक्षण कार्यक्रममा थारु समुदायको संस्कार उत्कृष्ट रहेको बताउनुभयो । ग्रामथान संरक्षणका लागि यस बर्ष तीन लाखको बजेट विनियोजन गरेर संरक्षण र प्रवद्र्धनको काम भएको बताउनुभयो । आगामी दिनमा पनि निरन्तरता दिने उपप्रमुख थापाले प्रतिबद्धता जनाउनुभयो ।
सिता चौधरी
रामधुनी नगर क्षेत्रमा रहेको ऐतिहासिक धरोहर ग्रामथान सूचिकृत गरी संरक्षण गर्ने नीति लिएको छ । सो नीतिअनुसार कार्यक्रम अघि बढिरहेको ग्रामथान संरक्षण समिति रामधुनी नगर अध्यक्ष सिता चौधरीले जानकारी दिनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो, “रामधुनी नगरपालिकाको सहयोगमा ग्रामथान सूचिकृत गरी संरक्षण गर्ने नीति कार्यक्रम अन्तर्गत ग्रामथान सूचिकृत तथा अभिलेख कार्यक्रम सम्पन्न भएको छ । रामधुनी नगरपालिकाले लिएको नीतिमा ग्रामथानको बिस्तृत लगत, ग्रामथान बिषयमा प्रशिक्षण तथा कार्यपत्र प्रस्तुत ग्रामथानले चर्चेको भूमिको चार किल्ला छुट्याउने काम, गहदार जेवार नगर भेला तथा ग्रामथान साँस्कृतिक भस्पमि बिषयमा तालिम, ग्रामथान दस्तावेजीकरण तथा पुस्तक छपाइ, ग्रामथान संरक्षण, सम्वद्र्धन, मस्यौदा ऐन लेखन तथा निर्माण समेत सम्पन्न भएको छ ।”
“६८ वटा ग्रामथान भनिए पनि लगत लिंदै जाँदा नगरभरी १२५ वटा ग्रामथान भेटियो । सबै ग्रामथानमा लगत तथा कार्यक्रम गर्दै सम्पन्न गरेका छौँ, २०८० चैत २७ गते गहदार जेवार नगर भेला तथा साँस्कृतिक भूमि बिषयमा तालिम तथा प्रशिक्षण गराइएको छ । २०८१ वैशाख ११ गते गहदार तथा अगुवा ब्यक्तिविच ग्रामथानको लगतसम्बन्धि संशोधन र जानकारी दिन भेला सम्पन्न भयो । यसैगरी २०८१ जेठ १० गते रामधुनी नगर क्षेत्रअन्तर्गत ग्रामथान सुचिकृत र ग्रामथानले चर्चेको भूमि, परम्परागत पूजा विधि, प्रथाजनित कानुन बिषयमा नीतिगत संरक्षणका लागि सम्पन्न लगत कार्य, नापी, ग्रामथानको प्रारम्भिक दस्तावेज र ग्रामथान ऐनको मस्यौदा छलफलमा नगरप्रमुख शंकरलाल चौधरी लगायत अगुवा, बुद्धिजीवीहरुको भेला सम्पन्न भयो” उहाँले भन्नुभयो ।
धामी तथा ग्रामथान
बिच्छुधामी, कनकसिंह धामी, सौन धामी, जुराइ धामी, बौकाइ धामी, वासु धामी, चम्पा दगरीन, इनरवती चनरवती, जितन धामी, दलसिंह धामी, दलसिंह धामी, सलहेश, मुरताहा बाबा, डकीन, चनरमैन धामी, गंगाराम धामी, दिनाराम भद्री, फरदलही दगरीन, फुलिया धमियाइन, लाटुधामी, झुविया धमियाइन, सन्दासीबाबा रहेको ग्रामथान संरक्षण समितिले जनाएको छ ।
ग्रामथानको अवस्था
रामधुनी नगरमा १२५ ग्रामथान, सिराथान छ । संरक्षित र नियमित पूजा हुने ग्रामथान छ । तर स्थानीय निकायको पहुँचमा पुगेको छैन । अतिक्रमणको सिकार भएको तर अतिक्रमणबिरुद्ध लडदै गरेको र सञ्चालनमा रहेको छ । अतिक्रमणले उजाडिएको र बिस्थापित भएको तर ग्रामथान धरोहर अस्तित्व संकटमा रहेको छ । नयाँ संरचनाका ग्रामथान मन्दिरको रुप लिएको छ । साँस्कृतिक भूमि, पानीघट्ट, साँस्कृतिक वन, गौचरण, पोखरी, नदी, पैनी अतिक्रमणमा परेको छ । यसरी थारु समुदायले जन्मदेखि मृत्युसम्म गरिने संस्कार रहेको धरोहर तथा धार्मिक धरोहर र ग्रामथानसँग जोडिएको छ । चर्चेको जग्गा साँस्कृतिक भूमि नगरपालिका र वडा कार्यालयको पहुँचमा भू–माफियाले मुद्दा लगाएर साँस्कृतिक भूमि अतिक्रमण र विस्थापन गर्ने प्रयासमा लागेको देखिन्छ ।
ग्रामथानमाथि गिद्दे नजर
भूमि अतिक्रमण गर्ने उद्देश्यले भू–माफियाले स्थानीयलाई लोभ देखाएर जग्गा बेच्दा ग्रामथानको साँस्कृतिक भूमि अतिक्रमण हुने गर्छ । भूमाफियाको गिद्दे नजरमा ग्रामधानको जग्गा परेको छ । आदिवासीको ऐतिहासिक धरोहरलाई हटाइ पहिचान समाप्त गर्ने प्रयास गरिएको छ । नीति नियमको अभावले आदिवासीको धरोहर संरक्षण हुन सकिरहेको छैन । स्थानीय आदिवासी समुदाय सचेत नहुँदा ग्रामथान संकटमा छ । स्थानीय बजेट तथा कार्यक्रम आदिवासीमैत्री छैन । गैर आदिवासीको अतिक्रमणकारी प्रवृत्तिलाई प्रश्रय दिँदा ग्रामथानलाई हानी भएको छ । स्थानीय सरकार र सरोकारवाला पक्षबाट ग्रामथानको स्वामित्व र नियन्त्रण विस्थापित गर्न गैर आदिबासीको क्रियाकलाप उद्दत देखिन्छ । आदिवासी अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनजस्तो अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नं. १६९, आदिवासीको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र २००७ को कार्यान्वयन भएको छैन । आदिवासीको ऐतिहासिक तथा सांस्कृतिक स्थानहरुको स्थानीय सरकारले अभिलेखिकरण र संरक्षण र विकासमा ध्यान दिएको देखिदैन ।
निस्कर्ष
धार्मिक तथा सांस्कृतिक महत्वको ग्रामथान संरक्षणमा नगरको आर्थिक, सामाजिक, पर्यटकीय क्षेत्र, पहिचानसँग प्रत्यक्ष जोडिएको हुनाले मानव सभ्यताकालदेखि स्थापना भएका थारु ग्रामथान पर्यटनको पाटोमा जोर्दै आर्थिक लाभको उपलब्धितर्फ उन्मुख हुने देखिन्छ । ग्रामथान संरक्षणका लागि वडा र नगर स्तरबाट ऐन, कार्यबिधि, योजना, नीति, निर्माणमा सहयोग हुने र जनप्रतिनिधिमा जो आए पनि ग्रामथान संरक्षण र प्रवद्र्धनमा निरन्तरता दिनुपर्छ । यस्ले राज्यको सम्पदा संकटमा पर्नबाट जोगिनेछ । थारु समुदायको पहिचान मात्र हैन, समुदायसँग जोडिएको साँस्कृतिक भूमि, सांस्कृतिक धरोहरले रामधुनी नगरकै पहिचान संरक्षण हुने देखिन्छ । नयाँ पुस्तामा ग्रामथानको महत्व हस्तान्तरण भएमा उनीहरु पनि ग्रामथान संरक्षणमा लाग्न प्रेरित हुनेछन् । ग्रामथानसँग जोडिएको साँस्कृतिक भूमि अतिक्रमण हुनबाट जोगिनेछ । थारु समुदाय धार्मिक रुपमा अन्यौल, ग्रामथानको महत्वबारे अनभिज्ञता, सक्षम नेतृत्वको अभावका कारण समस्यामा पर्ने गरेको छ ।
(रामधुनी नगरपालिका कार्यालय झुम्का सुनसरीको सहयोग र रामधुनी खबर साप्ताहिक पत्रिकाको आयोजनामा तयार पारिएको लेखनबृत्ति आलेख ।)