• १२ साउन २०८१, शनिबार

१० वर्षपछि विश्वकप मैदानमा नेपाल : पहिलो खेलमा आज नेदरल्यान्ड्ससँग भिड्दै

blog

विश्वकप खेल्ने नेपाली क्रिकेट टिम । फाइल तस्बिर

काठमाडौँ, जेठ २२  गते।  आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपाल मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै छ। 

नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो। काठमाडौँमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (युएई) लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो।

नेपालले दोस्रो पटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्यान्ड्स भने पाँचौँपटक सहभागिता जनाउँदै छ। नेपाल र नेदरल्याण्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन्। तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेदरल्यान्ड्सले दुई खेल जित्दा नेपालले एक खेलमा जित हासिल गरेको थियो।

विश्वकपअन्तर्गत अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा मंगलबार राति हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदै छ। त्यसो त नेदरल्यान्ड्स पनि आफ्नो पहिलो खेलमा जित हासिल गर्दै आगामी यात्रालाई सहज बनाउने कोसिसमा रहनेछ। 

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेदरल्यान्ड्सविरुद्धको खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो। 

उहाँले अमेरिकाको हावापानी र त्यहाँको अवस्थासँग भिज्ने राम्रो अवसर पाएको जनाउँदै पहिलो खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको बताउनुभयो। नेपाली टोलीले करिब एक महिनासम्म अमेरिकामा अभ्यास गरेको थियो।

त्यसैगरी यस विश्वकप क्रिकेट प्रतियोगितामा सबैभन्दा कम उमेरमा कप्तानीको भूमिका निर्वाह गरेका २१ वर्षीय नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्यान्ड्सविरुद्धको खेलमा उत्कृष्ट क्रिकेट खेलेर देश र नेपाली फ्यानलाई गर्व गर्न सक्ने वातावरण तय गर्ने विश्वास व्यक्त गर्नुभयो।

यसैगरी यस पटकको विश्वकपमा नेपालका अर्का खेलाडी गुलशन झा सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने खेलाडीको कीर्तिमानी बनाउने भएका छन्। उनी १८ वर्ष भएका छन्।

विश्वकप खेल्ने तयारी अवस्थामा रहेका नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना समेत प्रदान गर्नुभएको छ। 

अमेरिका र वेस्टइन्डिजमा चालु टी–२० विश्वकप क्रिकेटका विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउँदा उपविजेताले १२ लाख २८ हजार डलर पाउनेछन्। त्यस्तै विश्वकपमा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही सात लाख ८७ हजार डलर पाउनेछन् भने प्रतियोगितामा सहभागी सबै टोलीले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन्। नेपाल र नेदरल्यान्ड्सबिचको खेल नेपाली समयानुसार मंगलबार राति ९ः१५ हुनेछ। 

नवौँ संस्करणको यस विश्वकपको समूह ‘डी’ मा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश छन्। यस समूहमा सोमबार दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ६ विकेटले हराउँदै विश्वकपमा सुखद् सुरुवात गरेको छ। दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ७७ रनमा अलआउट गर्दै सहज जित निकालेको थियो। 

नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ। नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ। 

२० टोलीको सहभागिता रहेको विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्। विश्वकपमा खेल काठमाडौँसहित देशभरका विभिन्न पालिकाले सार्वजनिक स्थलमा ठुलो डिसप्लेमा देखाउने निर्णय गरेका छन्।