• १२ साउन २०८१, शनिबार

टी-२० विश्वकप : नेपाल १० वर्षपछि सपना पूरा गर्ने बाटोमा

blog

नेदरल्यान्ड्ससँग खेल्नुअघि ग्रान्ड पिएरे मैदानमा अन्तिम अभ्यास गर्दै नेपालका खेलाडी । तस्बिर सौजन्य : देवेन्द्र सुवेदी (दुर्गानाथ)

अमेरिका (डालास), जेठ २२ गते । १० वर्षअघि नेपालले टी–२० विश्वकप क्रिकेटमा डेब्यु गर्दा सिंगो नेपाल क्रिकेट मय बनेको थियो । सोही विश्वकपलाई आधार मानेर नेपाली क्रिकेटले विकासको थप ढोका खोलेको हो । 

भौतिक संरचना निर्माणको हिसावले नेपाली क्रिकेट त्यति माथि जान सकेको छैन । तर, क्रिकेट खेलाडीको निरन्तर लगावले नेपाललाई १० वर्षपछि पुन: विश्वकपको मैदानमा उतार्न सफल भएको छ ।

नेपाली क्रिकेट टोलीले एक दशक लामो ब्यग्र पखाईलाई मङ्गलबार अमेरिकाको डालासमा साकार पार्दैछ । नेपाली समय अनुसार राति मङ्गलबार ९:१५ बजे डालासस्थित ग्रान्ड पिएरे मैदानमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले दोस्रो पटक विश्वकप यात्रा तय गर्दैछ । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । 

समूह ‘डी’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेदरल्यान्ड्सँग खेल्नका लागि नेपाली टोली उत्साहित रहेको कप्तान रोहित पौडेलले बताउनुभएको छ । खेलअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै रोहितले विश्वकपको पहिलो खेल खेल्न सबै उत्साहित रहेको बताउनुभयो । 


‘‘१० वर्षमा हामीले फेरि मौका पाउँदै छौँ । नेदरल्यान्ड्ससँग खेल्नका लागि सबै खेलाडी शारिरिक र मानसिक रुपमा तयार छौँ । नेदरल्यान्ड्स ब्यालेन्स टोली हो । हामीले पटक पटक खेलिरहेकोले जित्नका लागि खेल्नेछौँ,’’  रोहितले भन्नुभयो । 

उहाँले दुवै टोली उस्तै रहेकोले जसले दबाब झेलेर खेल्छ उसैको जित हुने पनि बताउनुभयो । ‘‘हामी राम्रो क्रिकेट खेल्ने प्रयास गर्नेछौँ । एक महिना देखि यहीको वातावरणमा रहेर तयारी गरिरहका छौँ । वेस्ट इन्डिजको तयारीले पनि केही हौसला थपेको छ । टी–२० मा सबै टोलीलाई अवसर बराबर जस्तै हुन्छ । राम्रो खेल्नेले जित्ने हो । आशा छ, हामी हरेक खेल राम्रो खेल्दै अगाडि बढ्नेछौँ ।’’ 

उहाँले डालासमा नेपाली समर्थकबाट पाउने मायाले टोलीलाई गप उर्जा दिनेपनि बताउनुभयो । उहाँले हरेक खेलमा टसमा जित र हार सर्वेसर्वा नहुने भन्दै शित र घामको अवस्थालाई हेरेर निर्णय गर्ने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘यस ठाउँमा आएदेखि हामीले माया पाईरहेका छौँ । नेपालीले धेरै समर्थन गरिरहनु भएको छ । हामी समर्थकका लागि खुशी दिन चाहन्छौँ । हाम्रो जितले सबै नेपालीलाई खुशीको अनुभूति दिनेछ । हाम्रो प्रदर्शनले आगामी पुस्तालाई समेत प्रोत्साहन मिलोस् ।’’ 

डालासको मौसमले भने विश्वकप आयोजकलाई त्यति साथ दिईरहेको छैन । दैनिक पानी परिरहेकोले खेल रोकिने स्थिति पनि आउन सक्ने छ । तर, मङ्गलबार यहाँको मौसक सफा रहने मौसम पूर्वानुमान रहेको छ । 

यसैगरी नेदरल्यान्ड्सका प्रशिक्षक रायन कुकले नेपालले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेकोले सजक भएर उत्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विश्वकपका लागि हामीले पनि राम्रो तयारी गरेका छौँ । विश्वकपको पहिलो खेल आफैमा महत्वपूर्ण छ । टोलीका सबै खेलाडीपहिलो खेल खेल्न उत्साहित छन्,’’ रायनले भन्नुभयो । नेदरल्यान्ड्स र नेपाल दुवै उस्तै रहेकोले खेल प्रतिस्पर्धात्मक हुने रायनको भनाई छ । 

नेपाल र नेदरल्यान्ड्सबिच हालसम्म भएको भिडन्तमा नेपाल केही बलियो देखिएको छ । यसअघि दुई टोलीबिच भएको १२ वटा टी(२० भिडन्तमा नेपालले ६ र नेदरल्यान्ड्सले ५ खेलमा जित निकालेको छ । एउटा खेल नतिजाबिहिन बनेको थियो । 

नवौँ संस्करणको यस विश्वकपको समूह ‘डी’ मा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश रहेको छ । यस समूहमा सोमबार दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ६ विकेटले हराउँदै विश्वकपमा सुखद् सुरुवात गरेको छ । दक्षिण अफ्रिकाल श्रीलङ्कालाई ७७ रनमा अलआउट गर्दै सहज जित निकालेको हो । 

नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ । 

२० टोलीको सहभागिता रहेको विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।