• १२ साउन २०८१, शनिबार

टी-२० विश्वकप : वेस्ट इन्डिजको सुखद सुरुवात

blog

आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्दै पिएनजी र वेस्ट इन्डिजका खेलाडी । तस्बिर : बीबीसी

डालास, जेठ २१ गते । आयोजक वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकपमा सुखद सुरुवात गरेको छ ।

गुयनामा आइतबार राति भएको खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी) लाई पाँच विकेटले हरायो । जितसँगै ‘सी’ मा रहेको वेस्ट इन्डिजले दुई अङ्क बनाएको छ । 

जितका लागि पिएनजीले दिएको एक सय ३७ रनको मध्यम लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

वेस्ट इन्डिजका लागि रोस्टन चेजले अविजित ४२ रन बनाउनुभयो । ओपनर ब्रान्डन किंगले ३४, निकोलस पुरनले २७ तथा रोभमन पावेल र आन्द्रे रसेलले १५/१५ रन जोड्नुभयो । बलिङमा पिएनजीका लागि असद भालाले दुई तथा अलेइ नाओ, चाड सोपर र जोन करीकोले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३६ रन बनाएको थियो । 

पिएनजीका लागि सेसे बाउले सर्वाधिक ५० रन बनाउनुभयो ।  किप्लिन डोरिगाले २७, असद भालाले २१, चार्ल्स अमिनीले १२ र चाड सोपरले १० रन बनाउनुभयो । 

बलिङमा वेस्ट इन्डिजका आन्द्रे रसेल र अलजारी जोसेफले दुई दुई विकेट लिनुभयो । अकिल होसेन, रोमारियो शेफेर्ड र गुडकेश मोतीले एक/एक विकेट झार्नुभयो । 

समूह सी’ मा वेस्ट इन्डिज र पिएनजीसँगै न्युजिल्यान्ड, अफगानिस्तान र युगान्डा रहेको छ ।