• १३ साउन २०८१, आइतबार

आरोही बस्ताकोटीको निधनले स्तब्ध

blog

फडिन्द्र अधिकारी 

लेखनाथ, जेठ १८ गते । घरबाट छोटै यात्रामा जान पनि साइत निकाल्ने, आफन्तले बिदाइ गर्ने चलन छ । गएको चैत ९ गते विनोदबाबु बस्ताकोटीले सगरमाथा चुलीमा पाइला टेक्नुअघिसम्म परिवारले उहाँको यात्राबारे थाहै पाएको थिएन । 

शिखर पुगेको फोटो अस्ट्रेलियामा रहेकी बहिनीलाई बस्ताकोटीले पठाएपछि मात्र परिवारमा उहाँको सफल आरोहणको जानकारी भयो । उहाँकी नातेदार गीता तिवारीले अस्ट्रेलियाबाट पोखरा महानगरपालिका–२६, खरानेफाँट बस्ने परिवारलाई खबर भएपछि मात्र आरोहणबारे आफन्तले खबर थाहा पाएको सुनाउनुभयो । लगत्तै केही फोटो र भिडियोसमेत बस्ताकोटीले फेसबुकमा पोस्ट गर्नुभएको थियो । जेठ ९ गते बिहान सगरमाथाको चुचुरोमा पाइला राखेको विनोदबाबुको सफलताले खुसी भएका परिवारजनको उत्साह लामो समय रहन पाएन । बेला बेलामा सगरमाथा चढ्छु भनी परिवारमा भन्ने गरेको तर परिवारले जान नदिने भएकाले कसैलाई नभनी गएको हुन सक्ने तिवारी बताउनुहुन्छ । 

३७ वर्षीय विनोदबाबु सगरमाथाबाट ओर्लिने क्रममा बिरामी पर्नुभयो । सोही दिन साँझ ५ बजे चौथो शिविरमा आइपुग्दा लेक लागेर उहाँको मृत्यु भएको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय, सगरमाथा आधार शिविरले जनाएको छ । 

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, बालकुनीनजिक आठ हजार २५० मिटरभन्दा तल उहाँ ओर्लिन नसकेको र त्यहीँ मृत्यु भएको विभागको अस्थायी फिल्ड कार्यालयका इन्चार्ज खिमलाल गौतमले बताउनुभयो । पर्यटन व्यवसायमा आबद्ध बस्ताकोटी बेला बेलामा पदयात्रामा निस्कने गर्नुभएको थियो । विनोदबाबुका मित दीपक लामिछाने उहाँको सानैदेखि आरोहणमा रुचि रहेको सम्झनुहुन्छ । 

सगरमाथाबाट विनोदबाबुको शव बुधबार काठमाडौँ ल्याइएको छ । चिसोका कारण बिहीबार मात्रै शवको पोस्टमार्टम भएको छ । विनोदबाबुका दाजु रामबाबुले बिहीबार साँझ काठमाडौँबाट आफूहरू शव लिएर पोखरा हिँड्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी बिहीबार साँझ शव लिएर पोखरा फर्किन्छौँ, शुक्रबार बिहान शवयात्रासहित अन्तिम संस्कार गर्ने तयारी छ ।”

विनोदबाबुको शवलाई शुक्रबार बिहान पोखरा महानगर परिक्रमा गराई शवयात्रासहित फेरि लेखनाथै लगेर सेती नदीको मरेखरे घाटमा दाहसंस्कार गर्ने तयारी छ । पर्यटन सम्बद्ध सङ्घ संस्था र पोखरा महानगरको अग्रसरतामा शवयात्रासहित विनोदबाबुको सम्मानजनक बिदाइ गरिने महानगरका प्रमुख धनराज आचार्यले बताउनुभयो । विनोदबाबुको परिवारमा आमा, श्रीमती र छोरा हुनुहुन्छ ।