माउन्ट एभरेस्ट अर्थात् सगरमाथा नेपालको गौरव र विश्वको आकर्षण हो । विश्वकै सर्वोच्च भूमि हो सगरमाथा । सगरमाथाका विषयमा गीत र कविता सिर्जना भएका छन् । चलचित्र बनेका छन् । किताब लेखिएका छन् । सगरमाथाको तस्बिर नोटमा छापिएको छ । हुलाक टिकट प्रकाशित छ । सगरमाथा आरोहण गर्नु भनेको विश्व कीर्तिमान कायम गर्नु हो । यस्तो कीर्तिमान बनाउन विश्वका आरोही नेपाल आइपुग्छन् र शिखर चुम्ने साहस गर्छन् । सगरमाथा आरोहणको ७१ वर्षमा अनौठा कीर्तिमान कायम भएका छन् । अझै नौलो कीर्तिमान बनाउन आरोहीहरू सङ्घर्ष गरिरहेका छन् । मे २९ मा विश्वभर ‘एभरेष्ट डे’ मनाउने चलन पनि छ ।
यस वर्ष वसन्तकालीन आरोहणका लागि विभिन्न ४५ वटा टोलीका ४२१ जनाले अनुमति लिएका थिए । आरोहण दस्तुर ६० करोड रुपियाँभन्दा बढी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । गत वर्ष इतिहासमा नै सबभन्दा धेरै ४७८ जनाले अनुमति लिएको पर्यटन विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार सगरमाथा आरोहण गर्न ‘नर्मल रुट’ का लागि वसन्त ऋतुमा विदेशी प्रतिव्यक्ति एघार हजार अमेरिकी डलर, शरद् ऋतुमा पाँच हजार पाँच सय र शिशिर तथा वर्षा ऋतुमा दुई हजार ७५० डलर दस्तुर लाग्छ । कुनै बेला सगरमाथा आरोहण गर्न सबैलाई अनुमति दिइँदैनथ्यो । अपाङ्गता भएका व्यक्तिलाई छ हजार पाँच मिटरभन्दा माथिको हिमाल आरोहण गर्न अनुमति थिएन तर अहिले सगरमाथा आरोहण गर्न पनि सबैलाई खुला गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्तिले सगरमाथाको आरोहण गर्न पाउने फैसला गरेसँगै सगरमाथा सबैका लागि खुला भएको हो ।
सबैका लागि आरोहण गर्न पाउने व्यवस्थाकै फलस्वरूप पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सगरमाथा सफल आरोहण गर्नुभयो । उहाँले २०८० जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्नुभयो । यससँगै बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन)’ व्यक्तिको विश्व रेकर्ड कायम गर्नुभएको छ । झन्डै पाँच वर्षको प्रयासमा कृत्रिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गर्नुभएको हो । त्यस्तै सन् २०१४ मै नक्कली खुट्टाको साहारामा भारतकी अरुणीमा सिन्हाले पनि आरोहण गरेर कीर्तिमान राख्नुभएको थियो । चीनका दृष्टिविहीन आरोही झांग होंगले सगरमाथाको सफल आरोहण गरेर रेकर्ड बनाउनुभएको थियो । दृष्टिविहीन अमिट केसीले पनि आरोहणको प्रयास गर्नुभएको थियो ।
सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले गरमाथाको आरोहण गरेपछि कीर्तिमान तोड्ने लहर छ, जसका कारण नेपाल विश्वमा थप परिचित बन्दै गएको छ । विश्व रेकर्ड बनाउनकै लागि सबैभन्दा बुढो उमेर, सबैभन्दा सानो उमेर र सबैभन्दा धेरै पटक, सबैभन्दा छोटो समयमा, बिनाअक्सिजन, सगरमाथाबाट प्याराग्लाइडिङ तथा यहाँ साङ्गीतिक कन्र्सट गरेरसमेत सगरमाथा आरोहणका कीर्तिमान भइरहेका छन् ।
पर्वतारोही कामिरिता शेर्पाले ३० औँ पटक सगरमाथाको आरोहण गर्नुभयो । यस सिजनमा मात्रै उहाँ दुई पटक सगरमाथाको चुचुरोमा पुग्नुभयो । ५४ वर्षीय कीर्तिमानी आरोही शेर्पाले सगरमाथाको पहिलो आरोहण सन् १९९४ मा गर्नुभएको थियो । उहाँकै हाराहारीमा पासाङ दावा शेर्पाले पनि २७ औँ पटक चुचुरो चुम्नुभएको छ । कीर्तिमान बनाउने प्रतिस्पर्धामा गत वर्ष १६ वर्षीया चिनियाँ किशोरी सुई चो युआनले पनि सबैभन्दा कान्छी आरोहीका रूपमा सगरमाथाको आरोहण गर्नुभयो । महिला आरोही फुन्जो जाङ्मु लामा यस वर्ष १४ घण्टा ३१ मिनेटमा सर्वोच्च शिखरको टुप्पोमा पुगेपछि उहाँले सर्वाधिक छोटो समयमा सगरमाथा आरोहण गर्ने महिलाको रूपमा कीर्तिमान बनाउनु भएको छ ।
सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङल्हामु शेर्पा हुनुहुन्छ । उहाँका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले पनि यसपालि सगरमाथाको सफल आरोहण गर्नुभयो । श्रीमती पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको ३० वर्षपछि सोनाम पहिलो पटक सगरमाथाको शिखरमा पुग्नुभएको हो । आप्पा शेर्पाले सन् २०११ मा २१ पटक चुचुरो चुमेर कीर्तिमान राख्नुभएको थियो । सन् २०१७ सम्म आप्पाको कीर्तिमानमा फुर्वा तासी शेर्पा पनि जोडिनुभएको थियो ।
पेम्बादोर्जे शेर्पाले सबभन्दा छिटो (आठ घण्टा १० मिनेट), काजी शेर्पाले अक्सिजनबिना सबैभन्दा छिटो (२० घण्टा २४ मिनेट), बाबुछिरी शेर्पाले चुचुरोमै सबैभन्दा धेरै समय (२१ घन्टा) बिताएर, जापानका युचिरो मिउराले सबैभन्दा पाको उमेर (८० वर्ष, २२४ दिन), अमेरिकाको जोडान रोमारियो सबैभन्दा कम उमेर (१३ वर्ष, १० महिना, १० दिन) मा सगरमाथा आरोहण गरेर कीर्तिमान कायम भएका छन् । एकै याममा दुई पटक सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान बनाउनुभएको छ । सगरमाथा आरोहीका यस्ता कीर्तिमान अनेकौँ छन् ।
सगरमाथा अहिले विश्वका साहसिक पर्यटकको मुख्य रोजाइमा पर्छ । आधार शिविरसम्म पुग्ने वा शिखरमै पुग्ने होडबाजी चलिरहेको छ । पछिल्ला वर्ष सगरमाथा क्षेत्रमा फोहोर तथा मृत्यु भएका आरोही र भरियाको शव व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण देखिन्छ । आरोही र तिनका सहयोगीको सङ्ख्या बढेसँगै फोहोरमैला पनि थपिँदै गएको छ । आधार शिविरदेखि माथिका भूभागमा अनुगमन हुन नसक्दा नियमको पालना नभएको र फोहोरमैला थुप्रिने गरेको खबर सार्वजनिक भइरहेका छन् ।
पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० अनुसार आरोहण सञ्चालक र आरोहीले आरोहणका क्रममा प्रयोग गरेका अक्सिजन सिलिन्डर, रेगुलेटर, टेन्ट र खाना राख्न प्रयोग गरिएका प्लास्टिकलगायत सामग्री फिर्ता ल्याउनुपर्ने, यसबाहेक प्रत्येक आरोहीले फर्कंदा आठ किलोग्राम फोहोर आधार शिविर ल्याउनुपर्ने भए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । यहाँको अर्को ठुलो समस्या भनेको जलवायु परिवर्तनको असर हो । बढ्दो विश्वव्यापी तापमानका कारण हिउँका सतह र हिमनदी छिटोछिटो पग्लिरहेका छन् । चट्टानहरू देखिन थालेका छन् । हिउँ पग्लिएपछि शवहरू छरपस्ट देखिने गरेको आरोहीहरू बताउँछन् । यस क्षेत्रको हिमताल फुट्ने खतरा पनि छ । छिटो हिउँ पग्लिँदा सगरमाथाको सुन्दरतामा कमी आउने अनुमान पनि लगाउन थालिएको छ ।
बेलायतको एक्जेटर विश्वविद्यालयका वैज्ञानिकले गरेको एक अध्ययनमा जलवायु परिवर्तनका कारण सगरमाथा जस्तो उच्च हिमाली क्षेत्रमा पनि रुख बिरुवा उम्रन सक्ने र हिमालको सुन्दरता मेटिन सक्ने अनुमान गरिएको छ । साथै हिमनदीका कारण बाढीको जोखिम बढ्न सक्ने छ । यस कारण सगरमाथाको अस्तित्व जोगाउन ठुलो चुनौती खडा भएको छ । त्यसका अलावा सगरमाथाको उचाइ मापन नेपालका लागि चुनौतीपूर्ण मानिएको छ ।
२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइ फेरबदल भएको हुन सक्ने विज्ञहरूले अनुमान गरेका छन् । वास्तविक र विश्वले विश्वास गर्ने मापन गर्न नेपालका लागि चुनौती बनिरहेको छ । यद्यपि, चीन र नेपालले गरेको उचाइ मापनको विवरणमा एकरूपता आएसँगै विश्वासको वातावरण बनेको भए पनि भविष्यमा यस्ता समस्या दोहोरिन सक्ने अनुमान गरिन्छ ।