• १३ साउन २०८१, आइतबार

गणतन्त्रको संस्थागत विकास गर्नु सबैको दायित्व : प्रदेश प्रमुख

blog

गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, जेठ १५ गते । 
बागमती प्रदेश सरकारले गणतन्त्र दिवस २०८१ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । गणतन्त्र दिवस मूल समारोह समितिले मङ्गलबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रको संस्थागत विकास गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

उहाँले नागरिकको जीवनमा परिवर्तन ल्याउने काम गर्नु अहिलेको दायित्व भएको भन्दै गणतन्त्रलाई विफल बनाउने प्रयास सफल नहुने बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गणतन्त्र स्थापनाको सबैको योगदान रहेको चर्चा गर्दै अब सामाजिक न्यायका लागि काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ र प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बोल्नुभएको थियो ।

कार्यक्रममा पत्रकार, सहिद परिवारलगायतलाई सम्मान गरिएको थियो ।

भुटनदेवी माविको चौरबाट सुरुभएको प्रभातफेरि हेटौँडा बजार परिक्रमापछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा आएर कार्यक्रममा परिणत भएको थियो ।