• २ असार २०८१, आइतबार

साइकलमा मकवानपुरगढीबाट गोर्खा दरबार

blog

ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र मकवानपुरगढीबाट गोर्खा दरबारसम्मको साइकलयात्रा । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, जेठ १० गते । मकवानपुरको मकवानपुरगढीबाट गोर्खा दरबारसम्म साइकल यात्रा सुरु गरिएको छ । हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा २५६७ औँ बुद्धजयन्तीको अवसरमा दुईदिने साइकलयात्रा थालेको हो।

मकवानपुरगढी गाउँपालिका वडा नं. २ को समन्वयमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक मकवानपुरगढीदेखि गोरखा दरबारसम्म साइकलयात्रा थालिएको हो । साइकलयात्रामा १२ जना सहभागी भएको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । मकवानपुरगढीबाट सुरु भएको साइकलयात्रा शुक्रबार साँझ गोरखा दरबार पुगेर समापन गरिने छ। 

साइकलयात्रामा ६० वर्ष उमेर नाघेका ४ जना, ५० वर्ष उमेर पार गरेका ४ जना, ४० वर्ष र ३० वर्ष उमेर पार गरेका २/२ जनाले सहभागिता जनाउनुभएको छ । 

हिमालयन राइडर्स सोसाइटीले यसअघि चीनसँगको सीमाक्षेत्र रसुवागढीदेखि भारतको सीमाक्षेत्र ठोरीसम्म १० जनाको साइकलयात्रा गरेको थियो भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म १३ जनाको समूहले साइकलयात्रा गरिसकेको छ । 

प्रत्येक शनिबार जिल्लाका धार्मिक एवम् पर्यटकीय क्षेत्रमा समेत नियमित साइकल यात्रा गर्दै आएको छ ।