• २ असार २०८१, आइतबार

सञ्चारमन्त्री शर्माद्वारा ‘गणतन्त्र दिवस तस्बिर प्रदर्शनी’ उदघाटन

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । फाइल तस्बिर

काठमाडौँ, जेठ १० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्र दिवस-२०८१ का उपलक्ष्यमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित तस्बिर प्रदर्शनीको उदघाटन गर्नुभएको छ ।गणतन्त्र दिवसका सन्दर्भमा ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा केन्द्रीय कार्यालय, भद्रकालीमा उक्त तस्बिर प्रदर्शनी आयोजना गरेको हो । 

प्रदर्शनीमा मुलुकका तीन वटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवम् निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् । वि.सं.२०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । 

सात वटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधार सम्बन्धी ९० तस्बिर प्रदर्शनीमा समेटिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो । प्रदर्शनीमा ऊर्जा, विमानस्थन, पर्यटन, बाटोघाटो, सडक, पुल, स्वास्थ्य शिक्षाका संरचना, सम्पदा पुनःनिर्माण, तराईका हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौँ-मधेस द्रूतमार्ग, थानकोट-नागढुङ्गा सुरुङमार्ग, सुनकोसी-मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, टेलिफोनका फोरजी टावर, एकीकृत वस्ती, राष्ट्रिय गौरव, प्रदेश गौरवका आयोजनालगायतका तस्बिर समावेश छन् । रासस