• १२ साउन २०८१, शनिबार

किसानलाई धानको उन्नत बीउ वितरण

blog

उन्नत जातको धानको बीउ वितरण कार्यक्रम । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ ७ गते । कोहलपुर नगरपालिकाको कृषि विकास शाखाले नगरपालिका भित्रका किसानलाई १० हजार ३५० किलो उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

कोहलपुर नगरपालिकाको कृषि विकास शाखा प्रमुख चन्द्रबहादुर बुढाले किसानको मागअनुसार शाखाले १० हजार ३५० किलो उन्नत जातको धानको बीउ खरिद गरी अनुदानमा वितरण गरेको बताउनुभयो । 

उहाँले वितरण गरिएका उन्नत जातका बीउमध्ये राधा ४, राम, हर्दिनाथ ६ जस्ता धानको बीउ रहेको बताउनुभयो । बाँकेमा सबैभन्दा राम्रो उत्पादन राधा ४, राम र हर्दिनाथ ६ जस्ता जातका धानको बीउ हुने गरेको बताइएको छ । 

कृषि विकास शाखा प्रमुख बुढाले थप्नुभयो, ‘म शाखा प्रमुख भएर आएको ६ वर्ष भयो, तर अहिलेसम्म समयमै धानको बीउ वितरण गर्न सकेका थिएनौँ, यो वर्ष पहिलो पटक समयमै बीउ वितरण गर्न सफल भएका छौँ ।’

विगतका वर्षाझैँ समयमा धानको बीउ नपाउँदा बजारबाट महँगोमा किन्नुपर्ने बाध्यता यस वर्ष हटेको कोहलपुरका किसानले जनाएका छन् । समयमै धानको बीउ पाएपछि स्थानीय किसान दुर्गाबहादुर बस्नेतले धेरै वर्षपछि धानको उन्नत जातको बीउ समयमै पाउँदा खुसी लागेको बताउनुभयो । 

अर्का किसान लीलाराम भट्टराईले कृषि शाखाले प्रदान गर्ने बीउहरूले धानको उत्पादन वृद्धि भएको जनाउँदै बीउजस्तै मल पनि समयमै पाउने हो भने उत्पादन झन् वृद्धि हुने बताउनुभयो । ५० प्रतिशत अनुदानमा बीउ पाउँदा आर्थिक रूपमा पनि राहत भएको उहाँको भनाइ छ ।

कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले कृषि विकास शाखाले किसानलाई कोहलपुरको माटो सुहाउँदो विभिन्न उन्नत जातको बीउ वितरण गरेकाले उत्पादन बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

गुणस्तर र माटो सुहाउँदो उन्नत जातको धानको बीउले थोरै लगानीमा धेरै धान फलाउन सकिने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । नगरपालिकाभित्र रहेका १५ वटै वडाका किसानको मागका आधारमा उन्नत जातको धानको बीउ वितरण गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ ।