• ८ पुस २०८१, सोमबार

विश्वासको मत लिने कार्यक्रमलाई प्रभावित नगर्न सभामुखको आग्रह

blog

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सम्बोधन गर्नुहुँदै सभामुख देवराज घिमिरे ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ ७ गते । सभामुख देवराज घिमिरेले मुलुकको कार्यकारी प्रमुखले संसद् बैठकमा आफ्नो बहुमत परीक्षण गर्छु भन्दा त्यसलाई प्रभावित गर्न नहुने बताउनुभएको छ । आज नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।

“संसदीय अभ्यासमा यस्ता बिजनेस हुन्छन्, जहाँ सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा आउनुपर्ने हुन्छ । केही दिनअघि मात्र हामीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सौहार्दता प्रस्तुत गरेका छौं” सभामुख घिमिरेले थप्नुभयो, “प्रधानमन्त्रीको विश्वासको मतको विषय पनि यस्तै हो । एक सातापछि नै बजेट ल्याउँदैछौं । मुलुकको कार्यकारी प्रमुखले आफ्नो बहुमत परीक्षण गर्छु भनेर सम्मानित संसदमा प्रस्ताव गरेको अवस्थामा यसलाई प्रभावित बनाउनु हुँदैन ।” 

संसद् नेतृत्वको हिसाबले आफूले त्यसको व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । सो विषयलाई गम्भीरतापूर्वक लिन उहाँले प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलको ध्यानाकर्षण गराउनुभयो । 

आजको सत्तापक्ष भोलि प्रतिपक्ष र आजको प्रतिपक्ष भोलि सत्तापक्ष हुने उहाँको भनाइ छ । त्यसैले प्रमुख प्रतिपक्षी दललाई वेटिङ इन गभर्मेन्ट भन्ने गरिएको उहाँले प्रष्ट पार्नुभयो । “आज कस्तो अभ्यास बसाउने, कस्तो परम्परा बसाउने भन्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ” उहाँले थप्नुभयो, “आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा नै अवरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउन सक्छ ।”  


संसदीय छानबिन समिति गठनका लागि आवश्यक गृहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो । “अब ध्रुवीकरण होइन, सहकार्य गर्नुपर्छ” उहाँले भन्नुभयो, “संसदमा मतभेद हुन्छन्, विषयमा बहसहरू हुन्छन् । तर, सँगसँगै सहमति गरेर अगाडि बढ्ने हाम्रो अभ्यास पनि छ ।”