• १३ साउन २०८१, आइतबार

कालीमाटीमा ठाउँ नपाएको किसानको गुनासो

blog

काठमाडौँ, जेठ ६ गते । नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको गुनासो तरकारी उत्पादक किसान सङ्घ नेपालले गरेको छ । किसानले दुःख कष्ट गरेर तरकारी उत्पादन गरेका हुन्छन् तर आफ्नै बजारमा ठाउँ नपाएको सङ्घले पत्रकार सम्मेलन गरेर नै जानकारी गराएको छ । 

सङ्घका अध्यक्ष माया केसीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको गुनासो गर्दै नेपाली किसानले उत्पादन गरेको तरकारी कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रवेश नपाएको दाबी गर्नुभयो । भारतको तरकारीले बजार ओगटेको छ भने नेपाली किसानको तरकारी सडकमा फ्यालिएको उहाँले बताउनुभयो । 

नेपालको तरकारी बजारमा किसानले उत्पादन गरेको तरकारी निर्बाध रूपमा प्रवेश पाउनुपर्ने र त्यसको व्यवस्था कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गर्नुपर्ने बताउँदै अध्यक्ष केसीले कालीमाटी फलफूल तथा तरकारी विकास समितिलाई ज्ञापनपत्र पनि बुझाउनुभएको छ । 

उहाँले कालीमाटी बजारमा ५१ प्रतिशत किसानले प्रत्यक्ष सहभागी हुन पाउनु पर्छ भने ५० प्रतिशत स्टल किसानले पाउनुपर्ने माग गर्नुभयो । अरू बिचौलिया तथा व्यापारी स्टल ओगटेका छन् जो बाहिरबाट आएका तरकारी मात्र बेच्छन् जसले नेपाली किसान अप्ठ्यारोमा परेको उहाँले बताउनुभयो ।

सङ्घका सचिवालय सदस्य ज्ञानभक्त पौडेलले आफू चार सयभन्दा बढी किसानको खेतमा गएर अध्ययन गरेको बताउँदै उनीहरूले निकै दुःख कष्ट गरेर तरकारी उत्पादन गरे पनि बजार नपाएको गुनासो गर्नुभयो । किसानबाट तरकारी खरिद गर्दा पारदर्शिता नअपनाएको उहाँको गुनासो थियो । किसानले उत्पादन लागत मूल्य पाउन नसकेकाले गोलभेँडाको न्यूनतम मूल्य तोक्नुपर्ने, अन्य तरकारीको मूल्य निर्धारण गर्दा पारदर्शी हुनुपर्ने उहाँले बताउनुभयो । 

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक डा. महादेवप्रसाद पौडेलले तरकारी बजारमा किसानलाई पनि कुनै रोकटोक नरहेको बताउनुभयो । किसान बजारमा आएर तरकारी बिक्री गरिरहेको बताउँदै उहाँले स्टल सीमित छ, किसानले पनि स्टल पाएका छन् खाली भयो भने अझै पाउन सक्छन् तर थप स्टलका लागि नीति नै परिवर्तन गर्नुपर्ने बताउनुभयो । 

“किसानले तरकारी उत्पादन गर्ने हो, उसले व्यापार गर्ने होइन,” उहाँले भन्नुभयो, “मलाई लाग्दैन जो किसान तरकारी उत्पादन गर्छन् त्यो बजारमा आएर आफैँ स्टलमा बसी तरकारी बेच्छन् यदि बेच्न चाहन्छन् भने हामीले ठाउँ उपलब्ध गराइरहेका छौँ, आवश्यक प¥यो भने थप उपलब्ध गराउँछौँ ।”