• १३ साउन २०८१, आइतबार

टीकापुर नगरपालिकाको विद्युत लाइन काटियो

blog

एकिन्द्र तिमिल्सेना
टीकापुर, जेठ ३ गते ।
नेपाल  विद्युत प्राधिकरणले टीकापुर नगरपालिका केन्द्रको विद्युत् लाइन काटिदिएको छ ।  नगरपालिका क्षेत्रमा रहेका सडक बत्तीको महसुल नबुझाएको भन्दै प्राधिकरणले बिहीबार नगरपालिकाको मुख्य कार्यालयको लाइन काटिदिएको हो । प्राधिकरणले नगरपालिकाले पाँच करोड नौ लाख ९३ हजार महसुल तिर्नुपर्ने दाबी गरेको छ । कार्यालयको लाइन काटिएपछि सेवाप्रवाहमा समस्या भएको छ ।

नेपाल विद्युत प्राधिकरण टीकापुर शाखाका प्रमुख इन्जिनियर कपिल जोशीे आ.व.२०७१/७२ सालदेखिको सडक बत्तीको महसुल नबुझाएको र बारम्बार ताकेता गर्दा पनि तिर्ने सुरसार नभएकाले लाइन काटिएको बताउनुहुन्छ । लाइन काटिएपछि ब्याट्री ब्याकअपबाट मात्रै कार्यालय चलेको छ ।

‘‘पाँच करोड रुपियाँ तिर्नुपर्ने पत्र आएपछि के गर्ने भनेर कार्यपालिकामा छलफल हुँदैछ । तर उहाँहरुले बिहानै लाइट काटिदिनुभयो ।,’’ टीकापुर नगरपालिकका प्रमुख रामलाल डगौरा थारुले भन्नुभयो, ‘‘यो पुरानै समस्या हो हामीले पनि नगरपालिकामा गाडेका विद्युत पोलको भाडा लिएर मिलाउने हो, लाइन जोडिदिनुस् छलफल गरौंला भनेको छु ।’’

टीकापुर नगरपालिकाका लेखापाल देवीकृष्ण जैसीले नगरपालिकाले प्रयोग गरेको विद्युतको महसुल यस वर्ष २३ लाख २८ हजार अग्रिम तिरेको तर पुरानै सडक बत्तीको बिलले समस्या भएको बताउनुभयो । सेवाग्राही मनीषा ढुङ्गाना भन्नुहुन्छ, ‘‘सडक बत्तीको महसुल नतिरेको भनेर बत्ती काटेर विद्युतले नगरपालिकाका सेवाग्राहीलाई दुःख दिएको छ । यो समस्या कार्यालयले मिलाउनुपर्छ जनतालाई दुःख दिनुहुँदैन ।’’

विद्युत प्राधिकरणले नगरपालिका क्षेत्रभित्र मिटर नजोडिएका सडक बत्ती र चुहावटको रकम नगरपालिकाका नाममा हाल्दै आएको छ । नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका श्वर जोशीले महसुल बक्यौता बुझाउन बाँकी रहेका सबै ग्राहकको लाइन काटन आदेश आएको र मतलव नगर्ने ग्राहकको लाइन काटिएको बताउनुभयो । उहाँका अनुसार समय मागेका ग्राहकको भने प्रतीक्षा गरिएको छ ।