• १३ साउन २०८१, आइतबार

प्रतिनिधिसभा बैठक ४ बजेलाई सर्‍यो

blog

काठमाडौँ, जेठ ३ गते । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेलाई सारिएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि सारिएको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

यसअघि सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच टेलिफोनवार्ता भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक निर्धारित समयभन्दा पछि सार्न आग्रह गर्नुभएको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयो ।

कांग्रेसले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्ने वातावरण निर्माण गरिरहेको जानकारी दिनुभएको छ ।

बैठकको गतिरोध अन्त्य गर्न सभामुख घिमिरेले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कानुन, न्याया तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्नुभएको छ ।