• १३ साउन २०८१, आइतबार

उर्वराशक्ति बढाउन प्राकृतिक खेती अभियान सुरु

blog

फाइल तस्बिर

पर्वत, वैशाख २९ गते । रासायनिक मल र बढ्दो विषादीको प्रयोगले खेतबारीको उत्पादन शक्ति ह्रास हुँदै गएको छ । त्यसले गर्दा खेतबारीमा अन्नपात उत्पादनको दर घट्दै जान थालेको छ । यस्तो अवस्थामा पर्वतका केही ग्रामीण बस्तीमा प्राकृतिक खेती अभियान थालिएको छ ।

वातावरणलाई कम क्षति हुने र प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गर्ने गरी प्राकृतिक खेती अभियान थालिएको हो । कृषकलाई जैविक पद्धतिबाटै कृषि बाली लगाउनेतर्फ आकर्षित गर्ने उद्देश्यले पहिलो पटक प्राकृतिक खेती अभियान थालिएको हो । प्राकृतिक खेतीका लागि पहिलो चरणमा जिल्लाका विभिन्न पालिकाका किसानलाई तालिम प्रदान गरेर खेती गर्न लगाएको छ । जिल्लामा सञ्चालित समाज कल्याण स्रोत विकास केन्द्रले गुड नेवर्स इनटरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरेको एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत प्राकृतिक खेती अभियान थालिएको परियोजना अधिकृत रमेश रिजालले बताउनुभयो । 

परियोजनाले जिल्लाका मोदी गाउँपालिका-४ क्याङ्ग, फलेवास नगरपालिका-७ लिमिठाना र वडा नम्बर ९ भङ्गराका गरी कूल दुई सय किसानलाई आवश्यक ज्ञान, सीप, औजार र बीउ प्रदान गरी प्राकृतिक खेती कार्यक्रम सञ्चालन गरिरहेको छ । पहिलो चरणमा तीन वडाबाट सुरुआत गरिएको प्राकृतिक खेतीलाई जिल्लाभर विस्तार गरिने संस्थाले जनाएको छ । प्राकृतिक खेतीलाई कृषि विज्ञानमा आधारित खेती प्रणालीका रूपमा विकास गरिने छ । बाली, रुख र पशु धनलाई काव्यात्मक जैविक विविधतासँग एकीकृत गरी खेतीबाली लगाउनेतर्फ किसानलाई आकर्षित गरिने रिजालले बताउनुभयो । 

प्राकृतिक खेती पद्धतिमा रसायनको प्रयोग नगरी प्राकृतिक सामग्रीको प्रयोग गरिने भएकाले माटोमा कुनै असर नगर्ने विज्ञहरूको सुझाव छ । सामग्री स्थानीय स्तरमा पाइने तथा आवश्यक सेवा बजारबाट खरिद नगरी किसान आफैँले उत्पादन गर्ने हुँदा उत्पादन लागत घट्ने भएको छ । यस किसिमको खेती गर्नाले वातावरण मैत्री, उच्च प्रतिफल, कम लागत, उच्च गुणस्तर, अनुकूलन योग्य र किसान मैत्री रहने परियोजना अधिकृत रिजालले बताउनुभयो । यो प्रविधिले खेती गर्दा स्वास्थ्यलाई फाइदा हुनाका साथै जमिनको उर्वराशक्ति बढ्दै जाने भएकाले किसान प्राकृतिक खेती प्रणालीमा उत्प्रेरित बन्दै गएको मोदी वडा नम्बर ४ क्याङका किसान नरसिङ पुनले बताउनुभयो । 

यो प्रविधिबाट खेती गर्दा माटोको उर्वराशक्ति बढ्ने र यसमा फलाएको खाद्यान्न बाली तथा तरकारी मानव स्वास्थ्यका लागि प्रभावकारी हुने भएकाले किसानको आकर्षण बढेको उहाँको भनाइ छ । रासायनिक मल र विभिन्न विषादीले माटोमा अम्लीयपना बढ्दै गएका बेला जैविक पद्धतिबाट खेती गर्दा सुरुआतमा कम उत्पादन हुने भएपनि कालान्तरमा फाइदा पुग्ने कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बताउनुभयो । जैविक पद्धतिबाट गरिएको उत्पादनले जमिन र मानिसको स्वास्थ्य दुवैलाई फाइदा पुग्ने उहाँको भनाइ छ । रासस