आफूसँग भएको ज्ञान र खुसी अरूलाई बाँड्न सक्ने, सकारात्मक कर्ममा उत्प्रेरित गर्ने, सही कुरामा प्रशंसा गर्न सक्ने, आवश्यक पर्दा सहयोगको भावना अघि बढाउने व्यक्तिले नै आफूले चाहेको जीवन बाँच्न सक्दछ । द्वेष र ईर्ष्याले भरिएको व्यक्तिले आफ्नो जीवनको महत्वसमेत बुझ्न सकेको हुँदैन ।
जीवनको विकास भनेकै गतिशीलता र समयानुकूल परिवर्तनको महसुस हुनु हो । सबै मानिसलाई लाग्छ, जीवनमा जे मिल्नुपर्ने थियो त्यो अरूको जस्तै मलाई पनि मिल्नुपर्ने थियो । असन्तोष र दुःखका कारण नै यही हो । किनकि जीवन कुनै विषयको परीक्षा होइन र सबैलाई प्रश्न एउटै आउँदैन । जीवनले प्रत्येक व्यक्तिलाई अलग अलग प्रश्नपत्र दिएको हुन्छ । हरेक व्यक्तिको जन्म, पारिवारिक संस्कार, पालनपोषण, शिक्षादीक्षा, स्रोतसाधन, विचारको शक्ति र सङ्घर्षको आयाम अलग अलग तरिकाले भएको हुन्छ । मानिस नक्कल गर्न चाहन्छ र अरू जस्तै बन्ने होडबाजीमा आनो गुणवत्ता, क्षमता र संस्कार भुल्दै गएको हुन्छ । प्रकृतिमा पनि कुनै एक प्रजातिका बोटबिरुवाको अर्को प्रजातिका बोटबिरुवा जस्तो बन्ने प्रतिस्पर्धा भएको हुँदैन । जनावर, चराचुरुङ्गी सबै आफ्नै अस्तित्वमा खुसी छन् । मानिस मात्र आफ्नो अस्तित्व चिन्न नसकेर अरू जस्तै बन्ने नक्कल गरेको हुन्छ, त्यो नै उसको असन्तोषको कारण हो । धेरैलाई जीवनभर यसको ज्ञान हुँदैन तर जीवनको उत्तरार्धमा पश्चात्ताप हुने गरेको अध्ययन अनुसन्धानले पनि बताएको छ । भौतिक सम्पदाको सन्तुलन मात्रले जीवनमा सन्तोष र खुसी मिल्दैन, यो त सबैले अनुभव गरेकै पक्ष हो । त्यसैले समग्रतामा सन्तुलनको जीवन बाँच्न जान्ने व्यक्ति नै आफ्नो क्षमताप्रति गर्व गरेर बाँच्न सक्छ । त्यसका लागि केही व्यावहारिक आयामलाई आत्मसात् गर्नुपर्ने हुन्छ ।
भावनात्मक सन्तुलन
कहिले खुसी हुनु, कहिले दुःखी हुनु, कहिले रमाइलो मान्नु, कहिले दिक्क लाग्नु यी सामान्य स्वभावगत अवस्था हुन् मानिसका । किनकि मानिसलाई लाग्छ, हरेक परिस्थितिका कारण छन् त्यसैले सुख, दुःख, हाँसो, रोदन, सफलता, असफलताका कारण खोजिरहन्छ । संसारका यी कुरा जीवनभर यस्तै अङ्कगणितमा चलिरहन्छन् तर जहाँ अकारण, बिनाअपेक्षा जे चिज मिलिरहेको छ, त्यसको हेक्का हुँदैन किनकि संसारले मानिसलाई प्रतिस्पर्धामा बाँच्न सिकाएको छ । बिनाकारण, बिनामेहनत, बिनाप्रतिस्पर्धा अस्तित्वले आफ्नो जीवनमा के के चिज दिएको छ, त्यो थाहा हुन सकेको दिन प्रत्येक व्यक्ति स्वयम्लाई यो संसारको सबैभन्दा खुसी र भाग्यशाली व्यक्ति मान्ने छ । भावनात्मक रूपमा हरेक परिस्थितिलाई साक्षी भएर हेर्न जान्ने र हरेक परिस्थितिलाई स्विकार्ने व्यक्तिलाई कसैले दुःखी या सुखी बनाउन सक्दैन । ऊ आफ्नै मस्तीमा, आफ्नै गुणवत्तामा, आफ्नै स्वतन्त्रतामा मस्त र भावनात्मक रूपमा स्वस्थ भएर जिउन सक्छ ।
जीवनसँग खुसी
महान् दार्शनिक अरस्तुले भनेका छन्, “खुसी मानिसको इच्छा हो । सबै इच्छाको अन्तिम उद्देश्य खुसी नै प्राप्त गर्नु हो ।” त्यसो हो भने मानिसले जीवनमा प्राप्त गर्ने खुसीका आयामलाई चार भागमा बाँडेर हेर्न सकिन्छ । तत्काल जे चिज आवश्यक थियो, त्यो मिल्यो एकछिनलाई खुसी मिल्यो । अरूको जीवनसँग तुलना गर्दा अरूको भन्दा आफ्नो धेरै चिज र धेरै सफलता छन् त्यो तुलनात्मक खुसी भयो । अर्को छ, जीवनमा आफूले गरेका सकारात्मक कर्म र समाजमा आफ्नो तर्फबाट भएका सकारात्मक योगदानबाट मिल्ने खुसी अनि चौथो छ– आत्मबोधसहितको कर्म र त्यसबाट मिलेको खुसी । यो खुसी मात्र नभएर आनन्दको अवस्था पनि हो । बाँकी सबै कर्म र व्यवहारमा आत्मविस्मरण पनि हुन सक्छ किनकि क्षणिक सुख र प्रतिस्पर्धात्मक सुखमा केवल एकअर्काको जीवनसँग तुलना हुन्छ । आत्मबोधसहितको कर्म यसको कुनै कारण छैन र परिणाम भनेको परम आनन्द र आहा जीवनको अनुभूति नै हो । त्यसैले जीवनलाई धन्यवाद दिने या जीवनलाई सङ्घर्षको संज्ञा दिने त्यो बुद्धिको तलको अभ्यास हो । मानिसलाई अस्तित्वले बुद्धिभन्दा माथि विवेक र त्योभन्दा माथि आत्मबोधको गुणवत्ता पनि दिएको छ ।
आफूले चाहेको जीवन
प्रत्येक व्यक्ति चाहन्छ, मेरो आफ्नो जीवनको लय आफूले चाहे जस्तो होस् । मैले चाहे जस्तो स्थिति, परिस्थिति, सम्बन्ध, प्रेम र समृद्धि होस् । हुनुपर्ने यस्तै न हो तर किन हुँदैन ? किनकि मानिस आफ्नो बिचमा कसैको जीवन ल्याउँछ र उसैसँग तुलना गर्न थाल्छ । त्यसको परिणाम आफू पनि खुसी हुँदैन र अरूलाई पनि खुसी हुन दिँदैन । दया, करुणा, स्नेह, प्रेम, सन्तुष्टि सकारात्मक गुण हुन् । आफूमा कमजोरी देख्नु, अभाव देख्नु, अरूसँग तुलना गरेर आफैँलाई पिछडिएको महसुस गर्नु यी सबै नकारात्मक स्वभाव हुन् । बाहिरी सम्पदा एकअर्कामा कम बढी होलान् तर आन्तरिक सम्पदा अस्तित्वले सबैलाई समान दिएको छ । आफ्नो सम्पदाको पहिचान गर्न नसक्नु नै आफूले चाहे जस्तो जीवन बाँच्न नसक्नु हो । आफूसँग भएको ज्ञान र खुसी अरूलाई बाँड्न सक्ने, सकारात्मक कर्ममा उत्प्रेरित गर्ने, सही कुरामा प्रशंसा गर्न सक्ने, आवश्यक पर्दा सहयोगको भावना अघि बढाउने व्यक्तिले नै आफूले चाहेको जीवन बाँच्न सक्दछ । द्वेष र ईर्ष्याले भरिएको व्यक्तिले आफ्नो जीवनको महत्वसमेत बुझ्न सकेको हुँदैन ।
अहोभावको जीवन
अभाव महसुस नहुनु नै अहोभावको अवस्था हो । अभावमा हुने व्यक्तिले जीवनमा अरूलाई र अस्तित्वप्रति अहोभाव व्यक्त गर्नै सक्दैन । उसको जीवन नकारात्मकताले भरिएको हुन्छ र सधैँ, सबैप्रति गुनासो भावले भरिएको हुन्छ । हरेक कर्ममा कर्म गर्नुको आनन्द लिनु, आत्मसम्मानमा रहनु, बहुजन हिताय, बहुजन सुखायको कर्ममा मन लगाउनु, कल्याणकारिता, परोपकार र आत्मबोधका साथ जिउने व्यक्तिमा नै अहोभावको कला हुन्छ । उसले हरक्षण, हर कोहीप्रति अहोभाव व्यक्त गर्दै, यो सृष्टिप्रति धनी हुँदै, यो जीवनलाई धन्यवाद दिँदै अहोभावको जीवनशैली बाँचेको हुन्छ । यो ब्रह्माण्डप्रति आभारी हुनु, आफ्नो आँखाले देख्ने वरपरका सबै चिज र प्रकृतिप्रति धन्यवाद भावले भरिनु, आफ्नो जीवनमा दृश्य अदृश्य ऊर्जा शक्तिले दिइरहेको सहयोगप्रति कृतज्ञता प्रकट हुनु अहोभावका गुण हुन् । अहोभाव स्रोतबाट झर्ने झरना हो; जो कहिल्यै सुक्दैन र जीवनमा अमृत वर्षा गराइरहेको हुन्छ । जीवनमा अभाव महसुस हुन दिँदैन ।
सम्पदाको उपयोग र उपभोग
आश्चर्य लाग्छ, व्यक्ति जीवनभर दौडन्छ, भागदौडले उसको जीवनको रफ्तार कता चलिरहेकोसम्म थाहा पाउँदैन । त्यसको उद्देश्य हो– धेरैभन्दा धेरै आर्जन गरौँ र सञ्चय गरेर राखौँ किनकि त्यो भविष्यमा काम आउँछ । आफ्नो जीवनको भागदौडले आफ्नै वर्तमान भविष्य बनिसकेको हुन्छ तर उसले त्यो आर्जनको भोग गर्न पाएको हुँदैन । अझ उसको सञ्चय त सन्तान दरसन्तानलाई समेत सञ्चित गर्नु छ । सधैँ अपुग र अभाव महसुस गर्दै सञ्चित गर्नमै लागिपरेको हुन्छ अनि आफ्नो खुसी, आफ्नो इच्छा, आफ्नो स्वतन्त्रता र आफ्नो मर्यादासमेत भुलिसकेको हुन्छ । आफ्ना भौतिक सम्पदाको उपयोग र उपभोग त परै जाओस्, प्रकृतिले बिनामूल्य उपलब्ध गराएका प्राकृतिक स्रोतसाधन र प्रकृतिको
आनन्द लिने कलासमेत थाहा हुँदैन कस्तो विडम्बना ! प्रकृति रमण, प्राकृतिक सम्पदाप्रति अहोभाव, प्राकृतिक सम्पदाको संरक्षण गर्न जान्ने व्यक्तिले मात्रै प्रकृतिको महत्त्व बुझेको हुन्छ ।
मानसिक खुसी
सकारात्मक सोच र भावनात्मक प्रेमले भरिएको व्यक्ति नै मानसिक खुसीको हकदार हुन्छ । भौतिक आर्जनले भौतिक खुसी प्रदर्शन गर्नमा सक्षम हुने व्यक्ति आन्तरिक रूपमै खुसी हुन्छन्, त्यो जरुरी छैन । सकारात्मक जीवन कौशल, रचनात्मकता, उमङ्ग, प्रफुल्लता र आत्मज्ञानलाई जीवनशैली बनाउनेहरू नै शारीरिक रूपमा प्रफुल्ल, भावनात्मक रूपमा प्रेमल र मानसिक शान्ति र खुसीका साथ जीवन बाँचेका हुन्छन् । अपेक्षारहित भएर आफ्नो कर्म कौशल र सृजनात्मकतामा जिउन सक्नु सबैभन्दा ठुलो आर्जन हो । जीवनमा के कस्ता कमजोरी भए, त्यो स्वाभाविक पक्ष हो तर जीवनमा कमजोर नहुनु आत्मशक्तिको परिचय हो । परिस्थिति उथलपुथल हुँदा पनि आफू शान्त रहेर परिस्थितिलाई आत्म अवलोकन गर्न सक्नेले नै मानसिक खुसी प्राप्त गर्छ । प्रतिकूलतालाई पनि आत्मसात् गर्दै स्वस्थ र प्रफुल्लित रूपमा कर्म गर्ने कला नै मानसिक खुसी प्राप्त गर्ने कला हो । किनकि बाहिरी परिस्थितिका कारण आफ्नो आन्तरिक सम्पदामा प्रभाव पार्न दिनु हुँदैन ।